रामचन्द्र पाण्डे, काठमाडौँ – सन् २०१८ मा ऐतिहासिक एकदिवसीय मान्यता पाएको नेपालले पहिलो पटक घरेलू मैदानमा एकदिवसीय खेल खेल्दैछ । नेपालसहित अमेरिका र ओमान सम्मिलित एकदिवसीय सिरिज माघ २२ (बुधबार)देखि २९ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को आयोजनामा हुने प्रतियोगिता ‘विश्वकप क्रिकेट लिग २’ ले एकदिवसीय मान्यता पार्एको झण्डै दुई वर्षपछि नेपाललाई घरेलू मैदानमा एकदिवसीय सिरिज खेल्ने अवसर जुराइदिएको छ । सिरिजमा प्रत्येकट टिमले अर्को टिमसँग दुई–दुई एकदिवसीय खेल खेल्नेछन् ।


ADVERTISEMENT

# # #


सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप प्रवेशको रोडम्यापका रुपमा रहेको ‘लिग २’ मा नेपाल स्कटल्याण्ड, युएई, नामिबिया, पपुवा न्यूगिनी, अमेरिका र ओमान रहेका छन् । तीन वर्षसम्म चल्ने प्रतियोगितामा प्रत्येक टिमले कम्तीमा ३६ वटा एक दिवसीय खेल खेल्नेछन् । त्यही अन्तर्गत नेपालले सिरिज आयोजना गर्दैछ ।

सन् २०१९ को मध्यदेखि सुरु भएको प्रतियोगितामा अमेरिका ८ खेलमा ६ जितसहित अंक तालिको शीर्ष स्थानमा रहेको छ । यस्तै ओमान ६ खेलमा ४ जितसहित तेस्रो स्थानमा रहेको छ । नेपालले भने प्रतियोगिताको सुरुवात बुधबार बुधबार ओमानविरुद्ध आफ्नै मैदानमा खेलेर गर्दैछ ।

उक्त सिरिजका लागि यहाँ ती ६ नेपाली खेलाडीको चर्चा गरिएको छ, जसले त्रिकोणात्मक सिरिज जुनसुकैबेला नेपालतिर ढल्काउने क्षमता राख्छन् :

१. पारस खड्का (अलराउन्डर)

पूर्व कप्तान पारस खड्का नेपालको ब्याटिङ महत्वपूर्ण खम्बा हुन् । पारसको ब्याट चल्दा नेपालले हारेको कमै खेलमात्रै छन् । गत वर्ष युएईमा भएको एकदिवसीय सिरिजमा नेपालका लागि पहिलो एकदिवसीय शतक हानेका पारसले गत अक्टोबरमा सिंगापुरमा भएको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा शतक हानेका थिए । टी–२० र एकदिवसीयमा शतक हान्ने उनी एक्ला नेपाली खेलाडी हुन् ।

३२ वर्षीय अलराउन्डर पारसले ६ वटा एकदिवसीय खेलमा एक शतक र एक अर्धशतकसहित २३५ रन बनाएउनुका साथै ९ विकेट लिएका छन् । यस्तै उनले ४० लिस्ट एक खेलमा ३ शतक र ९ अर्धशतकसहित १ हजार ४१७ रन र २६ विकेट आफ्नो नाममा लेखाएका छन् । १५ वटा टी–२० अन्तर्राष्ट्रियमा पारसले एक शतक र ३ अर्धशतकसहित ७७४ रन प्रहार गर्दै दुई विकेट लिएका छन् । उनको व्यक्तिगत उच्च स्कोर ११५ हो । जुन उनले एकदिवसीय र लिस्टमा हानेका थिए ।

१० वर्षसम्म नेपाली क्रिटेट टिमको नेतृत्व गरेका पारसले केही महिनाअघि मात्रै कप्तानबाट राजीनामा दिएका थिए । पारसबाट टिममात्रै होइन, दर्शकले समेत ठूलो अपेक्षा गरेका छन् । पारस चल्ने हो भने अमेरिका र ओमानविरुद्धको सिरिजमा नेपालले सकारात्मक नतिजा ल्याउन सक्छ ।

२. सन्दीप लामिछाने (बलर)

यदि कुनै नेपाली खेलाडी विश्व क्रिकेटमा चर्चाको शिखरमा छ भने त्यो नाम हो, सन्दीप लामिछाने । इण्डियन प्रिमियर लिग (आइपीएल) अष्ट्रेलियाको प्रतिष्ठित बिगबास लिग, क्यारेबियन लिग, बंगलादेश प्रिमियर लिग (बीपीएल) लगायत विश्वका ठूला लिगमा समेत सनसनी मच्चाइसकेका १९ वर्षीय सन्दीप नेपालका सफल लेग स्पिनर मानिन्छन् ।

