काठमाडौँ – बाग्मती सफाई महाअभियानले ३५० हप्ता पूरा गरेको छ । झण्डै ७वर्ष अघि वि.सं २०७० जेठ ५ गते गुह्यश्वरी मन्दिरको प्रांगणबाट शुरु गरिएको महाअभियानले शनिबार ३५० हप्ता मनाउँदैछ ।


ADVERTISEMENT


उक्त अवसरमा शनिबार विहान ७ः३० वजे देखि १०ः३० बजेसम्म काठमाडौंको त्रिपुरेश्वर (विश्व निकेतन विद्यालय पछाडि) स्थित बाग्मती किनारमा विशेष कायक्रमको आयोजना गरी भव्यरुपमा रुपमा मनाइने बाग्मती सफाई महाअभियानले जनाएको छ । यो राष्ट्रिय अभियान अटुट रुपमा हरेक शनिबार विहान सञ्चालन गरिंदै आएको छ ।


ADVERTISEMENT

# # #


नेपाल सरकारका विभिन्न निकायहरु, सामाजिक/धार्मिक संघ संस्थाहरु तथा बाग्मती सफाइ अभियन्ताहरुको संयुक्त प्रयासमा संचालित अभियानमा देशभरिका सरकारी, गैरसरकारी संस्था, निकाय तथा व्यक्तिहरुको सहभागिता रहँदै आएको छ । अभियानमा विदेशी विशिष्ट व्यक्तित्व, नेपालस्थित विदेशी नियोगका कर्मचारीहरुले पनि सहभागिता जनाउँदै आएका छन् । यो ७ वर्षको अवधिमा बाग्मती नदीमा वर्षौंदेखि थुप्रिएका १२ हजार टन भन्दा बढी फोहर उठाइएको र करीब १० लाखभन्दा बढी स्वयंसेवीहरुले यसमा समय दान गरेको बाग्मती सफाई महाअभियानले जनाएको छ ।

बाग्मीतबाट सुरु भएको अभियान अहिले बाग्मतीका शाखा नदीहरु विष्णुमती, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका विभिन्न स्थान तथा भित्री टोलहरुमा समे विस्तार भएको छ । त्यस्तै उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रमहरु संचालन भइरहेको छ ।

बाग्मती सफाई महाअभियान संचालन हुनथाले पछि बाग्मती नदी क्षेत्रको वातावरणमा सुधार भएको, नदी पहिले भन्दा निकै सफा भएको, विभिन्न स्थानमा हरियाली पार्कको निर्माण भएको आयोजकको भनाई छ । अहिले नदीमा ठोस र तरल विसर्जन गर्ने काम रोकिएको छ भने बालुवा चोरी र नदीको जग्गा अतिक्रमणमा नियन्त्रण भएको छ । नदी किनारका सम्पदाहरुको संरक्षण हुनाका साथै स्थानीयवासीहरुको पहलमा वृक्षरोपण गर्ने, विश्रामस्थल निर्माण गर्ने कार्यहरु पनि अघि बढिरहेका बाग्मती सफाई महाअभियानले बताएको छ ।

बाग्मती सफाइ महाअभियानले ३५० हप्ता पूरा गरेको सन्दर्भमा काठमाडौं महानगरपालिकाको वडा नं ११ को पहलमा वडाबासीहरुलाई सरसफाई कार्यमा उत्प्रेरणा दिइ सक्रिय गराउँने उद्देश्यले विभिन्न कार्यक्रमहरुको घोषणा गर्नेछ । सफाइ महाअभियानले ३५० हप्ता पूरा गरेको अवसरमा उपत्यकाभरका सम्पूर्ण बासिन्दालाई शनिबारको सफाइ अभियानमा सहभागी हुन आग्रह गरिएको छ ।