काठमाडौं – आईसीसी विमन्स टी ट्वान्टी विश्वकपको उद्घाटन खेलमा भारतले डिफेडिङ च्याम्पियन तथा आयोजक राष्ट्र अष्ट्रेलियालाई १७ रनले हराएको छ । प्रतियोगिताको दाबेदार अष्ट्रेलियाले अन्तिम तीन ओभरमा २९ रन ल्याउन आवश्यक छदा ऊ जितबाट १८ रन पहिले नै समेटिन पुग्यो ।


ADVERTISEMENT


भारतले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाली महिला क्रिकेट टोलीले १९.५ ओभरमा ११५ रनमा समेटिन पुग्यो । भारतले अन्तिम तीन ओभरमा मात्र ११ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिन सफल भयो । अष्ट्रेलियाका लागि ओपनर अलिसा हेलीले सर्वाधिक ५१ रनको योगदान दिएपनि जितका लागि अपर्याप्त रह्यो ।


ADVERTISEMENT

# # #


उनले मात्र ३५ बलमा छ चौका र एक छक्का लगाइन् । मध्यक्रममा आश्ले गार्डनरले ३४ रन बनाइन् । अष्ट्रेलियाली पारीका नौ जना ब्याट्सविमनले दोहोरा योगफल समेत छुन सकेनन । भारतीय बलिङमा पूनम यादबले सर्वाधिक चार तथा शिखा पाण्डेले तीन र राजेश्वरी गायकवाडले एक विकेट लिइन् ।

यसअघि सिड्नीमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको भारतीय महिला टोलीले २० ओभर खेल्दै मात्र चार विकेटको क्षतिमा १३२ रनको औसत योगफल तयार गरेको थियो । भारतका लागि दिप्ती शर्माले अविजित रहँदै सर्वाधिक ४९ रनको योगदान दिइन् । ओपनर सफाली बर्मा र स्मृती मन्धनाले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाइन् । मध्यक्रममा जेमीमा रोड्रिगजले २६ रन बनाइन् ।

अष्ट्रेलियाको बलिङमा जेस्स जोनासनले दुई तथा डेलिसा किमिन्स र एलिस पेरीले सामान एक एक विकेट लिइन्। खेलको विमन अफ द् म्याच पूनम यादब घोषित भइन् ।

जारी महिला टी ट्वान्टी विश्वकपमा कुल दश राष्ट्र सहभागी छन् । भारत, अष्ट्रेलिया, बङ्गलादेश, न्युजिल्याण्ड र श्रीलङ्का समूह ए मा छन् । समूह बी मा थाइल्याण्ड, वेष्टइन्डिज, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र पाकिस्तान रहेको छ ।

प्रतियोगिता अवधिभर कुल २३ म्याच हुनेछ । लिग चरणमा प्रत्येक टोलीले चार चार म्याच खेल्नेछन् । लिगमा उत्कृष्ट हुने दुबै समूहका दुई दुई टोलीबीच सेमीफाइनल हुनेछ । सेमीफाइनलमा छनोट हुने दुई टोलीबीच मार्च आठमा मेलबर्नमा उपाधिको लागि स्पर्धा हुनेछ ।