चितवन – कारागार कार्यालय चितवनमा रहेका कैदी तथा बन्दीले रङ्गशाला निर्माणका लागि रु एक लाख ११ हजार १११ सहयोग गरेका छन् । कैदीबन्दीले जिल्ला प्रशासन कार्यालयमार्फत भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सो रकम सहयोग गरेका हुन् ।


ADVERTISEMENT


रङ्गशाला निर्माणका लागि जारी महायज्ञमा सो रकम प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको हो । कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार रङ्गशाला निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले कैदीबन्दीले सिदाको रकमबाट बचाएर रङ्गशालालाई सहयोग गरेका हुन् । अहिले कारागारमा ५४ महिला, चार आश्रित बालबालिका र ६७३ जना पुरुष रहेका छन् । तीमध्ये महिला, बिरामी र अशक्त कैदीबन्दीबाहेक अन्यले सो रकम सङ्कलन गरी रङ्गशाला निर्माणका लागि सहयोग गरेको काफ्लेले बताए।


ADVERTISEMENT

# # #


धुर्मुश सुन्तली फाउन्डेशनको अगुवाइमा निर्माण भइरहेको रङ्गशाला निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यले माघ १९ गतेदेखि महायज्ञ शुरु गरिएको छ । करीब रु दुई अर्ब ५० करोडको लागतमा निर्माण गर्न लागिएको सो रङ्गशालाका लागि हालसम्म महायज्ञबाट रु छ करोड ८८ लाख सङ्कलन भएको छ ।