रुकुमपूर्व – रुकुम (पूर्व)मा मृत मृग फेला परेको छ । सिस्ने गाउँपालिका–५ स्थित कमलदहको छेउमै मृत पोथी मृग (रतुवा) फेला परेको हो । अन्दाजी चार-पाँच किलोको एक वर्ष जतिको मृग मृत भेटिएको डिभिजन वन कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।


ADVERTISEMENT


कमलदहको वरपर लगाइएको तारमा अल्झिएको अवस्थामा आज बिहान मृगलाई स्थानीयवासीले देखी डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । तारमा अल्झिएका अवस्थामा फेला परेको मृग उद्धार गर्दा मरेको अवस्थामा रहेको सहायक वन अधिकृत विनोद गायकले बताए ।


ADVERTISEMENT

# # #


दहमा पानी खान झरेको मृग फर्कने क्रममा तारमा अल्झिएर मरेको हुन सक्ने वन कार्यालयले जनाएको छ । मृत मृगलाई आज नै डिभिजन वन कार्यालय रुकुम (पूर्व), जिल्ला प्रहरी कार्यालय, पत्रकार र स्थानीयवासीको रोहवरमा गाडिएको छ । पछिल्लो समय जङ्गलबाट मृग बस्तीतिर झर्ने क्रम बढेको छ । यससँगै माघ र फागुनमा मात्र तीन मृग फेला परेका छन् । यस अगाडि दुईपटक फेला परेका मृगलाई भने उद्धार गरेर डिभिजन वन कार्यालयले जङ्गलमा छाडेको थियो । रासस