काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको काम कारबाहीलाई मुल्याङ्कन गर्ने नयाँ परिपाटीको थालनी गरेको छ ।


ADVERTISEMENT


ट्राफिक प्रहरीका आफ्ना हरेक काम कारबाहीको वस्तुनिष्ठ आधारमा वास्तविक मुल्याङ्क गरी व्यवसायिकता, स्तरियता एवं कार्य सम्पादनमा प्रभावकारीता ल्याउने उद्धेश्य ट्राफिक प्रहरीको परीक्षाको परिपार्टी ल्याएको हो । महाशाखाले सम्पुर्ण इकाइसँग अन्तर इकाइ कार्य सम्पादन परीक्षाको करार सम्झौता गरी ३–३ महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गर्ने व्यबस्थाको शुरुवात गरेको छ ।


ADVERTISEMENT

# # #


ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही तथा गतिबिविधिई विभिन्न चार खण्डमा विभाजन गरी ४०० पुर्णाङ्कका ५० प्रश्न तयार गरि मुल्याङ्कनको आधार बनाएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले जनाएका छन् । जसमध्ये कार्यालय व्यस्थापन, प्रहरी आचरण व्यवहार एवं अनुशासन बापत २५ अंक, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरण बापत २०० अंक विभाजन गरिएको छ । यस्तै सवारी चोरी एवं सवारी दुर्घटना सम्बन्धी अनुसन्धानमा ६० अंक र सिर्जनशील एवं उपलव्धिमूलक कार्य सम्पादन गरे बापत ११५ अंकमा छुट्याइएको एसएसपी ढकालले जानकारी दिए ।

ढकालले भने, ‘कार्य सम्पादन करार सम्झौताले ट्राफिक प्रहरीलाई कामको प्रतिष्पर्धात्मक भावना बोकेर आफ्नो व्यवसायिक उत्तरदायित्व बहन गर्न सक्ने क्षमताको विकास गर्दै कार्य सम्पादनको स्तरलाई अझै प्रभावकारी, पारदर्शी एव जवाफदेही बनाउन महत्वपुर्ण भूमिका खेल्नेछ ।’ अन्तर इकाइ कार्य सम्पादन परीक्षा २०७६ मा कार्यालयको उचित व्यवस्थापन गर्दै विभिन्न ट्राफिक व्यवस्थापनका विभिन्न ५० वटा स्वरुपहरुमा देखाएको कौशलताको मूल्याङ्कन गरेर नम्बर दिने व्यवस्था मिलाइएको छ ।

उत्कृष्ट ट्राफिकलाई पुरस्कार !

ट्राफिक प्रहरीले गरेका हरेक कामको मूल्य तोकेपछि सबै इकाइ प्रमुख र अन्य कर्मचारी स्वतः स्फुर्त रुपमा काम गर्न उत्साहित भैरहने विश्वास गरिएको छ । नागरिकले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा थप सुधारको अनुभूति समेत गर्ने महाशाखाको विश्वास छ।

४०० पुर्णाङ्कको यस प्रतियोगितामा ८० प्रतिशत भन्दा माथि ल्याउने विशिष्ट श्रेणी, ६५–७९.९ प्रतिशत ल्याउनेलाई प्रथम श्रेणी तोकिएको छ । यस्तै ५५–६४.९ प्रतिशत ल्याउनेलाई द्वितीय श्रेणी, ४५–५४.९ प्रतिशत ल्याउनेलाई तृतीय श्रेणी तोकिएको महाशाखाले जनाएको छ । विशिष्ट श्रेणीलाई बढुवामा सहयोग हुने गरी पुरस्कृत गरिने, प्रथम श्रेणी ल्याउनेलाई प्रशंसा पत्र दिइने, दोस्रो हुनेलाई सान्त्वना र तृतीय हुनेलाई थप सुधारको लागी सचेत गराइनेछ ।

करारका दौरान ट्राफिक प्रहरीले भ्रष्टाचार गरेमा, आर्थिक अनियमितता वा त्यस्तै प्रकारको गल्ती गरेमा विभागीय कारबाहीका अतिरिक्त प्राप्त भएको अंकमा २० अंकसम्म घटाइने व्यवस्था पनि गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।