धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिनगरभन्सार नाकामा राखिएको हेल्थ डेस्कको अवलोकन गरेका छन् । मुख्यमन्त्री भट्टले आज नेपाल भारतको सीमावर्ती गौरीफन्टा नाकामा नेपाल आवतजावत गर्ने नेपालीको अवस्था बुझेका छन् ।


ADVERTISEMENT


आज भारतका विभिन्न शहरमा मजदूरी गरी घर फर्किरहेका नेपालीसँग कुराकानी गर्दै मुख्यमन्त्री भट्टले अति जरुरी कामबाहेकको अवस्थामा आवतजावत नगर्न आग्रह गरे । उनले कोरोनाको संवेदनशीलता बुझेर त्यसअनुरुपको सतर्कता अपनाउन आग्रह गरे।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री भट्टले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज र गेटा आँखा अस्पतालको निरीक्षण गरे। उनले आइसोलेसन कक्ष कम भएको खण्डमा सो कक्ष स्थापनाका लागि गेटा मेडिकल कलेज र गेटा आँखा अस्पतालको निरीक्षण गरेको जनाइएको छ ।

मुख्यमन्त्री भट्टसँगै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पनि निरीक्षणमा सहभागिता रहेको थियो ।

गड्डाचौकीमा भारतबाट घर फर्किने नेपालीको लर्को

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट फर्कने यात्रुको भीड लागेपछि आज बिहानैदेखि सवारीसाधन बन्द गरिएको छ ।

भारतीय पक्षले भारततर्फ जाने सबै सवारीसाधन र नेपाली यात्रुलाई जानबाट रोकेको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई भने जान दिइएको छ । नेपालबाट भारततर्फ जाने भारतीय नागरिकलाई मात्रै भारततर्फको नाका प्रवेश गर्न दिइएको छ । भारतले कोरोना भाइरस रोकथामका लागि नागरिक कफ्र्युको घोषणा गरेपछि मजदूरीका लागि भारतमा रहेका नेपाली स्वदेश फर्कन थालेका छन् ।

सीमानाकामा निकै भीड रहेकाले सवारीसाधनलाई सीमानाका प्रवेश गर्नबाट रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए । आज बिहान मात्रै झण्डै तीन हजार बढी यात्रु एकै पटक भारतबाट नेपाल फर्केको बताइएको छ ।

अझै सीमानाकामा निकै भीड रहेको छ । विगत तीन दिनदेखि सीमानाकामा नेपाल फर्कने यात्रुको निकै चाप रहेको छ । सीमानाकामा राखिएको हेल्थ डेस्कमा समेत स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँच गर्न निकै कठिनाइ भएको छ । भीमदत्त नगरपालिकाका स्वास्थ्यकर्मीसँगै नेपाली सेनाको स्वास्थ्यकर्मीको पाँचको टोलीसमेत खटिएको छ ।

शुक्रबारदेखि नेपाली सेनाको टोलीले सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्कने यात्रुको स्वास्थ्य जाँच गरी रहेको छ । भारतले नेपाली सवारीसाधनलाई निकटवर्ती बजार वनबासा र नेपालले भारतीय सवारीसाधनलाई भीमदत्त नगरसम्म मात्रै सञ्चालन गर्ने व्यवस्था गरेका छन् ।

(कञ्चनपुरबाट राजेन्द्र पनेरुको सहयोगमा, रासस)