काठमाडौं – नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका इन्द्रबहादुर बानियाँको पक्षमा महाधिवेशनमा उत्साह देखिएको छ ।

उम्मेदवारहरुको प्रारम्भिक नामावाली सार्वजनिक भएपछि बानियाँको सम्पर्क कार्यालय रहेको थापागाउँस्थित बानेश्वर हिल्समा बुधबार बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरुको घुइँचो लाग्यो ।

त्यहाँ भेला भएका महाधिवेशन प्रतिनिधिहरुले पदाधिकारीमा निर्वाचित हुने सम्भावना हुँदा हुँदै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएर बानियाँले पार्टीलाई एकताबद्ध बनाउन तथा व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका निवर्तमान मुख्यमन्त्री बानियाँसँग फोटो तथा भिडियो खिच्नेहरुको लामै लाइन थियो । केहीले मादल बजाएर बानियाँको पक्षमा मतसमेत मागेका थिए ।

उम्मेदवारहरुका लागि आज प्रचारप्रसारको दिन हो । १५औं महाधिवेशनअन्तर्गत आजै उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ ।