बाबियाचौर, म्याग्दी– प्रशस्त सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका– ३ स्थित स्वर्गाश्रम ओझेलमा परेको छ ।


ADVERTISEMENT


पूर्वाधार र प्रचारप्रसारको कमीले धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावनायुक्त स्वर्गाश्रम ओझेलमा परेको हो । समुन्द्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित स्वर्गाश्रम रमणीय दृष्यावलोकनका लागि उत्कृष्ट गन्तव्य बन्नसक्ने सम्भावना छ ।


ADVERTISEMENT

# # #


यहाँबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, माछापुच्छ्रे, मानापाथीलगायत हिमाल, सूर्योदयका साथै म्याग्दी र आसपासका जिल्लाका बस्तीको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । स्वर्गाश्रमभन्दा ३०० मिटरमाथि रहेको बेलढुंगाबाट बागलुङ, कास्की, म्याग्दी र पर्वत जिल्ला देख्न सकिन्छ ।

वसन्तऋतुमा पाखाभरि राताम्मे भएर फुल्ने लालीगुराँसले स्वर्गाश्रमको आकर्षण अझ बढाउँछ । गणेशको मन्दिर रहेको स्वर्गाश्रममा परापूर्वकालमा ऋषिले तपस्या गर्ने स्थल भएकाले यसलाई सप्तऋषि डाँडा पनि भन्ने गरिन्छ । एक सय वर्षअघिसम्म स्वर्गाश्रममा तपस्या गर्नका लागि ऋषि आउने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

स्वर्गाश्रममाथिको अर्को डाँडामा बेलको गेडाजस्तो आकारको ढुंगा भएकाले सो स्थानलाई बेलढुंगा नामाकरण गरिएको छ । बेनी बजारदेखि मुसुङडोलेसम्म दुई घण्टा गाडी र एक घण्टा पैदल उकालो हिँडेपछि स्वर्गाश्रम पुग्न सकिन्छ । नव वर्षको दिन भकिम्लीका बासिन्दाले डाँडाखानीदेखि स्वर्गाश्रमसम्म रथ यात्रा गर्छन् ।

सोनामुखी नाग देवताको मूर्ति रहेको गणेश मन्दिरको दर्शन गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास छ । पर्यटकीय विशेषता, धार्मिक महत्वका बारेमा प्रचारप्रसार हुन नसक्नु र पूर्वाधारको कमीका कारण ओझेलमा परेको स्वर्गाश्रम व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताए ।

स्थानीय बासिन्दाले केही वर्षअघि समिति गठन गरेर स्वर्गाश्रममा पूर्वाधार विकास र प्रचारप्रसारको काम गर्दै आएका छन् । त्यसअघि संरक्षणको अभावमा स्वर्गाश्रममा रहेका मन्दिरसमेत व्यवस्थित हुन सकेको थिएन । समितिको पहलमा विसं २०७२ मा स्वर्गाश्रममा महायज्ञको आयोजना गरिएको थियो ।

महायज्ञबाट संकलन भएको रकमबाट मुसुङ डोलेदेखि स्वर्गाश्रमसम्म जोड्ने कच्ची सडकको ट्याक खोलिएको छ । रु पाँच लाख खर्च गरेर निर्माण गरिएको सडक मर्मत र स्तरवृद्धि गर्नसकेमा स्वर्गाश्रम पुग्ने पर्यटक तथा भक्तजनलाई सुविधा पुग्ने अध्यक्ष जिसीको अपेक्षा छ । जिल्ला समन्वय समितिअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत सार्वजनिक शौचालय निर्माण भएको छ ।

त्यहाँ खानेपानी, व्यवस्थित पदमार्ग, मठ मन्दिरको संरक्षण, भक्तजन र पर्यटकको खानेबस्ने सुविधाका लागि आश्रय तथा विश्राम स्थल निर्माण गर्न आवश्यक छ । बेनपा– ३ का वडाअध्यक्ष पदम पुनले स्वर्गाश्रममा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक लाख विनियोजन भएको बताए । नगरपालिकाको पर्यटकीय तथा धार्मिकस्थलको सूचीमा स्वर्गाश्रमलाई पनि समेट्ने र एकीकृतरुपमा विकास गर्ने विषयमा छलफल चलाइएको वडा अध्यक्ष पुनले बताए । रासस