काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट नगरवासीलाई बचाउन २७ आइसोलेसन श्ययाको व्यवस्था गरेको छ ।


ADVERTISEMENT


गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकमा तयारी अवस्थामा रहेको १५ श्ययाको निजी अस्पताल तीन महीनाका लागि सम्भावित कोरोना प्रभावितको उपचारका लागि भाडामा लिइएको नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


“नगरपालिकाले भाडामा लिएको अस्पतालमा सुविधा सम्पन्न पाँच सघन उपचार कक्ष, पाँच भ्यान्टिलेटरसहितको कक्ष र पाँच वटा आइसोलेशन श्यया हुन्छ, नेपाल मेडिकल कलेज अत्तरखेलसँगको सहकार्यमा सात र शङ्खरापुर अस्पताल नारायणटारसँगको सहकार्यमा पाँच गरी २७ आइसोलेसन श्ययाको व्यवस्था भएको छ, आवश्यकता भएमा नगर क्षेत्रमा रहेका दुई ठूला अस्पतालको सहकार्यमा बेड थप गरिनेछ”, उनले भने ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डा सुवास प्याकुरेलको नेतृत्वमा कोरोना प्रभावितको उपचारका लागि नौ सदस्यीय चिकित्सकको समूह समेत नगरपालिकाले तयारी अवस्थामा राखेको जनाइएको छ । नगरपालिकाले गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रसहित नौ वटा स्वास्थ्य चौकीमा आउने मौसमी बिरामीलगायतको उपचारका लागि बिदाका दिन पनि स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

स्वास्थ्य केन्द्रलाई आवश्यकता अनुसारका सामग्री पनि उपलब्ध गराइएको नगर प्रमुख चालिसेले बताए । नगरपालिकाका नौ वटै वडामा साबुन पानीसहित हात धुने व्यवस्था गरिएको छ । यसैगरी थप नौ वटा चोकमा पनि साबुन पानीसहित हात धुने व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ । लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, घर, टोल छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई सङ्क्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि, कर्मचारी लागिपरेको नगरपालिकाले जनाएको छ । रासस