• दिपक मल्होत्रा, अध्यक्ष, इन्टिग्रेटेड मोबिलिटी सोलुसन ( आईएमएस )

भर्खरै सम्पन्न ब्यवशायिक सम्मेलनका बारेमा बताई दिनुस न ।


ADVERTISEMENT


हामीले ‘जिम्मेवार व्यावसाय सम्मेलन’ सम्पन्न गर्यौं । यसको बारेमा भन्नु पर्दा हामीले २०१४ मा यसको पहिलो सम्मेलन गरेका थियौँ । यो दोस्रो सम्मेलन हो । हाम्रो देशमा यो भएन, त्यो भएन भनेर सरकारलाई दोष दिने बानी छ । तर व्यवसायीहरुले सरकारको मुख ताकेर मात्रै बस्ने होइन । यसका लागि आफैले पहल गर्नुपर्छ भनेर हामी फरक तरिकाले आएका छौँ । सरकार तथा देशप्रति हाम्रो जिम्मेवारी के हो ? जनताप्रति हाम्रो जिम्मेवारी के हो ? त्यो हामीले पूरा गरेका छौँ कि छैनौँ ? व्यावसायीले सामान उत्पादन गर्छौं, आयात निर्यात गर्छौं, योबीचमा आम उपभोक्ताहरु माझ हाम्रो के जिम्मेवारी हन्छ ? हामीले गुणस्तरीय वस्तु उत्पादन गरेका छौँ कि छैनौँ ? व्यापार गर्ने मानिसले यावत जिम्मेवारीहरु आफै बहन गर्नु पर्छ भनेर हामीले यो सम्मेलन सम्पन्न गर्यौं । त्यसमा देश विदेशका करिब ५० जना वक्ता हुनुहुन्थ्यो भने ५ सय जना सहभागी हुनुहुन्थ्यो । यो सफल रुपमा सम्पन्न भयो । यसमा देश तथा विदेशका व्यापारसंग सम्बन्धित नयाँ कुराहरु सिक्ने अवसर प्रदान भयो । सम्मेलन पछि यती राम्रो प्रतिक्रिया आयो कि, यस्तो खालका सम्मेलन नेपालमा सायदै देखेका थियौँ भनेर ।


ADVERTISEMENT

# # #


सम्मेलन पश्चात व्यवसायका लागि के कस्ता ढोकाहरु खुलेका छन् ?

सम्मेलनमा हाम्रो चारवटा शिर्षक र १६ वटा उपशर्षकमा छलफल भएको थियो । जस्तो, कर्पोरेट सोसियल रेस्पोन्सिविलिटी (सीएसआर) को कुरा, चन्दा आतंकको कुरा पनि थियो । त्यसपछि लगानीकर्ताहरु बीचको साझेदारी, सम्बन्ध लगायतका कुरामा हामीले बहस गयौँ । चुनावमा पार्टीले चन्दा माग्ने कुरोमा हामी के भन्छौँ भने हामी त्यसको विपक्षमा छैनौँ । तर यसमा हाम्रो के धारणा छ भने, उनीहरु जितेर आइसकेपछि देश र जनताको हितमा काम गर्नुपर्छ भन्ने हो । अर्को कुरा भनेको हाम्रो सीएसआर को हो । राष्ट्रिय व्यवसायी पहल अन्तर्गत हामीले यो सम्मेलनको आयोजना गर्यौं । देशप्रति हाम्रो पनि केही जिम्मेवारी छ । यसका लागि कर्पोरेट सोसियल रेस्पोन्सिविलिटी (सीएसआर) अन्तर्गत हामी केही खर्च गर्न चाहन्छौँ, तर हाम्रो ऐन नीतिले खर्च गर्न दिँदैन । हामीलाई एकलाख भन्दा बढी खर्च गर्न नपाउने व्यवस्था गरिएको छ । त्यो विषयमा हामीले पहल गयौँ ।

