काठमाडौँ – थाइल्याण्डमा हुने एशियन क्रिकेट काउन्सिल (एसीसी) इस्टर्न रिजन टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसीसीले यही फेब्रुअरी २९ देखि सुरु हुनेगरी मंगलबार खेल तालिका सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


यसअघि फेब्रुअरी २८ देखि हुने भनिएको प्रतियोगितामा चीन, भुटान र म्यान्मारले विशेष कारण देखाउँदै नाम फिर्ता लिएपछि नयाँ मिति सार्वजनिक गरिएको हो । अब प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, सिंगापुर र मलेसिया गरी पाँच टिम भिड्ने भएका छन् । सबै खेल थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीको मैदानमा हुनेछन् ।


ADVERTISEMENT

# # #


सार्वजनिक तालिकामा नेपालको पहिलो खेल २९ तारिखमा मलेसियामा हुनेछ । यस्तै दोस्रो खेलमा नेपालले हङकङ, तेस्रो खेलमा थाइल्याण्ड र अन्तिम खेलमा सिंगापुरसंग खेल्नेछ ।

राउन्ड रोबिनमा चल्ने प्रतियोगिताको उत्कृष्ट दुई टिमले एशिया कपको फाइनल छनोट खेल्नेछन् । चार टिम सहभागी हुने त्यस प्रतियोगितामा दुई टिम पश्चिम क्षेत्रबाट आउनेछन् । पश्चिम क्षेत्रमा बहराइन, इरान, माल्दिभ्स, कुवेत, ओमान, कतार, साउदी अरेबिया र युएई रहेका छन् ।

एशिया कप फाइनल छनोटको विजेता टोली यही वर्ष पाकिस्तानमा हुने टी–२० एशिया कपका लागि छानिनेछ । जहाँ टेस्ट राष्ट्रहरु पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश र अफगानिस्तान हुनेछन् ।

इस्टर्न रिजनका लागि नेपाली टोली अहिले त्रिवि क्रिकेट मैदानमा अभ्यास गर्दैछ । नेपाली टिमलाई जगत टमाटाले प्रमुख प्रशिक्षकत्व दिइरहेका छन् ।

यसअघिका मुख्य प्रशिक्षक भारतका उमेश पटवालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीमा करार सकिनु ४ महिना अगाडि नै राजीनामा दिएपछि नेपाल क्रिकेट संघ क्यानले तत्कालका लागि टमाटालाई अन्तरिम मुख्य प्रशिक्षकका रुपमा जिम्मा दिएको हो ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
पारस खड्का
सन्दीप लामिछाने
आरिफ शेख
विनोद भण्डारी
करण केसी
अविनाश बोहरा
कुशल मल्ल
भुवन कार्की
सुसन भारी
पवन सरार्फ
सन्दीप जोरा
किशोर महतो

नेपालको खेल तालिका

२९ फेब्रुअरीमा मलेसियाविरुद्ध
१ मार्चमा हङकङविरुद्ध
४ मार्चमा थाइल्याण्डविरुद्ध
६ मार्चमा सिंगापुरविरुद्ध