काठमाडौँ – तीस वर्ष सेवा अवधि पुरा गरी सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल लगायतका प्रहरी वरिष्ठ पदाधिकारीको विदाई गरिएको छ ।


ADVERTISEMENT


मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहका बीच प्रहरी अतिरिक्त महानिरीक्षकहरु (एआइजी) तथा प्रहरी नायव महानिरीक्षक (एआइजी)हरुलाई विदाइ गरिएको हो । उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले फूलमाला लगाई हार्दिक बिदाइ गरेका हुन् ।


ADVERTISEMENT

# # #


विदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक विश्राम लिई निवृत्त हुन लाग्दा प्रहरी कार्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गरे । उनले आफ्नो कार्यकालमा १० बुँदे सांगठनिक प्राथमिकता तय गरी कार्यान्वयनमा ल्याएको, समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत ७ सय ५३ स्थानीय तहसँग सम्झौता गरेको र यस कार्यक्रमलाई राष्ट्रिय योजना आयोगले ‘गेम चेन्जर प्रोजेक्ट’ का रुपमा परिभाषित गरेको बताए ।

यस्तै भ्रष्टाचार विरुद्ध अभियान संचालन गरेको, विगत २ वर्षदेखि बेरुजु फर्छौटमा गृह प्रशासन अन्तर्गतका कार्यालयहरुमध्ये सर्वोत्कृष्ट ठहर भई पुरष्कृत भएको, १ सय ५८ वटा प्रहरी कार्यालय भवन निर्माण सम्पन्न तथा १ सय २२ निर्माणाधिन लगायतका काम भएको चर्चा गगरे । अन्तर्राष्ट्रिय क्षेत्रीय आतंकवाद र संगठित अपराध रोक्न कतारी प्रहरीसँग सम्झौता, विदेश फरार रहेका नेपाली अपराधीलाई ईन्टरपोलको सहायतामा फिर्ता ल्याएको उल्लेख गर्दै उनले नेपालको शान्ति सुरक्षाको स्थिति मजबुत हुँदै गएको एक स्वतन्त्र अध्ययन प्रतिवेदनले देखाएको बताए ।

नेपालमा आयोजना भएका अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको छवि उँचो बनाएको उनले उल्लेख गरे । महानिरीक्षक खनालले संगठनमा हरेक कुरामा प्रणालीको विकास गरी सांगठनिक क्रियाकलापहरु स्थापित प्रणाली बमोजिम संचालन गर्ने, सामुहिक निर्णय गर्ने अभ्यासलाई संस्थागत गर्ने, संगठनका कार्यलाई पारदर्शी बनाउने काम गरेको बताए । यस्तै उनले सही मूल्याङ्कन पद्धतिको विकास गर्ने तथा कर्मचारीको बृत्ति विकास गर्ने कुरामा जोड दिई हरेक सदस्यहरुमा संगठनप्रति अपनत्व र एक आपसमा भाइचाराको भावना बढाउने कुरामा प्राथमिकतामा राखेर आफूले काम गरेको सुनाए ।

अबको नेतृत्व ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा प्रहरी संगठनलाई थप नयाँ उचाई दिने विश्वास उनले व्यक्त गरे। संगठनमा देखिएका बाह्य तथा आन्तरिक चुनौतिहरुलाई चिर्दै जानुपर्ने सुझाव दिंदै प्रहरी महानिरीक्षक खनालले संगठनको यश वृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक प्रहरी कर्मचारीले समेत सहयोग गर्नुपर्नेमा जोड दिए ।

.समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले सेवानिवृत्त हुन लागेकाका वरिष्ठ प्रहरी अधिकृतले राष्ट्र, जनता र संगठनप्रति पुर्‍याएको योगदानका लागि कृतज्ञता व्यक्त गरे । प्रहरी महानिरीक्षक खनालको व्यावसायिक इमानदारिता, निर्भिकता, नेतृत्व क्षमता र सादा जीवनबारे प्रहरी कर्मचारीहरु स्पष्ट रहेको उल्लेख गर्दै उनले प्रहरीको व्यावसायिक जीवनमा उनको कार्यशैली र निष्ठा अनुकरणीय रहेको चर्चा गरे। उनले महानिरीक्षक खनालले ल्याएका कार्यक्रमको निरन्तरता दिँदै तिनका नयाँ आयामहरु पहिचान गरेर कार्यान्वयन गर्ने उल्लेख गरे ।

प्रहरी महानिरीक्षक खनालसँगै सेवानिबृत्त हुन लागेका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु (एआइजी) पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत तथा प्रहरी नायव महानिरीक्षकहरु (डीआइजी) मनोज न्यौपाने, सुरेश बिक्रम शाह, केदार रिजाल रहेको छन् । यस्तै डीआइजी शेर बहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, कमल बहादुर जिटी, महेन्द्र कुमार पोखरेल, दान सिंह बोहोरा, राम प्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, पूर्ण चन्द्र जोशी, हरिभक्त प्रजापति र राजेन्द्र मान श्रेष्ठ पनि सेवा निवृत्त भएका छन् ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले उनीहरुलाई हार्दिक बिदाइ गरेका थिए ।