निश्चित नाफा कमाउने कम्पनीले आफुले कमाएको नाफाको १ प्रतिशत सीएसआरमा अनिवार्य खर्च गर्नै पर्ने ऐन बनिसक्यो । नियम बन्दैछ । त्यसको जिम्मा पनि हामीले लिएका छौँ । विज्ञापनमा पनि छलकपट ढंगबाट नभई स्वच्छ रुपमा उपभोक्ता तान्नुपर्ने कुरामा हामीले छलफल गर्यौँ । त्यसकारण मलाई लाग्छ यो सम्मेलन सफल भएको छ ।

आइएमएसको नेतृत्व र सेवा कसरी अगाडी बढीरहेको छ ?

हामी अहिले ‘इन्टिग्रेटेड मोबिलिटी सोलुसन’ (आइएमएस) मार्फत नेपालमा सामसुङ मोबाइलको आयात गरेर वितरण गछौँ । हामीले ‘डीएम फाउन्डेसन भन्ने सुरु गरेका छौँ । डीएम फान्डेसन मार्फत हामीले जेहेन्दार विद्यार्थी तर पढ्नका लागि उसंग आयश्रोत छैन । यदि उसले सही ढंगले अगाडी बढ्ने मौका पाएको खण्डमा भविष्यमा ठूलो मान्छे बन्न सक्छ । त्यस्ता विद्यार्थीलाई हामीले पहिचान गरेर छात्रवृद्धि प्रदान गर्दै आएका छौँ ।

सन् १९९६ तिर नेपालमा मोबाइल सुरु नहुँदै म मोबाइल फोनमा उत्रेको मानिस हो । आज २१ वर्ष भयो म मोबाइल फोनको दुनियामा डुबेको । सन् २००१ देखि मैले सामसुङ मोबाइलको व्यापार सुरु गरेको हो । आजसम्म पनि सामसुङ मोबाइलमै केन्द्रित भएर व्यापार गर्दै आएको छु । सुरु गर्नेबेला सामसुङ मोबाइल कोहीले पनि चिन्ने अबस्था थिएन । सबै नोकिया नोकिया मात्रै भन्थे । तर सन् २०११ मा स्मार्ट फोन आइसकेपछि सामसुङले एन्ड्रोइड प्लेटफर्म सुरु गरेपछि यसको कायापलट नै भयो । अहिले हामी एक नम्बर पोजिसनमा छौँ । अहिले ४८ प्रतिशत मार्केट सामसुङको रहेको छ ।

मोबाइलका आम उपभोक्ताहरुले ठगिनु नपरोस् भनेर हामीले मोबाइल फोन इम्पोर्टस् एसोसियसन दर्ता गरेका छौँ । म अहिले त्यसको अध्यक्ष पनि छु । जस मार्फत मोबाइलको चोरी पैठारी नहोस् भनेर आइएमई नम्बर लक गर्ने देखि लिएर नियन्त्रणका कुराहरु गरिरहेका छौँ ।

अहिले नेपाली बजारमा सामसुङ मोबाइलले आधा प्रतिशत बजार ओगटेको छ । यसको राज के हो जसले गर्दा यो स्थानमा पुग्न सकियो ?

