प्रद्युमन पोखरेल : प्रमुख कार्यकारी अधिकृत(सीईओ), मुक्तिनाथ विकास बैँक


ADVERTISEMENT


मुक्तिनाथ विकास बैँकको गतिविधि कसरी अगाडि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


मेरो सोचाईमा गति भनेको प्राकृतिक हुनुपर्छ । बजार कस्तो छ ? हाम्रा जोखिमहरु र अवसरहरु के–के छन् भन्ने सबै कुरा हेरेर टिमका साथ काम गर्नुपर्छ । त्यही अनुसार हामी चलिरहेका छौँ । हाम्रो गति नियन्त्रित, संयमित छ जस्तो लाग्छ ।

के-के कुराहरुमा जोड दिइराख्नुभएको छ ? 

कुनैपनि कम्पनी वा संस्थाले दुईवटा कुरालाई महत्वमा राखेका हुन्छन् । एउटा ग्राहक र अर्को ती ग्राहकलाई दिने सेवा । त्यसका लागि तपाईंसँग कस्तो कर्मचारीहरु छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । यी सबै कुरालाई कसरी उत्कृष्ट बनाउँदै लैजाने भन्नेमा हामी केन्द्रित छौँ ।

संरचनागत सञ्जाल र व्यापार वृद्धि कसरी भइरहेको छ ? 

शाखा विस्तारमा हामी वित्तीय पहुँच कम भएका क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । किनभने यदि हामी त्यहाँ पुगेर पहिलो पटक वित्तीय सेवा दिन सफल भयौँ भने त्यसले दीर्घकालीन छाप छाड्छ । यस्तै नाफा र जोखिमबीच एकदमै नजिकको सम्बन्ध हुन्छ । यदि जोखिम कम लिने हो भने नाफा पनि कम हुन्छ । त्यसले गर्दा हामीले यी दुईको बीचमा एउटा सन्तुलन कायम राख्नुपर्छ । एउटा कुरा के भुल्नु हुँदैन भने बैँक तथा वित्तीय संस्था भनेको जनताको निक्षेप स्वीकारेर संरक्षण गर्ने संस्था हो । निक्षपको संरक्षण र सुरक्षा नै हाम्रो पहिलो कर्तव्य हुन्छ ।

त्यसलाई ध्यानमा राखेर हामीले काम गर्नुपर्छ । त्यो काम गरेपावत हामीलाई प्राप्त हुने जुन फाइदा छ, त्यो हाम्रो नाफामा जान्छ । त्यसकारण नाफा नै एकमात्र लक्ष्य होइन । हामीले आफ्ना ग्राहकको अपेक्षालाई परिपूर्ती गर्न सक्नु नै हाम्रो लक्ष्य हो । हाम्रो सेवाबाट उहाँहरुको जीवनमा केही रुपान्तरण हुन सक्छ भने त्यही लक्ष्य हो ।

विकास बैँकहरुको प्रतिस्पर्धामा मुक्तिनाथ विकास बैँक अग्रस्थानमा रहँदै आएको छ । यो पछाडिको कारण के हो ?

हामी पहिलो हुनुपर्छ भन्ने सोचमा अगाडि बढ्ने भन्दा पनि हामीले जुन सेवा ग्राहकलाई प्रदान गर्छौं, उत्कृष्टताको साथमा गर्नुपर्‍यो भन्ने हो । त्यही प्रयास हामी निरन्तर लागिराख्यौँ । यस्तो भयो भने मैँले अघि भनेजस्तै दुई तीनवटा कुराहरु आउँछ । पहिलो हाम्रो ग्राहकले राम्रो सेवा पाउनुहुन्छ । उहाँहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा पनि केही न केही सहयोग पुग्छ । त्यसपछि सबै सकारात्मक कुराहरु हुँदै जान्छन् । सबै सकारात्मक भयो भने सबैतिर राम्रो हुन्छ । त्यसपछि पूँजी वृद्धि होस् वा निक्षेप संकलन होस् वा ऋणको आकारमा, शाखाको संख्या, कर्मचारीदेखि ग्राहकको संख्यामा पनि उत्कृष्ट हुन्छ । हाम्रो भएको त्यही हो ।

विकास बैँकसँग जनता किन जोडिनुपर्छ ? विकास बैँक कस्तो समूहका लागि हो ?

