धनगढी – कैलालीको गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवा प्रवाहलाई मानव अधिकारमुखी बनाउन सेवाग्राहीलाई प्रथम नमस्कारसहितको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।


ADVERTISEMENT


आज यहाँ एफएमडिसी, विकास र परिवर्तनका लागि सञ्चारले आयोजना गरेको ‘मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड’ विषयक सचेतना कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


सेवाग्राही र सेवा प्रदायक निकायबीच सुमधुर सम्बन्ध बनाउनका लागि कर्मचारीले सेवाग्राहीसँग अभिवादन तथा समानजनक व्यवहार, छिटो र छरितो सेवा प्रवाह, भलाकुसारी तथा सम्बन्ध विस्तार, असम्भव पक्षलाई विकल्प दिने, सेवा पृष्ठपोषण लिने, सेवाग्राहीसँग सेवाबारे अप्रत्यक्ष रुपमा छलफल गर्नेलगायतका विषयमा जोड दिइएको छ ।

गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले विगतमा सेवाग्राही कार्यालयमा आउँदा सेवाग्राहीले नै सुरुमा नमस्कार गर्ने गरेको र अबका दिनमा व्यावहारिक पक्षलाई ध्यान दिँदै नमस्कार गरेर स्वागत गर्ने बताए।

उनले सेवाग्राही र सेवा प्रदायी निकायबीच सुमधुर सम्बन्ध भई काम कारवाहीमा पनि सहज हुने उल्लेख गरे । एफएमडिसीका कार्यकारी निर्देशक उमीदबाग चन्दले गौरीगङ्गा नगरपालिकालाई एक वर्षभित्र मानव अधिकारमैत्री नगरपालिका बनाउन एफएमडिसी र नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । कार्यक्रममा मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड विषयमा छलफल गरिएको थियो ।