सविना केसी, भक्तपुर – मध्यपुरथिमि नगरपालिकाभित्र पुरिएका, अरुका नाममा गएका र घाँसे मैदनमा परिणत भएका ऐतिहासिक एवं पुरातात्विक महत्वका पोखरीहरुले पुनःजीवन पाउन थालेका छन् । नगरपालिकाले हरेक वर्ष बजेटमै समावेश गरेर भग्नावशेषमा परिणत भएका र लोप हुन लागेका सम्पदा बचाउने अभियान थालेका कारण त्यस्ता पोखरीे पुरानै स्वरुपमा फर्कंदै छन् ।


ADVERTISEMENT


मध्यपुरथिमि नगरपालिकाकाका प्रमुख मदन सुुन्दर श्रेष्ठले सोधखोज गर्ने जनप्रतिनिधि नभएर हराउँदै गएका, पुरिएका र खेल मैदानमा परिणत भएका ऐतिहासिक पोखरीहरुको नगरपालिकाले संरक्षण थालेको बताए । मध्यपुरथिमि–८ बाडेमा रहेको सयौं वर्ष पुरानो पलेस्वाँ पुखुः (कमल पोखरी) को नगरपालिकाले पुनःनिर्माण कार्य शुरू गरेको हो । पलेस्वाँ पुखुःको सिमाङ्कन गर्ने, पर्खाल निर्माण गर्ने कार्यसँगै आउँदो बिस्केट जात्रामा पानी भर्ने मिल्ने गरी बनाइँदै छ र यसका लागि नगरपालिकाले यस वर्ष १ करोड बजेट छुटाएको छ ।


ADVERTISEMENT

# # #


विसं २०३५ पछि कान्छी पोडेनीको नाममा पोखरीको १५ रोपनी ९ आना क्षेत्रफल जग्गा दर्ता भई विभिन्न व्यक्तिको नाममा बिक्री हुँदै आएको उक्त ऐतिहासिक पोखरीलाई सार्वजनिक पोखरीको रूपमा कायम गर्ने फैसला जिल्ला अदालत भक्तपुरले २०७५ असार २० मा गरेको थियो । नगरपालिकाले उक्त पोखरीको संरक्षण तथा पुनःनिर्माणका लागि करीब ८ करोड लागतको गुरुयोजना बनाएको छ । पोखरीको चारैतिर प्रातःकालीन पदयात्रा गर्न मिल्ने मार्गको निर्माण गरिने छ भने पोखरीको बीचमा कमलको फूलको प्रतिमा तथा महादेवको मन्दिर राखिने छन् । पोखरीमा कमलका फूलहरु फुलाउने, शौचालय, बोटिङ स्थल बनाउने लगायतका योजना गुरुयोजनामा राखिएका छन् ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वको पोखरीलाई नगरपालिकाले मौलिक स्वरूपमा पुनःनिर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । यो कमल पोखरीको फूल र जल लगेर नजीकै रहेको नीलबाराही मन्दिरमा चढाउने वर्षौ पहिलेको परम्परा समेत पोखरी किनबेच पछि रोकिएको थियो । अब त्यो परम्परालाई पनि ब्यूँताइने नगर प्रमुख श्रेष्ठ बताउँछन् ।

त्यसैगरी वर्षौंदेखि पुरिएर खेल मैदान र फोहर फाल्ने थलोको रुपमा परिणत भएको मध्यपुरथिमि नगरपालिका–४ इन्द्रायणी पीठमा रहेको प्रसिद्ध धार्मिक एवं मल्लकालीन विष्णुकुण्डको जीर्णोद्धार नगरपालिकाले सम्पन्न गरेको छ । विसं २०७४ चैतमा यस पोखरीको जीर्णोद्धार गर्न शुरु गरिएको थियो । रु एक करोडको लागतमा जीर्णोद्धार सम्पन्न गरिएपछि नगर प्रमुख श्रेष्ठले पोखरीमा पौडी खेलेर उद्घाटन समेत गरेका थिए ।

थिमिका युवाले विष्णुकुण्ड पोखरीको सरसफाइ एवं जीर्णोद्धार गर्न श्रम शिविर समिति नै निर्माण गरेका थिए । पोखरीलाई अहिले मल्लकालीन स्वरुपमै फर्काएपछि यो क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ । मल्लकालमा निर्माण भएको भनिएको उक्त पोखरीको सरसफाइ एवं संरक्षण नहुँदा पोखरी पुरिनाका साथै विभिन्न झारले जेलिएको थियो । स्थानीय युवाले पोखरीको झार हटाउने, पुरिएको पोखरी सफा गर्ने कार्य गरेका थिए । त्यसपछि नगरपालिकाले पोखरीमा जाने खुट्किला निर्माण गर्यो । भत्किएको पर्खालको दाची अप्पा, माँ अप्पा लगायतका पुराना इँटाको प्रयोग गरेर यसलाई पुरानै स्वरुपमा ल्याउने काम भयो ।

