काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीको संगठनात्मक पुनर्संरचनादेखि आर्थिक रूपान्तरण, युवा नेतृत्व, डिजिटल प्रविधि, सुशासन र राष्ट्रिय हितकेन्द्रित विदेश नीतिसम्म समेटिएको १५ बुँदे एजेन्डा अघि सारेका छन् । महरको प्रस्तावित एजेन्डाले परम्परागत राजनीतिक संगठनलाई समयअनुकूल बनाउँदै कांग्रेसलाई अझ व्यवस्थित, प्रविधिमैत्री, अनुसन्धानमा आधारित र जनमुखी पार्टीका रूपमा रूपान्तरण गर्ने लक्ष्य अघि सारेको देखिन्छ।
घोषणापत्रमा पार्टीभित्रको आन्तरिक एकता र लोकतान्त्रिक संस्कारदेखि राज्य सञ्चालन, आर्थिक नीति र नागरिकको गुणस्तरीय जीवनसम्मका विषयलाई प्राथमिकतामा राखिएको छ । संगठन सुदृढीकरणदेखि पुस्तान्तरणसम्म महारले आफ्नो पहिलो प्राथमिकताका रूपमा कोष ? होइन, कांग्रेसभित्रको एकता, आन्तरिक सद्भाव र लोकतान्त्रिक संस्कारलाई बलियो बनाउँदै सुदृढ संगठन र प्रभावकारी कार्यशैली निर्माण गर्ने विषय अघि सारेका छन् ।
उनको एजेन्डामा आवधिक नेतृत्व, स्पष्ट जिम्मेवारी र कार्यसम्पादनको मूल्याङ्कनसहित पुस्तान्तरणलाई विशेष महत्व दिइएको छ । ‘एक व्यक्ति, एक पद र दुई कार्यकाल मात्र’को अवधारणामार्फत पार्टीभित्र नेतृत्व विकास र जिम्मेवारी हस्तान्तरणलाई संस्थागत गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी क्रियाशील सदस्यतालाई मापदण्ड र प्रशिक्षणमा आधारित बनाउँदै राजनीतिक तथा वैचारिक ज्ञानसँगै डिजिटल र एआई साक्षरतालाई समेत पार्टी सदस्यताको क्षमता विकाससँग जोड्ने प्रस्ताव छ ।
अनुसन्धान र तथ्यमा आधारित कांग्रेस महारको एजेन्डाले कांग्रेसको राजनीतिक निर्णय प्रक्रियालाई ज्ञान, अनुसन्धान र तथ्यमा आधारित बनाउने अवधारणालाई पनि प्राथमिकता दिएको छ । पार्टी तथा सरकार सञ्चालनका लागि थिंक ट्याङ्क, नीति अनुसन्धान र कुशल व्यवस्थापनको विकास गर्ने प्रस्ताव गर्दै उनले नीतिनिर्माणलाई केवल राजनीतिक अनुभवमा सीमित नराखी अध्ययन, अनुसन्धान र तथ्यका आधारमा अघि बढाउने दृष्टिकोण प्रस्तुत गरेका छन् ।
त्यसैगरी बीपी कोइरालाको विचारलाई समकालीन आवश्यकताअनुकूल व्याख्या र कार्यान्वयन गर्ने विषयलाई पनि एजेन्डामा समेटिएको छ । लोकतन्त्र, सामाजिक न्याय, दिगो विकास र बदलिँदो राष्ट्रिय आवश्यकतासँग बीपी विचारलाई जोड्ने प्रस्ताव गरिएको छ । स्वच्छ राजनीति र जवाफदेही नेतृत्व घोषणापत्रमा स्वच्छ राजनीति र सुदृढ संघीय लोकतन्त्रलाई अर्को महत्वपूर्ण आधार बनाइएको छ ।
सुशासन, राजनीतिक आचरण, आर्थिक पारदर्शिता, संविधान कार्यान्वयन, विधिको शासन, मानव अधिकार र जवाफदेहितालाई संस्थागत गर्ने प्रतिबद्धता एजेन्डामा समेटिएको छ । त्यस्तै पार्टीभित्र अवसर वितरण गर्दा योगदान, क्षमता, अनुभव, इमानदारी र कार्यसम्पादनलाई आधार बनाउने प्रस्ताव गरिएको छ। अर्थात् योगदानका आधारमा जिम्मेवारी र मूल्याङ्कनका आधारमा सम्मान गर्ने राजनीतिक संस्कार विकास गर्ने लक्ष्य राखिएको छ । ‘युवा कांग्रेस’ र ‘डिजिटल कांग्रेस’को अवधारणा महरको १५ बुँदे एजेन्डामा युवालाई विशेष स्थान दिइएको छ। युवा नेतृत्व, पुस्तान्तरण, नवप्रवर्तन र निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै ‘रूपान्तरणका लागि युवा कांग्रेस’ निर्माण गर्ने अवधारणा अघि सारिएको छ ।
त्यससँगै प्रविधिको तीव्र विकासलाई कांग्रेसको संगठनसँग जोड्ने गरी ‘डिजिटल युवाको कांग्रेस’को अवधारणा प्रस्तुत गरिएको छ । प्रविधि, एआई, डिजिटल संगठन, सुरक्षित अभिलेख र आधुनिक व्यवस्थापन प्रणालीमार्फत कांग्रेसको संस्थागत रूपान्तरण गर्ने प्रस्तावले पार्टीको परम्परागत संगठनात्मक संरचनालाई डिजिटल युगसँग जोड्ने प्रयास गरेको छ । उत्पादन र रोजगारीलाई राजनीतिक एजेन्डाको केन्द्रमा महरको एजेन्डा केवल पार्टी संगठनमा सीमित छैन ।
