काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।


ADVERTISEMENT


शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।


ADVERTISEMENT

# # #


समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

वरिष्ठ अधिवक्ता भण्डारीलाई प्रधानमन्त्री देउवाले महान्यायाधिवक्ता नियुक्तिका लागि बुधबार राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए । नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

विसं २००२ मा काठमाडौँको ठमेल गल्कोपाखामा जन्मिएका भण्डारीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । उनले विसं २०३० देखि वकालत शुरु गरेका हुन् । उनले नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य हुँदै अध्यक्षमा समेत प्रतिस्पर्धा गरेका थिए ।

सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता भण्डारीले संविधान र कानूनअनुसार आफ्नो अनुभव र क्षमतालाई प्रयोग गरेर सकेसम्म प्रभावकारी ढंगले सरकारी मुद्दामा प्रतिरक्षा गरिने प्रतिबद्धता व्यक्त गरे । रासस