काठामाण्डौ – नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले ग्यासको अभाव हुनसक्ने आशङ्कामा सर्वसाधारणले ग्यास भण्डारण गरेका कारण ग्यास वितरणमा असन्तुलन देखिएको बताएका छन् । नेपाल आयल निगमले बजारको मागअनुसार नै आपूर्ति भइरहेकाले ग्यासको कुनै अभाव नहुने जनाएको छ । अनावश्यक ग्यास सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असन्तुलन हुन पुगेको निगमको भनाइ छ ।


ADVERTISEMENT


निगमका प्रवक्ता वीरेन्द्र गोइतले अभाव हुन्छ भन्ने त्रासका कारण सर्वसाधारणले ग्यास भरेको सिलिण्डरको मौज्दात राख्न खोज्दा केही समस्या देखिएको बताए । गोइतले ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासका आयात बढाइएको बताउनुभयो । ‘हामीले उद्योगीलाई माग अनुसारको ग्यास ल्याउन भनेका छौँ ’, उहाँले भन्नुभयो, ‘उद्योगीको मागअनुसार ‘पर्चेज डेलिभरी अर्डर’ निगमले दिइरहेको छ ।’


ADVERTISEMENT

# # #


अभाव हुने त्रासका कारण उपभोक्ताको तर्फबाट ग्यासको खरिद अधिक भएपछि निगमले नयाँ सिलिण्डर किनेर नथुपार्न आग्रह गरेकोे छ । निगमले अनावश्यक सिलिण्डर राख्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास गरिद गर्न आग्रह गरेको हो ।

एलपी ग्यास खरिद गर्दा नयाँ सिलिण्डर खरिद नगरी आफूसँग भएको खाली सिलिण्डर फिर्ता गरी ग्यास खरिद गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ ।