दाङ– बादी समुदायको छोरी भएर फरक जातसँग विवाह गर्नु दाङकी मीना नेपाली बादीलाई सजाय नै भयो । अन्तरजातीय विवाह गरेकै कारण उनी विभेद्को शिकार भइन् । अरू जातिले बादी समुदायलाई गरेको व्यवहार र सोचले उनी दिक्क भइन् ।


ADVERTISEMENT


अन्तरजातीय विवाह गरेकै कारण परिवारमा अपहेलित भएकी दुई छोराकी आमा मीनाले २४ वर्षपछि अहिले घरमा प्रवेश पाएकी छन् । “हाम्रो समुदायको पीडा वयान गरी साध्य छैन, अझै पनि हामीलाई यौन धन्दा गर्ने जात भनेर होच्याउँछन्, मानिसको सोच परिवर्तन हुन धेरै समय लाग्दो रहेछ ।”


ADVERTISEMENT

# # #


समुदायमा आफूले भोगेको पीडा कसैले भोग्नु नपरोस् भनेर उनले विभिन्न सङ्घसंस्थामा आवद्ध भई सामाजिक जागरण अभियानमा लागेकी छन् । दाङमा बादी समुदायका कुनै पनि महिला यौन पेशामा आवद्ध नरहेको उनको दाबी छ । “बादी समुदायमा रहेको बाध्यात्मक यौन पेशाका विरुद्ध निरन्तर सङ्घर्ष गरेका छौँ, अहिले धेरै परिवर्तन पनि भएको छ, महिलाहरु आयमूलक काममा संलग्न छन्” उनले भनिन् । यौन व्यवसाय गर्ने समुदायको रुपमा बादी समुदायलाई नबुझ्न उनको आग्रह छ ।

दाङकै ३९ वर्षे सितारा नेपालीले पनि बादी भएकै कारण विभेद्को सामना गर्नुपरेको छ । बाध्यात्मक यौन पेशाका कारण समुदायमाथि लाग्ने गरेको आरोप उनको मनमा गडेर बसेको छ । बादी समुदायका महिलाले गरेको स्वच्छ तथा मर्यादित किसिमले गरेको पेशा व्यवसायलाई पनि नकारात्मक रुपमा लिँदा उनको आत्मसम्मानमा ठेस पुग्दछ ।

“बादी भन्ने बित्तिकै गलत नजरले हेरिन्छ, यसले छोराछोरीलाई झन् पीडा हुने गर्दछ । तीन सन्तानकी आमा सितारा भन्छिन् “छोराछोरी थर परिवर्तन गरौँ न भनेर कर गर्छन्, सोच बदल्ने हो बाबु जात त हाम्रो पहिचान हो हामीले राम्रो गरेर देखाउनुपर्छ भनेर सम्झाउने गर्दछु ।”

बादी समुदायमाथि सामाजिक, आर्थिक र सांस्कृतिक विभेद् कायम रहेकाले आत्मसम्मानका साथ बाँच्ने वातावरण अझै तयार हुन नसकेको उनको भनाइ छ । सिताराले अहिले कमिट नेपालको अध्यक्ष भएर दाङमा बादी समुदायको हक अधिकारका लागि काम गर्दै आएकी छन् ।

मीना र सिताराजस्ता बादी समुदायका धेरै महिला तथा किशोरीहरु आर्थिक–सामाजिक रुपमा निकै उत्पीडनमा छन् । वर्गीय र जातीय उत्पीडनसँगै यो समुदायका महिलाहरुले लैङ्गिक उत्पीडन भोग्दै आएका छन् ।