सामसुङले सामान उत्पादन गरेर मात्र भएन । त्यसको गुणस्तर, मूल्य देखि लिएर रेन्जसम्म सबै कुरामा विचार पुर्याउनु पर्ने हुन्छ । बजार पनि त्यही किसिमले विस्तार गर्नुपर्ने हुन्छ । त्यसपछि सर्भिस सेन्टरको कुरा पनि आउँछ । यी सबै कुरामा सामसुङ कोरियाको ठूलो योगदान छ । उसले यी कुरामा कहिल्यै पनि सम्झौता गर्दैन । तपाईलाई म एउटा उदाहरण दिन्छु । एक वर्ष अघि नोट सेभेन रिलिज भयो । बजारमा २५ लाख सेट बिक्री भइसकेको थियो । त्यसमध्ये ५० वटा सेट पड्कियो भनेर रिपोर्ट गयो । ती ५० वटा सेट रिपेयेर वा साटिदिएपनि हुन्थ्यो होला । तर उसले आफ्नो साखको लागि, नामको लागि सबै सेट फिर्ता लिएर अर्बौ घाटा सहेर पनि उपभोक्तालाई खुसी पार्यो । सामसुङ त्यस्तो कम्पनी हो । नेपालभरि हाम्रो करिब १५ वटा सर्भिस सेन्टरहरु छन् । मोबाइल फोन बिग्रिएमा हामी तुरुन्तै बनाइदिन्छौँ । यिनै कारणहरुले गर्दा सामसुङले बजारमा यती ठूलो स्थान ओगटेको छ ।

पहिलो स्थानमा रहिरहनका लागि कसरी अघि बढ्दै हुनुहुन्छ ?

गुणस्तरको कुरा गर्नु पर्दा नयाँ नयाँ कुराको आविष्कार गर्न सामसुङ नै अग्र स्थानमा देखिन्छ । हरेक वर्ष एउटा नोट सिरिज र एउटा एस सिरिज आइरहेका छन् । त्यस्तै अन्य मोबाइलहरु पनि आइरहेका छन् । सामसुङले वर्षेनी २० खर्ब नेपाली रुपैया अनुसन्धानका लागि खर्च गर्छ । त्यसले गर्दा गुणस्तरका विषयमा केही भन्नै पर्दैन । अहिले केही अन्य कम्पनीका राम्रा फिचर भएका मोबाइल पनि आएका छन् ।

हामी पहिलो स्थानमा छौँ भनेर चूप लागेर मात्रै बसेर हुँदैन नै । हामी गुणस्तरीयता, सेवा र सुबिधाका बिषयमा उच्चतम भूमिका निर्बाह गरिरहनेछौं । राम्रो सुविधा भएपनि मूल्य बढी हुनाले नेपाल जस्ता देशमा बजार ओगट्न गाह्रो छ । तर सामसुङ यो कुरामा जानकार छ । बजारमा हेर्नुभयो भने सामान्य भन्दा सामान्य मूल्य देखि महँगा मूल्य सम्मका फोनहरु सामसुङले ल्याईरहेको छ ।

अब स्याङ्गयोङ्ग गाडीको कुरा गरौँ  न, ब्यापार कस्तो छ ?

हामीले करिब एक वर्षदेखि स्याङ्गयोङ्ग गाडी बेचिरहेका छौँ । सुरुमा यसको बजार पनि राम्रै थियो । तर बीचमा बैंकिङ प्रणालीमा केही समस्या आइसकेपछि यसको बिक्री कम भयो । कम भए तापनि हामीले आइएमएस कम्पनी मार्फत २१ वर्षदेखि जुन किसिमको सेवा दिदै आएका छौँ । उपभोक्ताको हामीले जुन किसिमको विश्वास जितेका छौँ । त्यसले गर्दा विस्तारै पिकअप सुरु भएको छ ।

स्याङ्गयोङ्गको हामीसंग ठूला जिपहरु मात्रै छन् । कारहरु छैनन् । यो कोरियामा बनेर नेपालमा आउँछ । तर पनि एक वर्षको बीचमा हामीले करिब करिब ६० वटा बेचि सक्यौँ । जुन नम्बरको कुरा गर्ने हो भने धेरै राम्रो हो ।

एउटा एन्टीलेवल एक्स एलभी करिब ६० लाखको हाराहारीमा रहेको छ । जुन अहिले कोरियामा नम्बर एक पोजिसनमा छ । सानो पनि छ । काठमाडौँको बाटोलाई सुहाउँदो पनि छ ।

अर्को भनेको कोरेन्डो, जसको मूल्य ८० लाखको हाराहारीमा छ । अर्को रेक्जटोन छ । जुन एक करोड २० लाखको छ । अरुपनि गाडीहरु छन् जुन उपभोक्ताहरुका लागि मनैदेखि खोजेको आफ्नो साधन बन्न सक्छ।

व्यावसाय र लगानीका लागि आगामी योजना तथा कार्यक्रमहरु के के छन् ?

