– डा. लोचन कार्की, नेपाल चिकित्सक संघ अध्यक्ष पदका उमेदवार (लोकतान्त्रिक तथा पेशागत समूह) 


ADVERTISEMENT


निर्वाचनको माहोल कस्तो बन्दैछ ?


ADVERTISEMENT

# # #


यो पुसको जाडोमा निर्वाचनको माहोलले बडा तताएको छ । मेचीदेखि महाकालीसम्मका सबै डाक्टर मतदाता भएकाले देश दौडाहामा लागिरहेका छौँ ।

नेतृत्वका लागि उम्मेदवारी दिनुभएको छ । तपाईंका एजेण्डा के के छन् ?

सबैभन्दा पहिलो त म महासचिव भएकाबेलाका कतिपय काम अधुरा छन् । तिनलाई सम्पन्न गर्नुपर्ने छ । जस्तो चिकित्सकको सुरक्षा गर्दै र कार्यक्षेत्रमा तोडफोड हुने कुराविरुद्ध कडा कानुन आउनुपर्छ भनेर हामीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ परिमार्जन गर्ने भनेका छौँ । डाक्टर र उनीहरुको कार्यकक्षमा हातपात, तोडफोड गर्नेलाई कस्टडीमा राख्नुपर्छ भन्ने हो । जस्तो प्रहरीलाई बर्दी लगाएको बेला हातपात गर्‍यो भने त्यसलाई ठूलो अपराधको रुपमा लिइन्छ । यस्तै न्यायाधीशलाइ हातपात वा गालीगलौज गर्‍यो भने मानहानीको मुद्दा लाग्छ । त्यसैगरी,

स्वास्थ्य संस्थामा सेतो कोट लगाएर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई हातपात गरेमा त्यस्तै खालको कडा कानुन आउनुपर्छ भनेर हामीले आन्दोलन गरेका थियौँ । त्यो ऐन अहिले स्वास्थ्यमन्त्रालयबाट कानुनमन्त्रालय हुँदै मन्त्रीपरिषद्मा पुगेको छ । यसलाई संसदबाट पारित गर्नुपर्छ ।

यस्तै अर्कोे, राज्यले चिकित्सा शिक्षामा महंगो शुल्क तोकेको छ । तर, तलब भने ज्यादै न्यून छ । यस्तो विभेद हुनुभएन भन्ने हाम्रो भनाई हो । ओपीडी शुल्क पनि २०७१ सालदेखि बढेको छैन । त्यसलाई दुई दुई वर्षमा बढाउने भनेर सचिवस्तरीय निर्णय भएको थियो । तर, त्यो कार्यान्वयनमा आउन सकेको छैन ।

पछिल्लो समय डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भनेर मिडियामा समाचार आएकाले आम जनतामा डाक्टरप्रतिको विश्वास घटिरहेको छ । त्यसको वास्तविकताका लागि मिडियासंग छलफल, विमर्शका योजना पनि छन् । युवा डाक्टरहरुलाई प्रशिक्षण, अनुभवी डाक्टरसंगको सम्बन्ध विस्तार, समायोजन, दरबन्दी, मेडिकल लाइब्रेरी, मेडिकल म्यूजियम लगायतका विषयमा काम गर्ने विविध योजना बनाएका छौँ ।

चिकित्सक संघले डाक्टरकै मात्रै कुरा उठायो, नर्स, अनमी  लगायतका अन्य स्वास्थ्यकर्मीका मुद्दा ओझेर परे भन्ने गुनासो छ नि ! के भन्नुहुन्छ ?

चिकित्सक संघ डाक्टरहरुकै संगठन भएकाले यसले आफ्ना सदस्यहरुको समस्या उठाउने हो । तर, विगतका आन्दोलन हेर्नुभयो भने जहिले पनि हामी स्वास्थ्य क्षेत्रको समग्र कुरा लिएर हिंडेका छौँ । हामीले उठाएका आन्दोलनमा अन्य स्वास्थ्यकर्मीहरुलाई समेत साथमा लिएका छौँ । भविष्यमा पनि स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनका लागि पनि डाक्टर एक्लै लागेर हुँदैन । सबै स्वास्थ्यकर्मी एक भएर जानुपर्छ भन्ने हाम्रो मान्यता हो ।

डाक्टरजस्तो अति नै संवेदनशील पेसाकर्मीहरु आन्दोलनमा उत्रिँदा त्यसको असर व्यापक हुन्छ । त्यस्तो अवस्था आउन नदिनका लागि चिकित्सक संघले कुन चलाखी अपनाउँछ ?

