बार्सिलोना – स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।


ADVERTISEMENT


संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताइन् । राजदूत शेर्पाले भनिन्, ‘बार्सिलोनामा बस्दै आएका केही नेपालीहरुलाई कोभिड–१९ संक्रमण भेटिएको सूचना आएको छ ।तर संक्रमितहरुको सम्पूर्ण डिटेल दूतावासबाट खोज्ने प्रयास भइरहेको छ ।’


ADVERTISEMENT

# # #


उनले संक्रमित ब्यक्तिहरु र परिवारलाई दूतावासको सम्पर्कमा आउन अनुरोध समेत गरिन् । उपाचार लगायत भइपरी आउने प्रक्रियामा दूतावासबाट पूर्ण सहयोग रहने राजदूत शेर्पाले बताइन् । तर संक्रमित र उनका परिवारले घटनालाई बाहिर नल्याउन नेपाली समुदायका अगुवाहरुलाई अनुरोध गरेका छन् । स्रोतका अनुसार पहिलो संक्रमितको एक हप्ता पहिले नै पोजेटिभ देखिएको थियो । अन्य तीन जनाको भने हालै रिपोर्ट आएको हो । तर यो घटना अझै पनि नेपाली समुदायमा गुपचुप नै छ ।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्माले परिवारहरुको अनुरोधमा नै घटना सार्बजनिक नभएको बताए । ‘भनौं भने पनि किन भनिस् भन्ने वा नभनौं भने पनि किन बाहिर आएन भन्ने अवस्था सृजना भएको छ । तर संक्रमित ब्यक्तिहरु जोजोसँग सम्पर्क वा नजिक भएका थिए ती साथीभाइहरुलाई खबर गरेर अस्पतालमा जाँच गर्न सुझाव दिएका छौं,’ उनले भने । एनआरएनए आईसीसी सदस्य चिन्तामणी सापकोटाले चार जना संक्रमितहरु क्याटालोनिया क्षेत्रमा नै रहेकाले नेपाली समुदायलाई सजग रहन अनुरोध गरे ।

आईसीयूमा उपचार गराइरहेका एक नेपालीको प्रत्येक २४ घण्टामा अस्पतालबाट परिवारलाई सूचना प्राप्त भइरहेको उनले जानकारी दिए । उनको स्वास्थ्यमा समेत क्रमिक सुधार हुँदै गएको छ । अन्य संक्रमितहरु भने परिवारको सम्पर्कमा नै रहेका छन् । स्रोतका अनुसार संक्रमितहरु तीन छुट्टाछुट्टै परिवारका हुन् । उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यहरु पनि स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेका थिए । तर हालसम्म कसैलाई पनि संक्रमण देखिएको छैन । एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ ९देउकाजी० ले घटनाको सम्पूर्ण जानकारी छिट्टै ल्याउने बताएका छन् ।

‘संक्रमित हुँदैमा आत्तिनु पर्ने अवस्था छैन । राजदूताबास, एनआरएनए र संघसंस्थाहरुले सहकार्य गरेर नै अहिलेको परिस्थितिलाई सामाना गर्ने छौं’, गुरुङले भने । स्पेनमा झण्डै १० हजार नेपालीहरु छन् । क्याटालोनिया क्षेत्रमा ३ देखि ४ हजारसम्म नेपालीहरु बस्दै आएको अनुमान छ । आफूलाई लागेको संक्रमण गोप्य राख्न खोजेको पछिल्लो अवस्थालाई हेर्दा स्पेनमा थप नेपालीहरु पनि संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ ।

गत मार्च १४ देखि पुरै देश लकडाउन गरेपनि स्पेनमा कोरोनाको महामारी अझै नियन्त्रण हुन सकेको छैन । देशभर हालसम्म संक्रमितको संख्या ६० हजार पुगिसकेको छ । बिहीबारसम्म ४ हजार बढीको मृत्यु भइसकेको छ ।