नेपालको भविष्य पर्यटन क्षेत्रमा भएकाले निकट भविष्यमा नै हामी दुईवटा होटल निर्माण गर्दैछौँ । एउटा सर्भिस अपार्टमेन्ट यो पहिले चलिरहेको होटल हो हामीले लियौँ, सेहन्सा होटल । यसलाई हामी बेग्लै किसिमको एउटा रिसोर्टको रुपमा विकास गर्दैछौँ । यसमा बच्चाहरुलाई चाहिने मनोरञ्जनका लागि नेपालमा अन्य ठाउँमा नभएका कुराहरु पनि सुरु गर्ने गरी एउटा रिसोर्ट होटल बनाउँदै छौँ धापासीमा । अर्को भनेको कालिकास्थानमा रहेको अपार्टमेन्ट पछाडीको एउटा टावरमा ९६ कोठा भएको एउटा सर्भिस अपार्टमेन्ट बनाउँदैछौँ ।

लगानीका लागि राजनीतिक, आर्थिक, सामाजिक वातावरण कस्तो हुनुपर्छ ? त्यो नेपालमा कस्तो छ ?

यसमा विशेषगरी तीन कुरालाई ध्यान दिनुपथ्र्यो । जसमध्ये एउटा लोड सेडिङको समस्या थियो । त्यसले गर्दा लगानीदेखि सम्पूर्ण कुरामा डामाडोल थियो । तर केही समयअघि त्यो अन्त्य भएको छ । दोस्रो भनेको नेपालमा श्रमिकको वा ट्रेड युनियनको थियो । ट्रेड युनियनको कारणले गर्दा केही समयअघि उद्योगधन्दा बन्द भएको देखिन्थ्यो ।

मलाई लाग्छ केही समयदेखि यसको समस्या पनि अगाडी आइरहेको छैन । तेस्रो भनेको नीति निर्देशनको हो । जहाँ नीति तथा निर्देशन हुँदैन, त्यहाँ लगानीको वातावरण बन्न सक्दैन । यो किन भएन भने, अस्थिर सरकार । जबसम्म अस्थिर सरकार हुन्छ तबसम्म नीति निर्देशनका कुराहरु विकास हुन सक्दैन । लगानी गर्ने वातावरण धेरै गाह्रो छ । त्यसले गर्दा हामी एउटा आशा गरौँ कि अब स्थायी सरकार हुन्छ ।

प्रत्येक वर्ष प्रधानमन्त्री फेरिरहने हुनाले उसले त्यो छोटो अवधिमा आफ्नो पार्टीलाई हेर्ने कि देशलाई हेर्ने कि आफुलाई हेर्ने समय नै हुँदैन । त्यसकारण जबसम्म यो स्थिरता हुँदैन तबसम्म गाह्रो छ जस्तो मलाई लाग्छ । प्रार्थना गरौँ, आगामी निर्वाचनमा कुनै एउटा पार्टीले बहुमत ल्याएर स्थिर सरकार होस् । नभए ठूला पार्टी मिलेर पाँच वर्ष सरकारमा जाउन् । त्यो भएपछि लगानीको वातावरण बन्छ ।

तीनै चरणका चुनाबहरु सम्पन्न गरेर संविधान कार्यान्वयन गर्दै मुलूक समृद्धि तिर जाने भनेर राष्ट्रिय एजेण्डाको रुपमा अगाडी बढिराखेको छ । यो बेला तपाईहरु जस्ता व्यावसायीहरुको लगानीका लागि कस्तो किसिमको उर्जा प्रदान भइराखेको छ ?

