सिञ्जा, जुम्ला– प्रसिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्य मूर्ति तीन वर्षपछि फेला परेको छ । मन्दिरबाट चोरिएको करिब १८ किलो चाँदीको दत्तात्रयको मुख्य मूर्ति खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।


ADVERTISEMENT


विसं २०७३ मङ्सिर ११ गते राति मन्दिरबाट मूख्य मूर्तिसहित दर्जनौँ बहुमूल्य मूर्ति चोरिएका थिए । आज बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो । स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा मूर्ति देखेपछि मन्दिर र प्रहरीलाई खबर गरेका थिए।


ADVERTISEMENT

# # #


मूर्ति भेटिएपछि प्रहरी घटनास्थल पुगेको छ । मुचुल्का उठाइसकेपछि मन्दिरमा पुनःस्थापनाका लागि तयारी गरिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्रीले जानकारी दिए। मूर्ति चोरी हुँदा त्यसबेला जुम्लामा आन्दोलन चर्किएको थियो ।

अनुसन्धानका लागि केन्द्रीय प्रहरी जाँच ब्यूरो (सिआइबी) को छानबिन टोली गठन गरे पनि मूर्ति कसले चोरेको हो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन । मूर्ति चोरी भएको केही समयपछि अन्य मूर्तिहरु गुठीचौर गाउँपालिकाको देपालगाउँमा फेला परेका थिए ।

मुख्य मूर्ति भने भेटिएको थिएन । भेटिएको मूर्ति स्थानीयवासीले आजै बाजागाजासहित मन्दिरमा ल्याउने तयारी गरेका छन् ।