यस कुण्डमा गठेमंगल अर्थात् घण्टा कर्णका दिन बिहान स्नान गरेमा विषम ज्वरो निको हुने तथा बालबालिकालाई स्नान गराए रुञ्चेपना हराउने जनविश्वास रहेको छ । विगतमा मध्यपुरथिमिको पौडी खेल्ने र पौडी सिक्ने यो कुण्ड अहिले ६ फिट गहिरो छ ।

त्यसैगरी, थिमिका बासिन्दाको खेल मैदान बन्न पुगेको मध्यपुरथिमि नगरपालिका–४ मा रहेको ‘निगू पुखुः’ अथवा दुई पोखरीमध्ये एउटा पोखरी अहिले पानीले भरिएको छ । नगरपालिकाले अर्को पोखरीको पनि जीर्णोद्धार शुरु गरिसकेको छ । धेरै वर्षसम्म झार र घाँसले ढोकेका यी पोखरी सरसफाइपछि धेरै वर्षसम्म स्थानीयवासीले धान सुकाउने र अरु समयमा केटाकेटी खेल्ने मैदानको रूपमा प्रयोग हुँदै आएका थिए । अहिले दुई पोखरीले पुनःजीवन पाएसँगै यहाँको मुहार फेरिएको छ । स्थानीयवासीले यो पोखरीको नेवारी नामसमेत भुलिसकेका थिए र यो ठाउँ दुई पोखरीको नामले चिनिन थालिसकेको थियो । विसं २०७६ वैशाख १ गतेका लागि भन्दै नगरपालिकाले दक्षिणतर्फको पोखरी जीर्णोद्धार गरेर पानी भरे पछि ३०० वर्ष पुरानो ऐतिहासिक यो पोखरीले पुनःजीवन पाएको नगरप्रमुख श्रेष्ठ बताउँछन्। करीब ३०० वर्ष पहिले गङ्गा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुरथिमिवासीलाई पानीको स्रोत उपलब्ध गराइदिएको जनश्रुति छ ।

अब अर्को पोखरी पनि आउँदो बिस्केट जात्रासम्म जीर्णोद्धार सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । नगर प्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले दुई पोखरी पुनःनिर्माणका लागि रु १५ करोडको लागत अनुमान तयार गरेको थियो । दुई पोखरीको मल्लकालीन शैलीमा जीर्णोद्धार, पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्ग, आठ वटा परम्परागत फल्चा अथवा पाटी समेत निर्माण गर्ने नगरपालिकाको लक्ष्य छ ।

स्थानीयवासीका अनुसार राजा महेन्द्र विसं २०१५ मा भक्तपुर आउँदा राजालाई स्वागत गर्न दुई पोखरीको पानी निकालेर मैदान बनाएदेखि पोखरी मैदानमा परिणत भएको हो । विसं २०६५ मा नगरपालिकाले फलामे बार लगाएर संरक्षणको प्रयास गरेको थियो । स्थानीयवासीका लागि पानीको स्रोत र कतै आगलागी भएमा सोही पोखरीको पानी प्रयोग गर्न मिल्ने गरी ठूला दुई वटा पोखरी बनाइएको स्थानीयवासी विश्वास गर्छन् । पोखरी जीर्णोद्धार गर्दा पानी नसुकोस् भनेर पोखरी निर्माणको क्रममा पिँधमा कालोमाटो ६ इञ्च, त्यसमाथि तीन इञ्च पाँगोमाटो र त्यसमाथि फेरि ६ इञ्च कालोमाटो राखेर त्यसमाथि इँटा ओछ्याइएको छ । परम्परागत शैलीमा डाँची अप्पा, मा अप्पा इँटाको प्रयोग गरी पोखरी पुनःनिर्माण गरिएको छ ।

निगू पुखुः संरक्षणमा नगरपालिकाले आव २०७५/७६ मा रु ६० लाख खर्चेको थियो भने उत्तरतर्फको ठूलो पोखरीको संरक्षण एवं पुनःनिर्माणका लागि चालु आव २०७६/७७ मा रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । दक्षिणतर्फको पोखरीभन्दा दुई गुणा ठूलो रहेको उत्तरतर्फको पोखरी संरक्षण एवं जीर्णोद्वारका लागि बागमती प्रदेश सरकारले थप रु ४५ लाख बजेट विनियोजन गरेको छ ।

ठूलो पोखरीमा पुनःनिर्माण सम्पन्न गरेर पानी भरेपछि डुङ्गा चलाउने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने सोच राखिएको छ । आकाशे पानीलाई प्रशोधन गरी दुई पोखरीमा पानी भर्ने नगरपालिकाको योजना छ । मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने काम हुन्छ । रासस