भेट्रान स्पिनरद्वय शक्ति गौचनको सन्यास र वसन्त रेग्मीको सिरिजमा अनुपस्थितिका कारण नेपाली टिमको स्पिन विभागको नेतृत्व सन्दीपका काँधमा आइपरेको छ । उनले आफ्नो व्यक्तिगत प्रदर्शनमात्र नभई चर्चित लिगहरुमा बटुलेको अनुभव बाँडेर आफ्ना स्पिन बलर ललित राजवंशी र सुसन भारीलाई मजबुत बनाउनु पर्नेछ ।

६ वटा एक दिवसीय खेल खेलेका सन्दीपले १५ विकेट लिएका छन् । यस्तै लिस्ट ए मान्यताका २७ खेलमा ५७ उनले विकेट झारिसकेका छन् । चर्चित लिगहरूमा विश्वस्तरीय खेलाडीसँग खेलको अनुभव बटुलेका सन्दीप सिरिजमा अमेरिका र ओमानका ब्याट्समेनका लागि सबैभन्दा घातक सावित हुन सक्छन् ।

३. ज्ञानेन्द्र मल्ल (ब्याट्सम्यान)

एक दशकसम्म नेपाली क्रिकेट टिमको उपकप्तानी गरेका ज्ञानेन्द्र मल्ल पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपालको नयाँ कप्तान बनेका छन् । नेपालले पहिलो पटक आफ्नै मैदानमा एक दिवसीय सिरिज खेल्दा कप्तान मल्ल्को काँधमा निकै जिम्मेवारी हुनेछ ।

नेपालकै टेक्निकल ब्याट्सम्यानका रुपमा चिनिने ज्ञानेन्द्रको ब्याट केही वर्षदेखि सुनसान थियो । तर, पछिल्ला समयदेखि उनले लयमा पुनरागमन गरेका छन् । गत डिसेम्बरमा काठमाडौँमा भएको १३ औँ दक्षिण एशियाली खेलकुदमा भुटानविरुद्ध शतक प्रहार गरेका उनले केही हप्ता अघि पोखरामा मलेसियासँगको अभ्यास खेलमा पनि अर्धशतक बनाएका थिए । यसले उनी लयमा फर्किँदै गरेको संकेत गर्छ ।

२९ वर्षीय दायाँ हाते ओपिनिङ ब्याट्सम्यान ज्ञानेन्द्रले ६ एकदिवसीय खेलमा एक अर्धशतकसहित १४३ रन बनाएका छन् । यस्तै उनले ४३ लिस्ट ए खेलमा ५ अर्धशतकसहित १ हजार ६९ रन हानेका छन् भने २४ टी–२० अन्तर्राष्ट्रियमा एक शतक र एक अर्धशतकसहित ४८२ रन हानेका छन् ।

केही वर्षदेखि नेपाली टमको ओपिनिङ गर्दै आएका ज्ञानेन्द्रले यो सिरिजमा पनि ओपिनिङ गर्दैछन् । एउटा ओपनरका रुपमा घरेलू मैदानको फाइदा उठाउँदै टिमलाई उत्कृष्ट सुरुवात दिलाउनका लागि उनको कप्तानी पारीको विकल्प छैन ।

४. दीपेन्द्र सिंह ऐरी (अलराउण्डर)

नेपाली क्रिकेटका भावी कप्तानका रुपमा हेरिएका २० वर्षीय युवा खेलाडी दीपेन्द्र सिंह ऐरी अहिले नेपाली टिमको उपकप्तान बनेका छन् । सबै क्रिकेट प्रशंसकको रोजाईमा रहेका दीपेन्द्रसिंहसामू त्रिकोणात्मक सिरिजमा कप्तान ज्ञानेन्द्रसँग पारस खड्का ओपिनिङमा आएमा मिडिल अर्डर धान्ने जिम्मेवारी रहेको छ ।

दीपेन्द्रले सन् २०१८ को विश्वकप छनोटमा पपुवा न्यूगिनीयिवरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई पहिलो पटक एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उक्त खेलमा उनले सन्दीपसंग मिलेर पपूवा न्यूगिनीको ब्याटिङ ध्वस्त पार्ने क्रममा मात्र ४.२ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिएका थिए । यस्तै अर्को इनिङमा ५८ बलमा ५० रनको अविजित अर्धशतकीय पारी खेल्दै नेपाललाई ऐतिहासिक जित दिलाएका थिए ।