उनले नेपालको आर्थिक विकासलाई लगानी, उत्पादन र रोजगारीमुखी अर्थतन्त्रसँग जोड्ने दृष्टिकोण अघि सारेका छन् । सहकारी तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरण, कृषि आधुनिकीकरण, ऊर्जा आत्मनिर्भरता, सम्पदा तथा पर्यटन पूर्वाधार, युवा उद्यमशीलता, स्वरोजगार र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ । त्यसैगरी विदेशमा रहेका नेपालीको सीप र श्रमलाई राष्ट्रिय विकासमा उपयोग गर्ने तथा उनीहरूको योगदानको सम्मान गर्ने विषय पनि एजेन्डामा समेटिएको छ । नागरिकको जीवनस्तर सुधारमा जोड कांग्रेसको राजनीतिक उद्देश्यलाई नागरिकको दैनिक जीवनसँग जोड्दै निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य र शिक्षालाई आधारभूत प्राथमिकतामा राखिएको छ ।
सुरक्षित तथा सुलभ यातायात, भरपर्दो सञ्चार, दिगो पूर्वाधार, स्वच्छ खानेपानी, सरसफाइ र सामाजिक सुरक्षालाई नागरिकको गुणस्तरीय जीवनका आधारका रूपमा अघि सारिएको छ । यसले राजनीतिक परिवर्तनसँगै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवा र सुविधाको सुधारलाई पार्टीको एजेन्डासँग जोडेको छ । समावेशिता, जलवायु र विपद् व्यवस्थापन महारको एजेन्डामा नेपालको सामाजिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै समान सहभागिता र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषय पनि समेटिएको छ । रीतिरिवाज, मौलिक पहिचान, भाषा र संस्कृतिको संरक्षणसँगै राज्य तथा राजनीतिक संरचनामा समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिने प्रस्ताव गरिएको छ ।
त्यसैगरी जलवायु परिवर्तन र वातावरण संरक्षणलाई सामाजिक न्यायसँग जोड्दै द्रुत विपद् व्यवस्थापन तथा सुरक्षित र दिगो नेपालको निर्माण गर्ने दृष्टिकोण अघि सारिएको छ । जलवायु संकट र प्राकृतिक विपद्को बढ्दो जोखिमबीच यो विषयलाई राजनीतिक एजेन्डाको हिस्सा बनाइएको छ । सार्वजनिक खरिदमा पारदर्शिता, विदेश नीतिमा राष्ट्रिय हित विकास निर्माणमा हुने ढिलासुस्ती, गुणस्तर र जवाफदेहिताका प्रश्नलाई सम्बोधन गर्न पारदर्शी सार्वजनिक खरिद तथा ठेक्का प्रणाली विकास गर्ने प्रस्ताव गरिएको छ ।
समयमै काम सम्पन्न गर्ने, गुणस्तरीय विकास निर्माण सुनिश्चित गर्ने र सार्वजनिक खर्चमा जवाफदेहिता कायम गर्ने विषयलाई एजेन्डामा स्पष्ट रूपमा प्राथमिकता दिइएको छ । अन्तिम एजेन्डाका रूपमा राष्ट्रिय हितकेन्द्रित विदेश नीति अघि सारिएको छ। सन्तुलित परराष्ट्र सम्बन्ध, नेपालको सार्वभौमिकताको संरक्षण तथा प्रभावकारी आर्थिक कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रिय हितसँग जोड्ने प्रस्ताव गरिएको छ ।
संगठनदेखि शासनसम्मको ‘समग्र रूपान्तरण’को प्रयास नैनसिंह महरले अघि सारेका १५ एजेन्डालाई समग्रमा हेर्दा कांग्रेसको आन्तरिक संगठन सुधारसँगै राज्य सञ्चालन, अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य, युवा, प्रविधि, समावेशिता, वातावरण, सुशासन र विदेश नीतिसम्म फैलिएको राजनीतिक रूपान्तरणको खाकाका रूपमा प्रस्तुत गरिएको छ । यसमा एकातर्फ पार्टीभित्र नेतृत्व विकास, पुस्तान्तरण, जिम्मेवारी र कार्यसम्पादनलाई संस्थागत गर्ने प्रयास देखिन्छ भने अर्कोतर्फ बदलिँदो प्रविधि, एआई, जलवायु परिवर्तन, रोजगारी र आर्थिक कूटनीतिजस्ता समकालीन विषयलाई कांग्रेसको राजनीतिक एजेन्डासँग जोडिएको छ ।
विशेषगरी ‘एक व्यक्ति, एक पद, दुई कार्यकाल’, ‘युवा कांग्रेस’, ‘डिजिटल कांग्रेस’, अनुसन्धानमा आधारित राजनीति, उत्पादन तथा रोजगारीमुखी अर्थतन्त्र र राष्ट्रिय हितकेन्द्रित विदेश नीतिजस्ता प्रस्तावले पार्टीको परम्परागत राजनीतिक अभ्यासलाई नयाँ पुस्ता र बदलिँदो समयसँग जोड्ने सन्देश दिएका छन् ।
