म जहिले पनि सकारात्मक सोच भएको मानिस हो । हामी जनआन्दोलन देखि एउटा अँध्यारो भागमा बसिरहेका छौँ । अध्यारोपछि उज्यालो हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । अब उज्यालो हुन्छ भन्ने कुरामा म आशावादी छु । तर बिडम्बना हामी अँध्यारोमा धेरै समय बस्यौँ । नेपाल धेरै सम्भावना भएको देश हो । हाम्रो जस्तो लगानीको लागि उपयुक्त ठाउँ संसारमा कमै छन् । तर यसका लागि राज्य तथा यसका सञ्चालनकर्ता लाग्न जरुरी छ । आशा गरौँ चुनावपछि नेपाल तथा नेपालीको लागि राम्रो हुन्छ ।

लगानी, व्यापारको हिसाबले लामो समयदेखि यस क्षेत्रमा लागिरहनु भएको छ । यो सबैका लागि प्रेरणा समेत बन्न सक्छ । बताईदिनुस् न आफ्नो अनुभव ?

सरकारी कर्मचारीको कुरा गर्नु पर्दा उनीहरु ३० वर्षमा रिटायर्ड हुन्छन् । तर म आफ्नो खुट्टामा उभिएको आज ३८ वर्ष भयो । मैले सन् १९७९ बाट आफ्नो व्यावसाय सुरु गरेको हुँ । यो बीचमा जीवनमा धेरै उतार चढावहरु आए । एउटा अनुभव के रह्यो भने कुनैपनि कुरालाई छोटो समयका लागि मात्रै लिएर अगाडी बढ्दा कहिले पनि सफल हुँदैन । मानिसमा दिर्घकालीन भिजन हुनुपर्छ । त्यही किसिमले व्यावस्थापन राम्रो हुनुपर्छ । अर्को कुरा के हो भने आफ्नो प्रतिवद्धतामा टिक्न सकियो भने, अरुलाई ढाँटेर ठगेर भन्दा पनि इमान्दार तरिकाबाट काम गरियो भने गाह्रो समयमा अरुको सहयोग पाइन्छ । मैले त्यसकोअनुभव गरेको छु । मेरो उमेर अहिले ५८ वर्ष भएको छ । व्यापार सुरु गरेको ३८ वर्ष भयो । अझै केही वर्ष अवश्य काम गर्छु । जति काम गर्छु देशको ऐन नियमहरुको दायरामा बसेर गर्छु । विगतका दिनमा कसले के भने होइन मैले के गरेँ त्यसको बारेमा मलाई थाहा छ । आउने दिनमा पनि यसरी नै अगाडी बढ्न चाहन्छु ।

सफलताको कुर्सीमा बस्नका लागि के कस्ता कुराको आवश्यकता पर्ने रहेछ ?

मैले अघि नै भनिहालेँ नि, दुई तीन वटा कुराहरु छन् । यसमा मेरो कुरा भन्दैछु म । जीवनमा यदि सफल हुन चाहनुहुन्छ भने कामको छनोट राम्रो हुन जरुरी छ । कुन काममा तपाईले हात हाल्दै हुनुहुन्छ ? त्यसको बारेमा अनुसन्धान गर्न जरुरी छ । यो काम गर्दा यसको भविष्य के छ ? यसको दिर्घकालीन फाईदा के हो ? त्यसको बारेमा जानकारी हुनुपर्यो । अर्को भनेको त्यो काम तपाई एक्लैले गर्दै हुनुहुन्छ कि साथीसंग गर्दै हुनुहुन्छ र त्यो साथी कस्तो किसिमको मानिस हो ? मैले धेरैको संगत गरेँ । यो कुरा मैले भोगिसकेँ । अहिले मेरो अनुभव के हो भन्दा मैले मेरा विगतमा बिग्रेका काममा ती साथीहरुलाई नलिएको भए आज यो भन्दा पनि माथि हुन्थेँ होला । तर पनि म आज यो ठाउँमा बसेको छु । त्यसपछि महत्वपूर्ण कुरा भनेको व्यवस्थापन हो । आफ्नो कामको व्यवस्थापन गर्न तपाई सक्षम हुनुहुन्छ कि हुनुहुन्न ? तपाईले ठूला अवसर पाइराख्नु भएको छ तर तपाइको व्यवस्थापन राम्रोसंग चल्न सक्दैन भने सफल हुन सकिदैन । र अर्को, प्रतिवद्धताको बारेमा त मैले भनिहालेँ ।