नेपाल सरकारले २०६५ सालमा बादी समुदायलाई यौन शोषणमुक्त समाज घोषणा गरे पनि उक्त समुदायको पुनःस्थापनाका लागि कुनै योजना र रणनीति बनाउन सकेको छैन । बादी समुदायको समग्र विकासका लागि थुप्रै समुदायमा आधारित सामाजिक संस्थाहरुकोे स्थापना भएका छन् । प्रभावकारी रणनीतिक योजना नभएका कारण संस्थाहरुले यो सुमदायको परिवर्तन र दीर्घकालीन विकासमा अहम् भूमिका निर्वाह गर्न नसकेको अध्येता केशव नेपालीको भनाइ छ ।
.
पहिलेपहिले केही महिलाहरुको संलग्नताले गर्दा पूरै बादी समुदायलाई नै यौन पेशा गर्ने समुदाय भनी कलङ्कित गरियो । समाजमा भेद्भाव गरियो । परिणामस्वरुप उनीहरु गरिबी, बेरोजगारी, अशिक्षाजस्ता समस्या भोग्दै आएको अध्येता नेपाली बताउँछन्। “छुवाछूत र जातजन्य विभेद्का कारण बादी समुदाय कठोर मानसिक यातनाबाट प्रताडित छन्” उनले भने।

स्वाभिमानपूर्वक जीवनयापन गर्न कठिन भएका बादी समुदायको जीवनको सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेकै सामाजिक प्रतिष्ठा हो । उनीहरुलाई आफूमा लागेको कलङ्क मेटाउन सङ्घर्ष गर्दा पनि सरकारले त्यस्तो वातावरण दिन नसकेको बादी समुदायको गुनासो छ ।

जातको आधारमा गरिने बहिष्करणको प्रमुख मारमा बादी समुदाय परेको छ । बादी समुदायको उत्थान र विकासका लागि सामाजिक समावेशीकरणको माध्यमबाट जनसङ्ख्याको आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तलाई अवलम्बन गर्नुपर्छ भन्छन्, कमिट नेपाल बाँकेका अध्यक्ष प्रकाश नेपाली । जातका आधारमा हुने अमानवीय व्यवहार जरैदेखि अन्त्य गर्न प्रवृत्तिगत सामाजिक सोच र व्यवहारमा समेत आमूल परिवर्तन आउन जरुरी रहेको उनको भनाइ छ ।

दलितभित्र पनि अति पिछडिएको समुदाय भएका कारण यो समुदायलाई संरक्षण गर्नुपर्ने दायित्व सरकारको भएको प्रदेशसभा सदस्य दीपा विश्वकर्मा बताउँछिन् । “यो समुदायका नयाँ पुस्तालाई विगतका कुराको स्मरण गराउँदै सकारात्मक दिशातर्फ अगाडि बढ्ने गरी प्रेरणा दिन सीपमूलक कार्यक्रममा सहभागी गराउनुपर्छ” उनले भनिन्।

बादी समुदाय शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच नभएको समुदाय भएकाले यी क्षेत्रमा पहुँच पुर्याउन सरकारले नीति योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का निर्देशक सम्झना शर्मा बादी समुदायको आर्थिक सशक्तीकरणका लागि आयमूलक काममा लगाउनुपर्ने बताउँछिन् । “अहिलेसम्म देह व्यापार गर्ने समुदायको रुपमा बादी समुदायलाई बुझियो, अब यो बुझाइलाई बदल्नुपर्छ, उनीहरुको जीवनस्तर परिवर्तनका लागि अझै प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ” उनले भनिन्।

बादी समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा अगाडि ल्याउन प्रदेश सरकारले प्रयास थाल्ने प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको भनाइ छ । बादी समुदायको हकहित र उन्नतिका लागि काम गर्ने उनको प्रतिबद्धता छ । “हामीसँग सरकार छ भन्ने विश्वास दिलाउन बादी समुदायको हितमा काम गर्नेछौँ” उनले भने ।

विसं २०६८ को जनगणनानुसार बादी समुदायको जनसङ्ख्या ३८ हजार ६०३ छ । त्यसमा महिलाको सङ्ख्या २० हजार ३०५ र पुरुषको सङ्ख्या १८ हजार २९८ छ । प्रदेश ५ मा बादी समुदायको सङ्ख्या सात हजार ८८६ रहेको छ । रासस