विमलबहादुर विष्ट, दिपायल – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको कालोपत्रको काम सम्पन्न भइ जहाजको पर्खाइमा रहेको छ ।


ADVERTISEMENT


डोटीको दिपायल विमानस्थलमा साढे पाँच करोड रुपैयाँको लागतमा हालसालै कालोपत्र गरिएको छ । कालोपत्रको काम सकिएर धावनमार्ग साइडमा रहेको पर्खाललगायतको कामसहित रेखाङ्कनसमेत सम्पन्न भएको छ । दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम सप्नाग्याल्भा तथा भेबी कन्ट्रक्शनले दुई वर्षपहिले जिम्मा लिएको थियो । विमानस्थल निर्माणको सम्पूर्ण काम सकिएपछि जहाज सञ्चालन गर्न पहल गर्नुपर्ने स्थानीयवासीको माग छ ।


ADVERTISEMENT

# # #


लामो समयदेखि यात्रु अभावको कारण देखाउँदै बन्द अवस्थामा रहेको दिपायल विमानस्थल डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगरको पहलमा स्तरोन्नति तथा कालोपत्रको काम गरिएको हो । विमानस्थलको सम्पूर्ण काम सम्पन्न भई जहाजको पर्खाइमा रहेपछि स्थानीयबासी पनि निकै खुशी भएका छन् ।

गत वर्ष असारमा सक्ने लक्ष्यसहित विसं २०७४ मा कालोपत्रसहितको निर्माण शुरु गरिएको थियो । कालोपत्रको काम सकिएर बाँकी अन्य धावनमार्गको पर्खाल, तारजाली लगाउने काम पनि सकिएको भेबी कन्ट्रक्सनका साइड प्रमुख राजेन्द्र विष्टले बताए । उनले भने, “हामीले विमानस्थलको सबै काम सकेका छौँ, केही दिनमा विमानस्थल हस्तान्तरण गर्ने तयारीमा छौँ ।” विमानस्थलमा रनवे रेखाङ्कनलगायतका काम पनि सम्पन्न भएको उनले जानकारी दिए । कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले ढिलै भए पनि अहिले आएर सम्पूर्ण काम सकेको र अब जहाज आउने काममात्रै बाँकी रहेको दिपायलका स्थानीय भरतबहादुर द्वारियाले बताए ।

उनले भने, “दिपायल विमानस्थल सम्पूर्ण काम सकिएको छ, डोटीलगायत समग्र पहाडी जिल्लाको विकास चाँडो गर्ने हो भने अब छिट्टै जहाज चलाउनु जरुरी छ ।” निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै म्याद नथप्दा विमानस्थल निर्माण ढिला हुँदै आएको थियो । विगतमा लक्ष्यअनुसार काम नहुँदा कालोपत्रको काम नै शुरु नभएर यो अलपत्र परेको थियो । अहिले बल्ल आएर विमानस्थलको सम्पूर्ण काम सकिएपछि यहाँका स्थानीयवासी विमानस्थल सञ्चालन हुनेमा निकै खुशी भएको दिपायल पिपल्लाका स्थानीयवासी तथा काँग्रेस नेता घनश्याम पाठकले बताए ।

उनले भने, “विमानस्थलको काम सम्पन्न भएको छ, अब सबै राजनीतिक दलको पहलमा नियमितरूपमा जहाज चलाउनुपर्छ ।” दिपायल विमानस्थलसँगै कालोपत्र निर्माण शुरु गरिएको अछामको साँफेबगर विमानस्थलको काम सम्पन्न भएर गत वर्ष जेठमै परीक्षण उडानसमेत भइसकेको छ ।

उता बैतडीको पाटन विमानस्थलको कालोपत्रको काम पनि सम्पन्न भइसकेको छ । सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो दिपायल तथा बैतडीको पाटन विमानस्थल कालोपत्रको काम सकिएपछि जहाज चल्ने आशामा त्यहाँका स्थानीयवासी खुशी भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बैतडीमा झण्डै रु ११ करोडको लागतमा विमानस्थल कालोपत्रको काम शुरु गरिएको थियो । डोटीको दिपायल र बैतडीको पाटनसहितका दुई विमानस्थल निर्माण सम्पन्न गरे यहाँका धार्मिक तथा पर्यटन क्षेत्रहरुमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने उच्च सम्भावना रहेको होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले बताए ।

