काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले आरोपी तीनै जनालाई सफाइ दिएको छ । आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।


ADVERTISEMENT


अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार न्यायाधीश हेमन्त रावलको इजलासले आज आइतबार उक्त फैसला गरेको हो । मागदावी नपुगेकाले तीनै जनाले सफाइ पाएको गिरीले राससलाई जानकारी दिए । फैसलामा भनिएको छ, “उल्लेखित अवस्थाका आधार प्रमाण र सन्दर्भका तथ्ययुक्त वस्तुस्थितिबाट मृतक पुडासैनीले आफू मर्नुभन्दा पहिले व्यक्त गरेको भनाइलाई प्रतिवादीको कार्य व्यवहार आचरण अभिव्यक्तिले सन्निकट सम्बन्ध जनाउने प्रमाण भेटिएन ।”


ADVERTISEMENT

# # #


“घटनास्थल, प्रतिवादीको कार्यका बीच अन्तरसम्बन्ध स्थापित गर्ने प्रमाण कागजहरु संलग्न रहेको पाइएन, भिडियो कथनलाई मात्रै अन्तिम सत्य र अकाट्य प्रमाणको रूपमा ग्रहण गर्न मिलेन”, फैसलामा भनिएको छ । लामिछाने र कँडेलले यसअघि बुझाएको धरौटी रकम पुनरावेदनको म्याद नाघेपछि नियमअनुसार फिर्ता गर्न अदालतको आदेशमा उल्लेख गरिएको छ ।

फैसलाअघि आज पक्ष र विपक्षका तर्फबाट बहस भएको थियो । आज आरोपी तीनै जना अदालतमा उपस्थित भएका थिए । गत साउन २२ गते नारायणगढ बसपार्कमा रहेको कङ्गारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।

पुडासैनीको सोही भिडियो बयानका आधारमा प्रहरीले न्यूज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई साउन ३० गते काठमाडौँबाट पक्राउ गरी चितवन ल्याएर मुद्दा दायर गरेको थियो । सोही क्रममा कार्कीलाई पनि पक्राउ गरिएको थियो ।

भदौ ९ गते न्यायाधीश रावल कै इजलासले लामिछाने र कँडेललाई धरौटीमा र कार्कीलाई सादा तारेखमा रिहा गरेको थियो । लामिछानेलाई रु पाँच लाख र कँडेललाई रु तीन लाख धरौटीमा रिहा गरिएको थियो । जिल्लाको आदेशपछि लामिछाने उच्च अदालत पुग्नुभएको थियो । उच्चले पनि पुडासैनीको आत्महत्या बारेमा जिल्लाकै आदेश सदर गरेको थियो । रासस