अन्त्यमा, नम्बर एक स्थानमा रहेको सामसुङ मोबाईलको नेपाली वितरक तथा एक सफल व्यावसायीको हैसियतमा आम उपभोक्ता र राज्य सञ्चालन गरिरहेकालाई के भन्नुहुन्छ ?

सबैभन्दा पहिला त म सम्पूर्ण उपभोक्ताहरुलाई के भन्न चाहन्छु भने, समय अनुसार हामी चल्न सक्नु पर्छ । आजको समय र विगतको समय धेरै फरक भइसकेको छ । कमसेकम सही बाटोमा हिँड्ने कुरा हामीले सुरु गरिदियौँ । कुनैपनि सामान किन्दा भ्याट बिल तिरेर सामान किन्नुस् । अन्य सामान नकिन्नुस् । त्यसले गर्दा तपाईले सही सामान पाउनुहुन्छ । सस्तो खोजेमा नक्कली सामान पर्न जान्छ । त्यसको बिल हुँदैन । त्यसकारण भोलि विविध समस्या हुनसक्छ । अर्को भ्याट बिल तिरेमा राष्ट्रप्रति जिम्मेवार व्यक्तिको भूमिका निभ्छ । यी कुराहरु म उपभोक्तहरु समक्ष अनुरोध चाहन्छु ।

अर्को, हाम्रा नेताहरुलाई भन्नुपर्दा उहाँहरुलाई आग्रह, अनुरोध के भन्दाखेरी तपाईहरु एक वर्षलाई वा जति समय कुर्सीमा बस्न जानुहुन्छ । त्यो समयमा राष्ट्रसेवक कर्मचारीलाई एक गर्नस् । जो सरकारमा गएपनि कर्मचारीलाई राजनीतिमा सहभागी नगराउनुस् । त्यसले गर्दा केही हदसम्म अस्थिरतालाई कम गर्न सकिन्छ । यहाँ सरकार परिवर्तन हुनासाथ विभिन्न निकायका कर्मचारीको परिवर्तन वा सरुवा हुन्छ । त्यसले गर्दा काममा बाधा उत्पन्न हुन्छ । कर्मचारीतन्त्र परिवर्तन नहुने हो भने एउटा काम बनिराखेको हुन्छ नि त । सरकार परिवर्तन भएपनि काम गर्ने यन्त्र परिवर्तन हुँदैन । त्यसैले यस्तो खालको परिपाटीमा ध्यान दिन जरुरी छ ।

अर्को भनेको कर्मचारीको सरुवा, बढुवा र नियुक्तीमा भष्ट्राचार नहुने हो भने पनि धेरै समस्याको हल हुन्छ । यसमा म एउटा उदाहरण दिन चाहन्छु । हामी व्यापारीले केही नाफा कमाउनका लागि लगानी गर्ने हो । लगानी पछि उ जसरी पनि नाफा कमाउनतिर लाग्छ । त्यस्तै कर्मचारीले सरुवा बढुवामा पैसा दिएपछि त उसले आफ्नो पैसा असुल गर्नतिर लाग्छ । जसले गर्दा भष्ट्रचारको विकास हुन्छ । यी कुरामा ध्यान दिन जरुरी छ ।

देश समृद्ध बनाऔँ अब त्यसमा हामी सबै लागौँ ।