डडेल्धुरा – पर्शुराम नगरपालिकाअन्तर्गतका तातोपानी सिसमजालाघाट र परिगाउँ बाङघाट नाका चैत ४ गतेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


स्वास्थ्य सतर्कतालाई ध्यानमा राख्दै नगरपालिकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि तारउतारघाट बन्द गरिएको पर्शुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए। उनले भने, “हेल्थ डेस्क स्थापना भए पनि आवश्यक स्वास्थ्य सुरक्षाको अभाव देखिएकाले तत्कालका लागि नगरपालिकाअन्तर्गत रहेका दुई वटै नाका बन्द गर्ने निर्णय गरिएको हो ।”


ADVERTISEMENT

# # #


विश्वमा फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमणलाई मध्यनजर गर्दै सूचना जारी गरी अनिश्चितकालका लागि पर्शुराम– ५ को बाङघाट र पर्शुराम– ६ को सिसमजालाघाट पूर्णरुपमा बन्द गरिने पर्शुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले बताए । उनले भने, “कोरोना सङ्क्रमित मानिस यो नाकाबाट आउनसक्ने भएकाले सतर्कताका लागि चैत ४ गतेदेखि केही समयका लागि तारउतारघाट बन्द गरिएको हो ।” पर्शुराम नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र सरोकारवालाको संयुक्त अनुगमनपश्चात् नाका बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख साउदले बताए ।

सिसमजाला घाट र बाङ्घाटबाट दैनिक १५० देखि २०० को हाराहारीमा मानिस नेपाल–भारत आवतजावत गर्ने भए पनि घाट बन्द भएपछि दैनिक उपभोग्यका सामानदेखि अन्य लत्ताकपडा र खाद्यान्य किनबेचमा समस्या आएको छ । सीमा नाका बन्द भएपछि पर्शुराम नगरपालिकाको सिसमजाला, सादनी, घुम्टेगडा, सिमलखेत, परिगाउँ, कटाल, जमरेनी, लामीगडा लगायतका बस्तीका मानिसलाई प्रत्यक्ष असर परेको स्थानीय हर्कबहादुर चन्दले बताए ।