काठमाडौँ – शङ्कर लामिछाने प्रतिष्ठानले शङ्कर लामिछानेका कृतिलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन अङ्ग्रेजी र विभिन्न भाषामा अनुवाद गराउने भएको छ । लामिछानेको निबन्धकारिताबारे आज प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनका कृतिको नेपालीमा पुनः मुद्रण तथा वेबसाइट व्यवस्थित गरी पढ्न मिल्ने बनाउनाका साथै अनुवादका शृङ्खला चलाइने जानकारी दिएको छ ।


ADVERTISEMENT


प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले अन्तरराष्ट्रिय नेपाली साहित्य समाजसँग समेत समन्वय गरी लामिछानेका कृतिको विश्वव्यापीकरण गरिने बताए। उनले आगामी चैत ५ गते लामिछानेको जन्मजयन्तीका अवसरमा पुरस्कार वितरण र दया फाउण्डेशनलाई सम्मान गरिने पनि जानकारी दिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा समाजका पूर्वकेन्द्रीय अध्यक्ष मोहन सिटौलाले लामिछानेका चार कृतिको एकीकृत सङ्कलनको पुस्तक लोकार्पण गरे । सङ्कलनमा निबन्धसङ्ग्रह ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’, ‘विम्ब प्रतिबिम्ब’, ‘गोधुली संसार’ र कथासङ्ग्रह ‘गौथलीको गुँड’ समाविष्ट छ । ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ले विसं २०२४ को मदन पुरस्कार प्राप्त गरेको थियो । नेपालमा हाइकु भित्र्याउने श्रेय लामिछानेलाई जान्छ ।

सिटौलाले नेपाली साहित्य र सिर्जना विश्वस्तरमा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै अनुवादमा जोड दिन आग्रह गरे । साहित्यकार प्रमोद प्रधान, महेश पौडेललगायतले लामिछानेलाई नेपाली साहित्यको ‘निबन्ध शिरोमणि’का रुपमा चित्रण गरेका थिए।