विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडीबीच आज यहाँ भेटवार्ता भएको छ ।


ADVERTISEMENT


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटवार्तामा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमबारे जानकारी गराएका थिए ।  उनले नेपालका लागि सङ्घीयता अवसर भएको बताउँदै यसको व्यवस्थापन र कार्यान्वयनमा केही समय लाग्नु स्वभाविक भएको धारणा व्यक्त गरे ।


ADVERTISEMENT

# # #


सङ्घीयता कार्यान्वयन, कर्मचारी समायोजनलगायत विषयमा राजदूत कोडीले जिज्ञासा राखे । उनले प्रदेश सरकारले गरेका कामको प्रशंसा गर्नाका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताए। सो अवसरमा मुख्यमन्त्री राईले नेपालले सङ्घीयता पहिलोपटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताउँदै शून्य संरचनाबाट शुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधार कानून निर्माण र आवश्यक संरचना तयार भएका छन् भने ।

प्रदेश तहमा जनशक्ति अभाव रहेको उल्लेख गर्दै उनले प्रदेश लोकसेवा आयोग गठन भएकाले समस्या चाँडै समाधान हुने बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारलाले ल्याएको पञ्चवर्षीय आवधिक योजना, १० वर्षे सडक गुरुयोजना सार्वजनिक गरिसकेको बताउँदै साना सिँचाइ, शहरी विकास, पर्यटनको गुरुयोजना र ‘चिफ मिनिस्टर ड्यास बोर्ड’को काम भइरहेको जानकारी दिए । रुपान्तरणकारी योजनाहरुको सूची बनाउँदै लगानी सम्मेलन गर्न प्रदेश सरकारले तयारी गरिरहेको पनि उनले जानकारी दिए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले बालबालिकासम्बन्धी विधेयक प्रदेशसभामा पेश भएको चर्चा गर्दै उक्त विधेयकले बालबालिकाको अधिकार सुनिश्चित हुने बताए । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेशको अवस्था र आवधिक योजनाबारे जानकारी गराएका थिए ।

भेटवार्तामा राजदूत कोडीसँग युनिसेफको नेपाल प्रतिनिधि इल्क विचको पनि सहभागिता थियो ।