तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनाल ‘घाँसी बाजे’ को नामबाट परिचित छन् । ७० वर्ष उमेर पूरा भइसकेका उनले घाँस खेतीबाटै दामसँगै नाम पनि कमाएका छन् । उनलाई चिन्नेहरु तनहुँमा मात्रै होइनन्, देशभर छन् । उनलाई सबैले ‘घाँसी बाजे’ को नामबाट बोलाउने गर्दछन् ।


ADVERTISEMENT


खनालले घाँस बिक्रीबाटै वार्षिक लाखौँ आम्दानी गरिरहेका छन्। खनालले यो वर्ष करिब रु २५ लाखको घाँस बिक्री गर्ने लक्ष्य राखेका छन्। यो वर्षको वर्षायाममा खनालले रु नौ÷दश लाखको घाँस बिक्री गरिसकेका छन् भने अझै रु १५ लाखको घाँस बिक्री हुने क्रममा रहेको खनालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


“झण्डै रु दश लाखको घाँस बिक्री भइसक्यो, अझै रु १५ लाखको घाँस बिक्री हुने अनुमान छ”, खनालले भने, “घाँस किन्नका लागि तनहुँका विभिन्न ठाउँका अलवा, स्याङ्जा, सिन्धुली, गोरखाबाट पनि सम्पर्क गरिरहेका छन् ।” खनालले गत जेठ महिनामा सल्यानबाट बीउ ल्याएर रोपेको सुपर नेपियरको बेर्ना मात्रै रु पाँच लाखको बिक्री गरिसकेका छन् । खनालका अनुसार सुपर नेपियरको बेर्ना दुई वटा आख्लाको रु १० मा बिक्री भइरहेको छ ।

विसं २०५४ देखि घाँसखेती शुरु गरे र उनी बिहानै ७ बजेदेखि साँझ ६÷७ बजेसम्म बारीमै काम गरिरहेको अवस्थामा भेटिन्छन्। घाँसखेतीबाटै खनालले दामसँगै नाम पनि कमाउन सफल भएका छन् । कुनै समय वर्षभरिको कमाइले चार महिना पनि खानलाई धौ–धौ पर्ने खनालको आफ्नो सम्पत्तिको नाउँमा ३८ रोपनी पाखो जग्गा थियो । थप ३२ रोपनी जग्गा भाडामा लिएर कूल ७० रोपनी क्षेत्रफलमा खनालले घाँसखेती गरेका छन्।

अछाम, डडेलधुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुर, डोटी, कास्की, चितवन, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दीलगायतका ठाउँका कृषकले खनालले उत्पादन गरेको घाँस विस्तार गरिसकेका छन् । खनालले ७० रोपनी क्षेत्रफलमा राइखनियो, बडहर, बकाइनो, टाकी, कोइरालो, चिउरी, सियोफोर, सम्बा सेटारिया, पास पालम, पलाटोलगायतका घाँसखेती गरिरहेका छन् । भाडामा लिइएको ३२ रोपनी जग्गामध्ये खेतको प्रतिरोपनी रु तीन हजार र पाखो बारीको प्रतिरोपनी रु दुई हजार वार्षिक भाडा तिर्ने खनालले बताए ।

खनालले घाँसखेतीबाट आम्दानी भएको रकमले भ्यानसमेत खरिद गरेका छन् । पोखरा, बागलुङ, स्याङ्जालगायतका ठाउँबाट घाँसको माग भएको बेला ढुवानीको समेत व्यवस्था मिलाइएको छ । खनालले भने, “देशमा रोजगारी नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा मैले छोरालाई समेत यही व्यवसायमा सहभागी गराएको छु, आफ्नै ठाउँमा पौरख गरे विदेशिनुपर्दैन ।”

जिल्ला पशुसेवा कार्यालय तनहुँका तत्कालीन पशुसेवा प्राविधिक रेवतराज शाहको परामर्श र सहयोगमा विसं २०५४ सालमा पशुसेवा फर्म पोखरामा एक हप्ते तालीममा भाग लिने अवसर पाएपछि खनाल आफ्नो खाली पाखोलाई घाँसे बगैँचाको रुपमा परिणत गर्ने प्रतिबद्धताका साथ लागि परेका थिए । एक हप्ते घाँस बाली तालीमबाट घर फर्कदा तीन वटा नेपियरको बेर्ना ल्याई घाँसखेती शुरु गरेका उनको पाखो बारी अहिले हरियाली नर्सरीको रुपमा परिणत भएको छ ।

जिल्ला पशुसेवा कार्यालय तनहुँले खनाललाई तालीममा सहभागी छनोट गरी पशु सेवा फार्म पोखरा पठाउनाले र उनको आफ्नै अथक मेहनत र परिश्रमले गर्दा उनी आज जिल्लामा मात्रै नभई देशभर प्रख्यात भ्रएका छन् । रासस