गोविन्द ढकाल, सीईओ गरिमा विकास बैंक तथा अध्यक्ष विकास बैंकर्स एसोसिएसन


ADVERTISEMENT


गरिमा विकास बैँकको पछिल्लो प्रगतिबारे बताइदिनुहोस् न ?


ADVERTISEMENT

# # #


हामीले ९१ वटा शाखाबाट झण्डै ४ चार लाख ग्राहकहरुलाई सेवा दिइरहेका छौँ । प्रत्येक प्रदेशमा हाम्रो बैँकिङ्ग सेवा पुगेको छ । निकट भविष्यमै हामीले अरु ११ वटा शाखा कार्यालयहरु खोल्ने तयारीमा छौँ । त्यसपछि हाम्रो १०२ वटा कार्यालयहरु पुग्छन् । यसका साथै बैँकमा पछिल्लो समय देखिएका समस्याहरुलाई ध्यानमा राख्दै ‘आइटी’ मा लगानी गर्दैछौँ ।

जहाँबाट समस्या देखिए, त्यसलाई नियन्त्रण गर्न आइटीकै प्रयोग गर्नुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढेको अवस्था छ । यस्तै व्यवसाय विस्तारमा पनि हामी लागेकै छौँ ।

सामाजिक उत्तरदायित्वको क्षेत्रमा गरिमाले के गरिरहेको छ ?

हामीले विशेष गरी स्वास्थ्य, शिक्षा र समाजलाई लामो समयसम्म प्रतिफल दिने क्षेत्रमा ध्यान दिएका छौँ । यस्तै ब्लड बैँकका लागि आवश्यक पर्ने उपकरणहरु, पुस्तकालयहरुमा सहयोग बढाएका छौँ । आज गरेको भोलि नाश भएर कहाँ गयो भन्ने अवस्था भन्दा पनि आफुभन्दा पछाडिको समूहले प्रयोग गर्न पाउन् भन्ने कुरामा ध्यान दिएका छौँ । निश्चित बजेटभित्र रहेर आवश्यकता अनुसार सहयोग गरिरहेका छौँ ।

विकास बैँकप्रति जनताको आकर्षण कत्तिको बढिरहेको छ ?

हाम्रो देशको सबैभन्दा बढी संख्या भनेको मध्यम वर्गको हो । कुल ग्राहस्थ उत्पादनमा पनि मध्यम वर्गको भूमिका, योगदान सबैभन्दा बढी छ । हाम्रा ग्राहक पनि उच्च वर्गभन्दा पनि मध्यम र निम्न वर्गका बढी छन् । त्यसकारण विकास बैँकको लक्ष्य भनेको मध्यम र निम्नवर्गप्रति हो ।

भोलिका दिनमा बैँकको बजार विस्तार गर्नका लागि विकास बैँकको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ भन्ने लाग्छ । जसरी हामीले मध्यम र निम्न वर्गलाई समेटेका छौँ, त्यो सजिलै वाणिज्य बैँकमा छिर्न गाह्रो छ । भोलिका दिनमा राज्यको एक व्यक्ति एक खाता अभियानलाई लागू गर्ने पनि विकास बैँकले नै हो ।

विकास बैँकले एक हजारदेखि एक अर्बसम्मको कर्जा उपलब्ध गराउँछ । सानो कर्जामा लागत बढी हुन्छ भनेर कमर्सियल बैँकहरुले प्राय दिँदैनन् । ग्रामिण क्षेत्रको जग्गा, खेत राखेर पनि हामीले कर्जा उपलब्ध गराएको अवस्था छ । यसले गर्दा विकास बैँकको भूमिका महत्वपूर्ण छ र भविष्य पनि अझ राम्रो छ भन्ने मलाई लाग्छ ।

अहिले सामाजिक सुरक्षाका कुराहरु पनि उठिरहेका छन् । यो बारेमा यहाँको धारणा के छ ?

