काठमाडौं – नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा पूर्व मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। लामो राजनीतिक यात्रा, संगठन निर्माणको अनुभव र जनतासँगको निरन्तर सम्बन्धलाई आधार बनाउँदै बानियाँले पार्टीको केन्द्रीय नेतृत्वमा थप जिम्मेवारीका लागि आफूलाई अघि सारेका हुन्।

बानियाँलाई जनतामाझ सहज पहुँच भएका, कार्यकर्तासँग निरन्तर संवादमा रहने र जनताका समस्यालाई प्राथमिकतामा राख्ने नेताका रूपमा प्रस्तुत गरिँदै आएको छ। विशेषगरी बागमती प्रदेशको नेतृत्वमा रहँदा उनले विकास, सुशासन तथा जनमुखी कार्यक्रमलाई प्राथमिकता दिएको उनको राजनीतिक यात्राको दाबी छ।

“राजनीति पेशा होइन, सेवा हो” भन्ने मान्यतालाई आफ्नो राजनीतिक यात्राको मूल मन्त्रका रूपमा अघि सार्दै आएका बानियाँले राज्यबाट लिनुभन्दा राज्य र समाजलाई योगदान दिनुपर्छ भन्ने सोचलाई आफ्नो राजनीतिक कर्मसँग जोड्दै आएका छन्।

उनको राजनीतिक दृष्टिकोणमा न्यायमुखी, आयमुखी, गरिबमुखी, विकासमुखी, गाउँमुखी र जनमुखी कार्यक्रममार्फत जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्ने विषय प्रमुख रूपमा देखिन्छ। राजनीति सत्ता प्राप्तिको माध्यम मात्र नभई नागरिकको सुख–दुःखमा साथ दिने सामाजिक जिम्मेवारी भएको उनको धारणा छ।

बानियाँको उम्मेदवारीलाई लामो समयदेखि पार्टी संगठन र जनताबीच सक्रिय रहँदै आएका नेताको केन्द्रीय नेतृत्वमा थप भूमिका खोज्ने प्रयासका रूपमा हेरिएको छ। बागमती प्रदेशको नेतृत्व सम्हालिसकेका बानियाँले अब पार्टीको केन्द्रीय तहमा रहेर संगठनलाई थप सुदृढ बनाउने, युवालाई राजनीतिमा आकर्षित गर्ने र जनतासँग कांग्रेसको सम्बन्ध अझ बलियो बनाउने लक्ष्य अघि सारेका छन्।

“जनताको सेवा नै राजनीतको मूल उद्देश्य हो” भन्ने मान्यतालाई आत्मसात् गर्दै अघि बढेका बानियाँले आफूलाई जनताकै आवाज र अपेक्षासँग जोडेर केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।