बैतडी /दार्चुला — मन्दिरमा पूजा र भवन उद्घाटनको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि बैतडी र दार्चुलाका दुई/ दुई पालिकाले सार्वजनिक बिदा दिएका छन् । बैतडीका पाटन नगरपालिका र दशरथचन्द नगरपालिका तथा दार्चुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले बिहीबारका लागि सबै कार्यालय र शैक्षिक संस्था बन्द गरेका हुन् ।


ADVERTISEMENT


उनीहरूले राष्ट्रपतिलाई नागरिक अभिनन्दन पनि गर्ने घोषणा गरेका छन् । आफ्ना गाउँ र नगरवासीका लागि सूचना जारी गर्दै राष्ट्रपतिको स्वागतमा भेला हुन भनेका छन् । विद्यार्थीलाई अनिवार्य सहभागी हुन भनिएको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रपति भण्डारीले बिहीबार पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको भवन र छात्रावास उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि दशरथचन्द नगरपालिकास्थित त्रिपुरासुन्दरी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिले बिहीबारै मालिकार्जुन गाउँपालिकास्थित मालिकार्जुन मन्दिरमा विशेष पूजापाठ गर्ने कार्यक्रम छ । जिल्लाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गर्दै स्वागतका लागि उपस्थित हुन सर्वसाधारणलाई सूचना जारी गरेका छन् ।

राष्ट्रपति दर्शन गर्न आउने भएपछि मालिकार्जुन मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले ४० नेपाली सेना, १२० नेपाल प्रहरी, ७० जना सशस्त्र प्रहरीसँगै सादा पोसाकका सुरक्षाकर्मी खटाइएको जनाएको छ । राष्ट्रपति भण्डारी बिहान १० बजे मालिकार्जुन मन्दिर परिसरमा निर्माण गरिएको हेलिप्याडमा अवतरण गर्ने समयतालिका छ । राष्ट्रपतिले मालिकार्जुनमा २ घण्टा बिताउने स्थानीय प्रशासनले जनाएको छ ।