हेटौँडा – जिल्ला अदालत मकवानपुरले हेटौँडाकी विन्दवासिनी कंशकारमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।


ADVERTISEMENT


साथै पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख ८५ रुपैयाँ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएकोे छ । जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार आदेश दिएको अदालतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


अदालतले कंशाकारमाथि एसिड प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई दुई वर्ष ६ महिना कैद सजायसहित ४० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको जनाइएको छ ।

विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै केशरीले कंशाकारमाथि विसं २०७० वैशाख ९ गते पसलमा बसिरहेको समयमा एसिड प्रहार गरेका थिए । प्रहारपछि मण्डलको मोटरसाइकल चढेर केशरी भागेका थिए । वीरगञ्ज हुँदै भारत भागेका उनीलाई ६ वर्षपछि मकवानपुर प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याएको थियो ।

आक्रमणबाट अनुहार तथा शरीरको अन्य भागमा गम्भीर असर पुगेको कंशाकारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आइरहनु भएको छ । रासस