पीडा भएर नै डाक्टरले आन्दोलन गर्न बाध्य हुने हो । तर, हामीहरु हतपत आन्दोलनमा जानै सक्दैनौँ । किनभने हामीहरु आन्दोलनमा जाने बित्तिकै बिरामीलाई असर पर्छ । बिरामीलाई असर पर्नेबित्तिकै हाम्रो पेशाप्रति औँला उठाउने थुप्रै प्रश्नचिन्हरु पैदा हुन्छन् ।

तर, यही कुरालाई विश्लेषण गर्दै डाक्टर सजिलै आन्दोलनमा जाँदैनन् भनेर सरकार मौन बस्ने गरेको छ । मलाई लाग्छ,

मेडिकल एशोसिएसनलाई आन्दोलन गर्ने संगठन भन्दा पनि एउटा ‘थिंकट्यांक’ हो;  जसले विचार र नीति निर्माणका बारेमा सल्लाह दिनसक्छ भन्ने रुपमा राज्यले हेर्नुपर्छ ।

गलत कानुन आइसकेपछि सच्याउनलाई आन्दोलन गर्नुभन्दा कानुन आउनुभन्दा अगाडि नै हामीलाई त्यहाँ राख्दा त्यस्तो स्थिति आउँदैनथ्यो ।

पछिल्लो समय चिकित्साक्षेत्र सेवा भन्दा पनि पैसामुखी भयो भन्ने  बुझाई छ । यसलाई कसरी चिर्नुहुन्छ त ?

यो त सरासर गलत हो । एउटा जेहन्दार विद्यार्थीले पैसा कमाउने हो भने डाक्टर बन्नुपर्दैन । लाखौँ खर्च गरेर मेडिकल क्षेत्रमा छिर्नुभन्दा अन्य व्यापार गर्दा पैसा बढी कमाइन्छ । दिनमा १८ घण्टा पढेर डाक्टर बनिरहेको मान्छेले अर्को क्षेत्रमा पनि राम्रो गर्न सक्छ । डाक्टर पढ्न आउने विद्यार्थी सेवाकै हिसाबले आउँछ । तर, पैसा पनि एउटा पाटो हो । एउटा डाक्टर दुई तीन ठाउँमा काम गरेको देखिन्छ । त्यसको कारण के हो भने उसले लाखौ खर्च गरेर पढेको हुन्छ ।

अहिले सरकारी अस्पतालमा काम गर्ने डाक्टरको सेवा सुविधालाई हेर्नुहुन्छ भने काठमाडौँमा परिवार पाल्नै कठीन हुन्छ । त्यही भएर
डाक्टरहरु दुई तीनवटा अस्पतालमा काम गरिरहेका हुन्छन् । त्यसकारण एउटा डाक्टरले एउटै अस्पतालमा काम गर्ने वातावरण बनाइदिने हो भने धेरै ठाउँमा कुद्नै पर्दैन !

अन्त्यमा, संघको निर्वाचन र आफ्नो व्यक्तिगत उम्मेदवारीबारे के भन्नुहुन्छ ?

चिकित्सक संघले प्रजातन्त्र आउँदादेखि नै समाजलाई विभिन्न किसिमका योगदान दिँदै आएको छ । मेरो व्यक्तिगत कुरा भन्दा म एकैपटक नेतृत्वका लागि आएको होइन । विगत १०–१२ वर्षदेखि अनवरत रुपमा मेडिकल एशोसिएसनमा काम गरिरहेको छु ।

सदस्य भएर सुरु गरेको कार्यकाल सह–सचिव हुँदै अहिले महासचिव भएर काम गरिरहेको छु । मैँले संस्थालाई राम्रोसँग बुझेको छु ।

चिकित्सकका समस्या के हुन् र तिनको समाधान के हो भन्ने कुरा बुझेको छु । विभिन्न चरणमा हामीले गरेका आन्दोलनका फाइलहरु कहाँ पुगेका छन्, हाम्रा मुद्दाहरु कहाँ पुगेका छन् भन्ने कुरा मैँले बुझेको छु । युवा डाक्टरहरुको संख्या बढ्दै गएको अवस्थामा एउटा युवा डाक्टरको रुपमा म उहाँहरुको भावनालाई बुझ्न सक्छु । त्यस हिसाबले ममा त्यो नेतृत्व हाँक्न सक्ने क्षमता छ भन्ने लाग्छ ।

म लागायत मेरो सिंगो टिम नै अब्बल छ भन्ने हाम्रो दाबी छ । हामी प्रति गरेको बिश्वासको ऋणलाई ईमान्दारिता पूर्वक कर्म गरेर चुक्ता गर्नेछौं ।