काठमाडौँ– संसदीय समितिले सीमा क्षेत्रमा बनाइएको बाँधका कारण तराई– मधेशका जनताले डुबानको समस्या भोग्नुपरेकाले कूटनीतिक माध्यमबाट त्यसको तत्काल समाधान खोज्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले तराई–मधेशको दक्षिण भेगमा सीमा क्षेत्रमा बनाइएको सडक र बाँधका कारण त्यहाँका जनताले थप डुबानको समस्या खेप्नुपरेको निष्कर्ष निकालेको हो । बाढीपछि उत्पन्न रोगव्याधि नियन्त्रण गर्न बेलैमा सचेत रहन सकारको ध्यानाकर्षण गराउँदै समितिले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानपीडित जनतालाई तत्काल उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #


बैठकले बाढीपहिरामा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बैठकमा सांसद अशोक मण्डलले बाढीपीडित जनतालाई तत्काल राहतका लागि पाल, भुजा, चिउरा, चाउचाउ र औषधि त्यस क्षेत्रमा पुर्याउने व्यवस्थाका लागि समितिको ध्यानाकर्षण गराए ।

पूर्वगृहमन्त्री एवं समितिका सदस्य भीमबहादुर रावलले सीमा पारि बनाइएको बाँध र सडकले डुबानको समस्यालाई अझै गम्भीर बनाएको धारणा राखे । सांसद पुष्कर आचार्यले बाढीपहिरो र डुबानबाट तल्लो तहका मानिस बढी मारमा परेको हुँदा त्यस क्षेत्रमा तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

डुबानको समस्याको दीर्घकालीन समाधान खोज्न कूटनीतिक प्रयास हुनुपर्ने आवश्यकतामा जोड दिँदै उनले हाम्रा आमसञ्चारमाध्यमले पनि के–कति कारणले डुबानको समस्या भएको हो भन्नेबारेमा स्पष्ट समाचार सम्प्रेषण गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

सांसद ललिताकुमारी रेग्मीले प्राकृतिक विपत्तिका समयमा तत्कालै उद्धार गर्ने संयन्त्रलाई चुस्तरुपमा राख्न आवश्यक रहेकामा जोड दिइन् ।
सांसद प्रेम सुवालले सीमा क्षेत्रको बाँधकै कारण सप्तरीका धेरै गाविस हरेक वर्ष डुबानमा पर्दै आएको उल्लेख गर्दै हाम्रो जमिनमा रहेको कोशी बाँधको ढोका खोल्न अरुसँग साँचो माग्नु पर्नाका कारण के हो भनी प्रश्न गरे ।

सांसद अभिषेकप्रताप शाहले झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट लगायतका लाखौँ घरपरिवार हरेक वर्ष बाढीपहिरो र डुबानको समस्यासँग जुधिरहँदा समेत सरकारले यस विषयलाई समयमै चासो नदिँदा ठूलो जनधनको क्षति हुने गरेको बताए ।

अर्का सांसद चूडामणि जंगलीले निरन्तर भएको वर्षाका कारण पहाडमा बाढीपहिरो तथा तराई–मधेशमा निकै ठूलो डुबानको समस्या भोग्नुपरेको जनाउँदै बेपत्ताको खोजी र पीडितलाई राहत दिने कामलाई तीव्रता दिन आवश्यक छ भने । रासस