बैतडी – मौसममा बद्ली भएसँगै बैतडीका लेकाली क्षेत्रमा हिमपात शुरु भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । मङ्सिर अन्तिम साता यो वर्ष पहिलोपटक हिमपात भएको थियो ।


ADVERTISEMENT


गएरातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताए। हिमपातका कारण दैनिक जनजीवन प्रभावित भएको छ । हिमपातले बाहिर निस्कन मुस्कील भएको सुर्नया–८ का वीरबहादुर बोहराले बताए । चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समस्या भएको स्थानीयले बताएका छन् ।


ADVERTISEMENT

# # #


वर्षासँगै हिमपात भएपछि किसान भने खुशी भएका छन् । सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका हुन् । हिमपातले विभिन्न रोगकीरा नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए ।

लेकाली भेगका ठाँउमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

यसैबीच हिजोरातिदेखि बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रको लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।