काठमाडौँ – “हाम्रो चयन उपयुक्त रहेछ । कुनै पनि दलले उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नुभएन”, यो भनाइ हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङको ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आजको बैठकमा नेकपा स्थायी समिति सदस्य एवं सांसद अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्दै उपनेता नेम्वाङले सभाध्यक्षका लागि आफूहरुको चयन उपयुक्त भएको बताएर पार्टीको निर्णय सही भएको स्पष्ट पारे । नेता सापकोटा लामो समयदेखि संसदीय प्रक्रियामा सहभागी रहेको र राजनीतिमा आउनुअघि कुशल शिक्षक समेत रहेकाले सभामुखका लागि उनी उययुक्त पात्र रहेको पूर्व सभामुखसमेत रहेका नेम्वाङको भनाइ थियो ।


ADVERTISEMENT

# # #


‘कञ्चन’ उपनामले चिनिने सापकोटालाई आम मानिसले हेडसरका रूपमा चिन्छन् । राजनीतिमा लाग्नुभन्दा अघि लामो समय शिक्षक हुँदै प्रधानाध्यापकसमेत भएका उनलाई सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक दोलखा, सिन्धुली र रामेछापका धेरैजसोले ‘माड्साप’ वा ‘अग्नि सर’ का रूपमा चिन्छन् ।

धेरैले ‘अग्नि सर’ का रूपमा चिन्ने सापकोटा आज प्रतिनिधिसभाको नयाँ सभामुखका रूपमा निर्वाचित भएका छन्। संविधानसभाबाट जारी भएको संविधानपछि गठन भएको प्रतिनिधिसभाको दोस्रो सभामुखका रूपमा सापकोटाले आफ्नो यात्रा तय गरेका हुन् ।

अग्नि सापकोटा नेकपाको स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन् । सापकोटासँग १५ वर्षको शिक्षण अनुभव र शिक्षक आन्दोलनको अनुभव छ । १० वर्षे जनयुद्धमा नेतृत्वको वरिपरि रहेर खेलेको भुमिका अनि ०६२/०६३ को जनआन्दोलनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेको र शान्ति प्रक्रियापछि दुईपटक मन्त्री बनेको अनुभव पनि सापकोटासँग छ ।

जिल्ला चौतारा ६ कुविण्डे टोलमा धनपति र तिलमायाको कोखबाट सापकोटाको २०१४ साल फागुन २४ गते जन्म भएको हो।

वि.सं. २०३२ सालमा शिक्षक सेवामा प्रवेश गरेका सापकोटाले २०३५ सालबाट राजनीतिमा सक्रिय भएर दुई वर्ष जेल जीवन बिताएका थिए । उनले साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन समेत गरे । समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी २०४४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए।

शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएका सापकोटाले २०४८ सालमा नै संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए। वि.सं. २०५१ सालमा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य  बनेका उनी माओवादी र सरकारबीच भएको दोस्रो वार्ता टोलीका सदस्यसमेत थिए।

वि.सं. २०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत नै थिए। वि.सं. २०६४ (चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचन)मा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित भएका उनी देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार बनेका थिए ।

उनी वि.सं. २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारका सूचना तथा संचार मन्त्री समेत भएका थिए ।  वि.सं २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक क्षेन नं. २ बाटै निर्वाचित उनी तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट विजयी एकमात्र सांसद बनेका थिए ।

उनी २०७३ सालमा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्री समेत भएका थिए ।  २०७४ को निर्वाचनमा भने उनी क्षेत्र नम्बर १ बाट विजयी भएका हुन्।