तपाईं सहरी इलाका डुल्नुभयो भने वा जहाँ बस्नुहुन्छ, त्यहाँ वरिपरि हेर्नुभयो भने सबै घरको अगाडि एउटा एउटा शटर पाउनुहुन्छ । त्यहाँ स–साना भएपनि पसल सञ्चालन भएका हुन्छन् । हाम्रो बहुसंख्यक जनसंख्या त्यस्तै सानो सानो व्यापार, पेशामा आवद्ध हुनुहुन्छ । दोस्रो कुरा हामी नेपाललाई कृषिप्रधान देश भन्छौँ । आज तपाईंले दिनभरि जुन जुन सामग्री उपभोग गर्नुभएको छ, उदाहरणका रुपमा दाल, तरकारी, चामल । यी सबै कुराहरु कहाँबाट आउँछन् भनेर विचार गर्नुभयो भने त्यहाँ नेपाल पाउनुहुने छैन ।

त्यो अवस्थालाई अन्त्य गर्नका लागि साना-साना उत्पादनका कुराहरुमा पनि हामीले ध्यान पुर्याउनुपर्छ । त्यसका लागि आवश्यक वित्तीय सहयोग कसले दिन्छ भन्दा विकास बैँकले । यस्तै तपाईंले कुनै सानो व्यवसाय सञ्चालन गर्नुपर्यो । तर आर्थिक समस्या छ भने त्यतिबेला सहयोगका लागि विकास बैँक आउँछ । विकास बैँकको अवस्थिति हेर्नुभयो भने पनि सबैले सुरुमा गाउँबाटै सेवा सञ्चालन गरेका छन् । नेपालमा साना व्यवसायको मात्रा बढी भएकाले विकास बैँकको महत्व अझै बढिरहेको छ ।

सामाजिक सुरक्षा योजनाको सोचमा कुनै खोट छैन । तर, यसको कार्यान्वयनका नीति, नियमहरुमा कमी देखिएको छ । त्यसलाई हटाइनुपर्छ ।

एउटा प्रमुख कार्यकारी अधिकृतका रुपमा  मुक्तिनाथ विकास बैँकमा के गर्छु जस्तो लाग्छ, जसका लागि तपाईंका सहकर्मीको साथ होस् ?

मुख्यतः हामीले वित्तीय मध्यस्थकर्ताको रुपमा काम गर्छौँ । त्यो भनेको अतिरिक्त पैसा छ, उहाँहरुसँग डिपोजिट लिन्छौँ । जोसँग व्यवसाय सञ्चालनका लागि पैसा छैन, उसका लागि मध्यस्थकर्ताको भूमिकामा हामी हुन्छौँ । त्यसमा सैद्धान्तिक र व्यवहारिक सहयोग हाम्रो रहन्छ । त्यसका लागि बैँकको सीइओ र कर्मचारीहरुले काम गरिरहेका हुन्छन् । हाम्रो सोच के हुन्छ भन्दा कसरी ग्राहकको लागत (पैसा, समय, श्रम) कम भन्दा कम गर्ने र बढी प्रतिफल दिलाउने भन्ने हुन्छ । त्यो गरेमा हाम्रो वित्तीय मध्यस्थकर्ताको लक्ष्य पूरा हुन्छ । त्यसले ग्राहक, बैँक मात्र नभई देशकै अर्थतन्त्रमा सहयोग पुर्याउँछ ।

पछिल्लो समय बैकिङ्ग क्षेत्रले सरकारले ल्याएको सामाजिक सुरक्षाको योजनामा असन्तुष्टि व्यक्ति गरिरहेको छ । यसमा तपाईको धारणा के छ ?

सबैभन्दा ठूलो कुरा भनेको प्रकृतिको नियम हुन्छ । प्रकृतिले एउटै समयमा एउटै ठाउँमा फरक फरक व्यवहार गर्दैन । प्रकृतिले मुक्तिनाथ बैँकको सीइओ वा बिल गेट्स भन्दैन । पाँच तलामा गएर हाम फाल्यो भने चोट लाग्छ लाग्छ । कसैको शरीर बलियो र कमजोर भएका कारणले चोटमा तलमाथि होला । तर, चोट त लाग्छ । त्यस्तै सामाजिक सुरक्षाको जुन सोच छ, त्यो धेरै राम्रो छ । पछि गएर आफ्ना नागरिकलाई आर्थिक असुरक्षा नहोस् भन्ने सोचबाट यो योजना प्रेरित भएकाले धेरै राम्रो छ । तर, यसको कार्यान्वयनका लागि नियम कानुनका केही कुराहरु समान छैनन् भन्ने कुरा हामी देखिरहेका छौँ । यसलाई समान बनाइनुपर्छ । किनभने कुनैपनि योजनाको एउटा लक्ष्य असमानता घटाउने वा समानता कायम गर्ने हुन्छ । तर, यहाँ त असमानतालाई बढाउने काम होला कि भन्ने डर छ । यसलाई हटाइनुपर्छ ।

उसोभए अहिलेकै अवस्थामा बैँक तथा वित्तीय संस्थाहरुले यसलाई कार्यान्वयन गर्न सक्दैनन् ?