उनले भने, “हामीसँग अथाह पर्यटन क्षेत्र छन्, तिनको विकास र प्रचारप्रसार गर्ने हो भने सुदूरपश्चिम प्रदेशका दिपायल र पाटनमा नियमित जहाज चलानुपर्छ ।” दिपायल विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडिकेदार, वैद्यनाथधामलगायतका धार्मिक क्षेत्रमा पर्यटक भित्र्याउन सकिने डोटीका पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकोका ठाउँ हुन्, विमानस्थलमा नियमित जहाज चलाउन सके, पर्यटकमात्रै भित्र्याउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो र आम्दानी हुनेछ बताए ।

तीन सडक कालोपत्र हुँदै

वर्षौँ पहिले निर्माण गरिएका जिल्लाका तीन ग्रामीण सडक करोडौँ रकम लगानीमा कालोपत्र हुने तयारीमा छन् । सुदूरपश्चिम प्रदेश सरकारले डोटीको सिलगढी ओखरबोट साइल बगलेक झिग्राना सडक, सिलगढी–कलेना–दल्लेक–मेल्लेक बझाङ जोड्ने सडक र राजपुर फलेडी धिर्कामाडौँंं जोड्ने सडक कालोपत्रको तयारी गरेको छ । सडक कालोपत्रको तयारीसँगै सडक चौडा पार्ने तथा ग्राभेल गर्ने काम शुरु गरिएको दिपायल राजपुरका स्थानीयवासी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अशोक सोवले बताए । उनले भने, “सडक कालोपत्रका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै अहिले सडक चौडा पार्ने, ग्राभेल गर्न शुरु भएको छ, केही दिनमै कालोपत्रको काम शुरु हुन्छ ।”

त्यसैगरी सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न रु ४० करोड, सिलगढी–मेल्लेक हुँदै बझाङ जोड्ने ७.५ किलोमिटर सडक कालोपत्र गर्नका लागि रु १५ करोड ९७ लाख १२ हजार ५४२ र राजपुर फलेडी हुँदै बोगटान–फुड्सिल गाउँपालिका–५ धिर्कामाडौँ हुँदै फुड्सिल जोड्ने ९.५ किलोमिटर सडक कालोपत्र गर्नका लागि रु २२ करोड ९१ लाख ४९ हजार ४९५ मा ठेक्का कबुल गरिएको सुदूरपश्चिम पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । उनका अनुसार तीनवटै सडक २०७८ असार ३० गते कालोपत्रको काम सक्ने गरी सम्झौता गरिएको छ । सडक कालोपत्र गर्नका लागि तीव्ररुपमा काम शुरु भएपछि स्थानीयवासी निकै खुशी छन् । प्रदेश सरकारले सडक कालोपत्रका लागि बजेट विनियोजन गरेसँगै खप्तड सडकमा ग्राभेल शुरु भएपछि पर्यटकलाई खप्तड जान आउनका लागि सहज हुने भन्दै स्थानीयवासीमा खुशीयाली छाएको हो ।

जिल्लाका ग्रामीण क्षेत्र जोड्ने तीन सडकअन्तर्गत ३२.६ किलोमिटरका लागि कूल रु ७८ करोड ८८ लाख ६२ हजार ३७ लागतमा सडक कालोपत्रको काम शुरु हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सहजपुर–बोगटान सडकलाई पनि प्रदेश गौरवको सडकमा राखेर सडक विस्तारको काम भइरहेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा खप्तड तथा यहाँका ग्रामीण क्षेत्र जोड्ने सडकको कालोपत्रको काम शुरु भएको हो । मुख्य राजमार्ग मात्र कालोपत्र रहेको डोटीमा पहिलोपटक एकैसाथ जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडक कालोपत्र हुने भएपछि स्थानीयवासीमा खुशी छाएको केआइसिंह गाउँपालिका सलेनाका स्थानीयवासी कर्णबहादुर सिंहले बताए ।

सिलगढी–झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्स्ट्रक्शन, सिलगढी मेल्लेक सकडको राजेन्द्र-पिएस जेभी र राजपुर फलेडी धिर्कामाडौँ सडक केएस कन्स्ट्रक्शनले निर्माणको जिम्मा लिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । रासस