राजविराज– हालै आएको वर्षासँगैको खाँडो नदीको भिषण बाढीले क्षति पुर्याएको राजविराजस्थित भलुवाही खोलाको डिललाई पुनःनिर्माण गर्नका लागि युवा संघ नेपालले मंगलबारदेखि मर्मतको कार्य शुरु गरेको छ ।


ADVERTISEMENT


भलुवाही खोलाको पुल नजिक खाँडो नदीको बाढीले ठाउँठाउँमा खाल्डो बनाएपछि मानिसलाई आवतजावतमा समस्या भइरहेको भन्दै सो खाल्डो पुर्नका लागि काम शुरु गरिएको नेकपा (एमाले) का उपसचिव प्रतापनारायण चौधरीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


युवा संघ, नेपालका अध्यक्ष राजीव पहारीको नेतृत्वमा ४० जनाको टोलीले बेल्चा, कोदालोसहित बोरामा बालुवा हालेर कटान भएको स्थलमा स्थानीयवासी समेतको सहयोगमा उनीहरु मर्मत कार्यमा जुटेको स्थानीय मनोहर पोखरेलले बताए ।

बाढी पीडितलाई राहत सामग्री वितरणपछि युवा संघको टोलीले खाँडो नदीले कटान गरेको भलुवाही खोलाको डिललाई मर्मतको काममा जुटेको बताइएको छ ।

त्यस्तै, सोही टोलीले राजविराजस्थित सिरहा रोडमा मुतनी नदीले क्षतिग्रस्त बनाएको विभिन्न ठाउँमा समेत मर्मत कार्य थालिएको युवा संघले जनाएको छ ।

गत साउन २६ गते वर्षासँगै जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण अधिकांश सडक क्षतिग्रस्त भएका छन् । त्यस्तै, खाँडो, महुली, जीता, बिहुल, खडक र मुतनी नदीलगायतका खोलामा आएको बाढीले सदरमुकाम राजविराजसहित जिल्लाका लगभग सबै नगरपालिका र गाउँपालिका डुबानमा परेका थिए ।

राजविराज वडा नं २ र वडा नम्बर ४ जोड्ने भलुवाही खोलाको पुलमा सो बाढीले ठूलो क्षति पु¥याउँदा आवतजावत अवरुद्ध हुनुका साथै खोलाको डिल कटान गर्नाले आसपासको बस्ती जोखिममा परेको बताइएको छ ।

यसैबीच, युवा संघले बाढीबाट मृत्यु भएका चारजनाको परिवारलाई राहत स्वरुप नगद रु ११ हजारका दरले प्रत्येक परिवारलाई राहत वितरण गरेको छ । त्यस्तै, लत्ताकपडा, खाद्यान्न सामग्री चामल, दाल, कपडा, जस्तापाता र औषधि समेत प्रदान गरिएको युवा संघका अध्यक्ष पहारीले बताए ।

सो राहत वितरण टोलीमा अध्यक्ष पहारी, उपाध्यक्षद्वय रमेश पौडेल र चन्द्र लामा, सचिवद्वय मञ्जु यादव र राजेश साह, सचिवालय सदस्य प्रभात कटुवाल, निरेशलाल सिंह तथा केन्द्रीय सदस्य सीता सुवेदीलगायतको उपस्थिति रहेको थियो । रासस