घडिले चार बजेको देखाइरहेको छ भने दुई बज्यो भन्न त सकिँदैन नि ? चारलाई चार र दुईलाई दुई भन्नुपर्यो । जे कमजोरी छ, त्यसलाई हटाएर ल्याइनुपर्छ भन्ने हो । मैँले अगाडि नै भनेँ, यो सोचमा कुनै खोट छैन । तर, यसको कार्यान्वयनका नीति नियमहरुमा कमी देखिएको छ । त्यसलाई हटाइनुपर्छ ।

पछिल्लो समय राष्ट्र बैँकको निर्देशन अनुसार बैँक तथा वित्तीय संस्थाहरुमा पनि मर्जरको लहर बढिरहेको छ । यसमा मुक्तिनाथ विकास बैंकले के सोचिरहेको छ ?

मर्जरको कुरा लगानीकर्ताको विषय हो । त्यसमा प्रमुख कार्यकारी अधिकृतले बोल्ने कुरा रहँदैन । मैँले अघि पनि भनेँ नेपालजस्तो देशमा विकास बैँकहरु रहनुपर्छ । किनभने त्यहाँ प्रशस्त अवसरहरु छन् । ती अवसर प्राप्त गर्नका लागि पनि बस्नुपर्छ । सबै बैँक तथा वित्तीय संस्था ठूला भए भने साना ग्राहक, सेवाग्राहीको सेवा उनीहरुले दिन सक्दैनन् वा प्राथमिकतामा पर्दैन । त्यसकारण विकास बैँकको अस्तित्व अनिवार्य हुन्छ । दोस्रो कुरा देशको अवस्थितिले गर्दा पनि बडा अनुकुल छ ।अर्को, हाम्रो नामै मुक्तिनाथ छ । कस्तो पवित्र नाम ! लगानीकर्ताहरु यो नाम गुमाउन चाहनुहुन्छ जस्तो मलाई लाग्दैन । भर्खरै नयाँ सञ्चालक समिति आउनु भएको छ । त्यो पनि सबै निर्विरोध भएर आउनुभएको छ । उहाँहरुको विचारपनि बुझ्दा मलाई त्यस्तै लाग्छ ।

जसरी हामी सेवा प्रदान गर्दै आइरहेका छौँ, त्यही अनुसार अघि बढ्नुपर्छ । त्यसमा पनि हाम्रो भिजन २०२८ भन्नेछ ।  त्यसको खाका हामीले गएको वर्ष म प्रमुख कार्यकारी भएपछि पञ्चवर्षीय योजना बनाउँदा नै तय गरेका छौँ । आउँदो विसं  २०८० असारमा मुक्तिनाथ विकास बैँकको स्वरुप कस्तो हुन्छ भनेर हामीले अहिले नै कोरिसकेका छौँ । त्यसको रणनीतिक हिसाब मैँले बताउन त मिल्दैन । तर, म के मात्रै भन्न चाहन्छु भने जुन महत्व आज मुक्तिनाथ विकास बैँकले प्राप्त गरिरहेको छ, त्यो धेरै गुणा बढ्नेवाला छ विकास बैँककै रुपमा । यी कुराहरुले पनि तपाईं थाहा पाउन सक्नुहुन्छ, हामी मर्जरमा जाने सम्भावना के छ ?

अन्तिममा के भन्नुहुन्छ ?

एउटा कुरा के हो भने हामीले सँधै सकारात्मक सोचलाई बढवा दिनुपर्छ । म एउटा साधारण उदाहरण सुनाउँछु । जुन तपाईले पनि अनुभव गर्नुहुन्छ । तपाईंले कुनै बच्चा हाँसिरहेको देख्नुभयो भने तपाईंभित्र एउटा खुसीको तरंग पैदा हुन्छ । त्यसले तपाईंलाई खुब आनन्द दिन्छ । टाउको दुखिरहेको छ भने टाउको दुख्न कम हुन्छ । तर, त्यही ठाउँमा तपाईंले झगडा गरेको दृश्य हेर्नुभयो वा अस्पतालमा गएर छट्पटाइरहेको कोही बिरामी देख्नुभयो भने तनाव पैदा हुन्छ । त्यसकारण सँधै सकारात्मक कुराहरुमा ध्यान दिनुपर्छ । सकारात्मकतामा टेकेर काम गर्नुहोस्, त्यसले तपाई र तपाईंको परिवारलाई सहयोग गर्छ, समाजलाई सहयोग गर्छ र राष्ट्रलाई सहयोग गर्छ ।