भक्तपुर– वाणिज्य मन्त्री मीन विश्वकर्माले लगातारको वर्षाका कारण आएको बाढी पहिरोको व्यवस्थापनका लागि सरकारले राष्ट्रिय विपद संकटकाल घोषणा गर्ने बताएका छन् ।


ADVERTISEMENT


रफत् सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले सोचेजसरी बाढीपहिरोलगायतको विपद् व्यवस्थापन गर्न नसकेकाले आज बस्ने मन्त्रिपरिषद् बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेका बताएका हुन् ।


ADVERTISEMENT

# # #


यतिबेला विपद् व्यवस्थापन गर्न सरकारलाई ठूलै चुनौती आइपरेको बताउँदै उनले कोशी ब्यारेजका केही ढोका खुल्न सरकारले गरेको कूटनीतिक पहल सफल भएको बताए । ब्यारेजका सबै ढोका खुल्दा भारतको विहार डुबानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले विपद्का बेला सोचेर मात्र काम गर्नुपर्नेमा सरकार सजग रहेको उनको भनाइ थियो ।

अहिलेको विपद्ले तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने भए पनि सरकार चुनौतीको सामना गर्दै निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको उनले बताए ।

मन्त्री विश्वकर्माले भने, “माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिए देशमा संवैधानिक संकटको अवस्था आउँछ, त्यसैले सरकारले हचुवाको भरमा संसद् र प्रदेशको निर्वाचन मिति घोषणा गर्दैन, निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषणा गरिने छ ।”

दुवै निर्वाचन एकैपटक गर्न सरकारले निर्वाचन आयोगसँग गरेको परामर्शमा निर्वाचन आयोगले कुनै निर्णय नगर्दा अन्यौलता बढेकामा चिन्ता व्यक्त गरे । संविधान संशोधनमा दुई तिहाइ बहुमत पुर्याउन नेपाली काँग्रेसले विपक्षी दलहरुसँग छलफल तीव्र पारेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार ल्याउने र व्यापार घाटाका बारे छलफल हुने बताउँदै उनले चीनका उपप्रधानमन्त्रीको टोलीले गर्ने नेपाल भ्रमण नेपाल र नेपालीको हिता अनुकूल हुने दाबी गरे । रासस