दीपेन्द्रले सिनियर टिमबाट ६ एक दिवसीय खेलमा १०८ रनका साथै एक विकेट लिएका छन्  । लिष्ट ए को २४ खेल खेलेका उनले २ अर्धशतक बनाउँदै ४८६ रन बनाएका छन् भने ८ विकेट लिएका छन् । उनको उच्च स्कोर ६२ रन रहेको छ ।  बलिङमा पनि उत्तिकै सशक्त प्रदर्शन गर्ने दीपेन्द्र नेपालको उत्कृष्ट फिल्डरमा पर्छन् ।

५. आरिफ शेख (ब्याट्सम्यान)

पछिल्लो समय केही प्रतियोगितामा टिम बाहिर रहेका आरिफले नेपाली टिममा शानदार पुनरागमन गरेका छन् । त्रिकोणात्मक सिरिजमा पूर्वकप्तान पारस खड्काले ओपिनिङ गरेमा आरिफ पासरको स्थान (तेस्रो नम्बर)मा ब्याटिङमा आउने छन् । उनीसामू तेस्रोनम्बरमा पारसको अभाव खड्किन नदिने चनौति रहेको छ ।

हालै पोखरामा मलेसियाको राष्ट्रिय टिमसँगको अभ्यास खेलमा शतक हानेका आरिफ अहिले आफ्नो जीवनकै उच्च लयमा रहेका छन् । घरेलू प्रतियोगितामा पनि राम्रै प्रदर्शन गर्दै आएका आरिफले आफ्नो लयलाई कायम राखेमा उनी नेपालको जितमा नायक बन्नक्छन् ।

आरिफले नेपाली सिनियर टिमबाट २६ वटा लिष्ट ए को खेल खेलेका उनले १ अर्धशतक ३९७ रन बनाएका छन् । यस्तै उनले ६ एकदिवसीय खेलमा ९४ रन बनाएका छन् ।ब्याटिङ धर्मराएका बेला निकै सम्हालिएको प्रदर्शन गर्दै आरिफले कयौँ पटक नेपाललाई जिततर्फ डोर्याएका छन् । २२ वर्षीय दायाँहाते ब्याटिङ अलराउन्डर आरिफ नेपाली ब्याटिङको भविष्य हुन् ।

६. करण केसी (बलिङ अलराउन्डर)

नेपाली क्रिकेटमा करण केसी भन्ने बित्तिकै सन् २०१८ मा नामिबियामा भएको एउटा खेलको याद आउँछ । डिभिजन २ अन्तर्गत क्यानडाविरुद्धको खेल । उनले उक्त खेलमा अन्तिम विकेटका लागि सन्दीप लामिछानेसँग मिलेर अर्धशतकीय पारी खेल्दै ‘गर या मर’को अवस्थामा रहेको नेपाली टिमलाई एकदिवसीय विश्वकपको छनोटमा पुर्याएका थिए ।

त्यही खेलपछि करणले आफू टिम संकटमा परेकाबेला ब्याटिङ पनि गर्नसक्छु भन्ने सन्देशका साथ आफूलाई एक विष्फोटक अलराउन्डरका रुपमा चिनाएका छन् । नेपाली टिमका तीव्र गतिका मुख्य बलर सोमपाल कामी चोटका कारण टिममा छैनन् । यो अस्थामा करणले नेपाली तीव्र गतिको बलिङको नेतृत्व गर्नुपर्नेछ । त्यसका उनलाई खरो उत्रिने चुनौति रहेको छ । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा निकै उत्कृष्ट प्रर्दशन गर्दै आएका करण त्यो लयलाई निरन्ताता दिने लक्ष्यमा रहेका छन् ।

करणले नेपालबाट ५ एकदिवसीय खेलमा २१ रनका साथै ५ विकेट लिएका छन् भने २७ लिस्ट ए खेलमा १४१ रनका साथै २९ विकेट आफ्ना नाममा लेखाएका छन् । २५ टी–२० अन्तर्राष्ट्रियमा उनले ३३ विकेट र १७३ रन बनाएका छन् । हालै पोखरामा सम्पन्न पोखरा प्रिमियर लिगमा उत्कृष्ट बरलको अवार्ड जितेका करण त्यही मनोबलका साथ मैदानमा उत्रिनेछन् ।

नेपाली टिम
‍ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, मोहमद आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहरा,कुशल मल्ल, कमलसिंह ऐरी, सुसन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर र ललितनारायण राजवंशी ।

खेल तालिका
माघ २२ – नेपालविरुद्ध ओमान
माघ २३ – ओमानविरुद्ध अमेरिका
माघ २५ – नेपालविरुद्ध अमेरिका
माघ २६ – नेपालविरुद्ध ओमान
माघ २८ – अमेरिकाविरुद्ध ओमान
माघ २९ – नेपालविरुद्ध अमेरिका