सामाजिक सुरक्षा योजना सरकारले ल्याएको हो । सरकारले ल्याएका योजनाविरुद्ध जानु हुँदैन । तर, त्यती हुँदाहुँदै पनि विकास बैँक एशोसिएसन, बैँकर एशोसिएसन र वित्त विकास कम्पनीको रजिस्ट्रेसनले संयुक्त रुपमा एउटा पत्र पठाएका छौँ ।
सामाजिक सुरक्षा कोषमा जान सक्ने अवस्था छैन । यो हाम्रो भन्दा पनि कर्मचारीहरुको आवाज हो ।

कानुनमा सामाजिक सुरक्षा कोषको बिषयलाई स्वेच्छिक भनिएको छ । तर सरकारले जबरजस्ती लाद्न खोजेर संविधान बिपरित जान खोजिरहेको छ ।

जतिपनि कर्मचारीले अहिले नागरिक लगानी कोष, सञ्चयकोषबाट जुन किसिमका सेवा सुविधाहरु प्राप्त गरिरहेका छन्, त्यसको ५० प्रतिशत पनि नहुने अवस्था देखिएको छ । हामीले खाइपाई आइरहेको सुविधा कटौति गरेर कसरी जाने भन्ने खालको विचार कर्मचारीहरुबाट आएको छ ।

यही कुरा हामीले तत्कालीन श्रममन्त्री गोकर्ण विष्टलाई राखेपछि उहाँ पनि सकारात्मक हुनुभएको थियो । उहाँले केही मौखिक आश्वासन पनि दिनुभएको थियो । तर, उहाँ आफै मन्त्रीबाट जानुभयो । नयाँ मन्त्री आउनुभएको छ । उहाँलाई हामीले यो विषयमा कुराकानी गर्न पाएको अवस्था छैन । कुरा के हो भने बैँकमा मान्छे १८ वर्षमा प्रवेश गर्छ । २० वर्ष काम गर्छ, ३८ वर्षमा ‘रिटायर्ड’ हुन्छ । तर, त्यहाँ ६० वर्ष नपुगेसम्म पेन्सन नपाउने कुरा उल्लेख छ । अब २२ वर्षसम्म आफ्नो पैसा नपाएपछि कसरी जीवन चलाउने ? समस्या नै यही हो ।

अर्को कुरा सामाजिक सुरक्षा नीतिमा आएका कुराहरु यति विभेदपूर्ण छन् कि लगभग सरकारी कर्मचारीसंग तुलना गर्दा ५० प्रतिशत फरक छ । जसले जहाँ योगदान गरेको भएपनि राज्यले सबै नागरिकलाई समान किसिमले हेर्नुपर्छ भन्ने हो । एउटै नीति बनिसकेपछि प्राप्त गर्ने लाभ त बराबर हुनुपर्यो नि ? करको कुरा पनि छ । शतप्रतिशत रकम जम्मा गर्दा ५१ प्रतिशत राज्यले लिने र ४९ प्रतिशत मात्रै पाउने भन्ने कुरा छ ।  यो कत्तिको न्यायोचित हो ? त्यसकारण यो विभेद हुनुहुन्न ।

तपाईं विकास बैँकर्स एशोसिएसनको अध्यक्ष हुनुहुन्छ । एशोसिएसनको भनाई पनि यही हो ?

विकास बैँक त सामाजिक सुरक्षा कोषमा एउटा पनि दर्ता भएको अवस्था छैन ।

विकास बैँकमात्रै होइन, क, ख ग  र घ श्रेणीका जति पनि बैंकहरु छन्, सबैको भनाई यही नै हो । संयुक्त रुपमा हस्ताक्षर गरेर पनि हामीले अनुरोध गरेका छौँ । कतिपय कर्मचारीले त अहिलेको अवस्था लागू भयो भने राजीनामा दिएर जानेसम्मका कुरा गरेका छन् । त्यसकारण त्रुटी सच्याइनुपर्छ र विभेद हटाइनुपर्छ भन्ने हाम्रो कुरा हो ।

अन्त्यमा सम्पूर्ण ग्राहकहरुका लागि के भन्नुहुन्छ ?

गरिमा विकास बैँक मात्रै  नभएर अन्य सबै विकास बैँकका ग्राहकलाई के भन्न चाहन्छु भने, तपाईंहरुले विकास बैँकबाट जुन किसिमका सेवा सुविधाहरु लिनुभएको छ त्यसमा हामी अझै सुधार गर्ने अभियानमा छौँ । विकास बैंकप्रति ग्राहकहरुले देखाएको मायाप्रति म धन्यवाद दिन चाहन्छु ।