काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेको छ । सो पार्टीका सांसदको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो ।


ADVERTISEMENT


बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर काँग्रेसका सचेतक पुष्पा भुसालले तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र सचिवलाई भ्रष्टाचारको आरोपमा मुद्दा दयार गरिएको तर केही राजनीतिक र प्रशासनिक नेतृत्वलाई बचाइएको भनी आपत्ति जनाइन् । आयोगले बुधबार सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा आरोपपत्र दायर गरेको थियो ।


ADVERTISEMENT

# # #


नेत्री भुसालले भनिन्, “राज्यले सबै निकायलाई आफ्नो प्रभाव र नियन्त्रणमा लिन खोजेको छ । यसैको उदाहरणका रुपमा अख्तियारले निर्णय गरेको छ । कसैलाई पाखा र कसैलाई पाखा गरिएको छ । त्यस कारण उसमा राजनीतिक बदनियत देखिएको छ । संवैधानिक अङ्गहरु राजनीतिक प्रभावमा परेर राजनीतिक प्रतिशोध साँध्नु हुँदैन । हामीले यसैका लागि गणतन्त्र र समावेशी संविधान ल्याएको हो ?”

वैचारिक आस्थाका आधारमा एउटा मन्त्री भएको कारणले प्रतिपक्षी दलको नेतालाई विभेदकारी ढंगबाट प्रतिशोधका आधारमा मुद्दा दायर भएको भन्दै उनले यसको जिम्मेवारी पूर्णरुपमा सरकारले लिनुपर्ने कांग्रेसको ठहर रहेको बताईन् । ‘नेपाली कांग्रेसका नेता माननीय विजयकुमार गच्छदारलाई ४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनापश्चात नेपाली जनताले अत्यन्तै ठूलो मतका साथ आफ्नो नेतालाई स्वीकार गरेर संसदमा पठाएको कुरा पनि स्मरण गर्न जरुरी छ ।’ उनले भनिन्, ‘त्यो मतको सम्मान गर्न पनि जरुरी छ । प्रजातन्त्रको लागि लड्दै आएको एउटा नेतालाई आज राजनीतिक पूर्वाग्रहको आधारमा, राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गर्न मिल्छ ?’

भुसालले ‘उक्त प्रकरणमा देखाइएको भेदभाव’को विरोधमा आज बैठकको कारवाही चल्न नसक्ने भनेपछि सो दलका सांसद् उभिएका थिए । सभामुख अग्निप्रसाद सापाकोटाले काँग्रेसका तर्फबाट आएको धारणातर्फ सम्बन्धित निकायको ध्यान गएको होला भन्दै संसद्ले धेरै विधेयक अगाडि बढाउनुपर्ने भएकाले बसिदिन र सदन सञ्चालनका लागि सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि अवरोध जारी रहेपछि सभामुखले बैठक स्थगन गरे ।

प्रमुख प्रतिपक्षीले अवरोध गरेको स्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख सापकोटाले यही माघ २४ गते शुक्रबार अपराह्न १ बजेसम्मका लागि बैठक स्थगन गरेका छन् ।