काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट बच्न छ दिनदेखि गरिएको लकडाउनका कारण पशुपति क्षेत्रमा भोकभोकै बस्ने मानिस भेटिएपछि आजदेखि सुमार्गी भवनमा निःशुल्क भोजन सेवा शुरु भएको छ ।


ADVERTISEMENT


पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले आज बिहान मन्दिर क्षेत्र प्रवेश गर्ने क्रममा मानिस भोकभोकै रहेको देखेपछि भोजन सेवा शुरु गरिएको बताए । “आजका लागि मैले र सुनील वैद्यले व्यक्तिगत रुपमा सामग्री जुटाएर भोजनको व्यवस्था गरेका छौँ, लकडाउन लम्बिँदै गए कोषले नै भोजन सेवा दिने विषयमा पनि अन्य पदाधिकारीसँग छलफल चलाएका छौँ”, उनले भने ।


ADVERTISEMENT

# # #


छ दिनदेखिको लकडाउनका कारण विपन्नवर्ग, मजदुरी गरेर जीवनयापन गर्ने, पशुपति क्षेत्रमा आएका भक्तजनका आशमा जीवन निर्बाह गर्नेले भोकभोकै दिन बिताउन थालेका थिए । त्यस्ता व्यक्तिलाई लक्ष्य गरी भोजन सेवा शुरु गरिएको दाता वैद्यले बताए । “पहिलो दिन आज १२० जनाभन्दा बढीले निःशुल्क भोजन गरेका छन्, भोजन गर्न आउनेका लागि साबुन पानीले हात धुने, स्यानिटाइजर लगाउने र दुई व्यक्तिबीचको दूरी तीन फिटभन्दा बढी हुने गरी भोजन गराएका छौँ, लकडाउनभरि यही तरिकाले सेवा दिनेछौँ”, उनले भने ।

पशुपतिनाथका अघि कसैले पनि अनाथ भएको अनुभव गर्नु नपरोस् भनी विपन्न वर्गलाई लक्षित गरी निःशुल्क भोजनको व्यवस्था गरिएको हो । लकडाउनका कारण पशुपति क्षेत्रमा भक्तजनले दिने दानका आधारमा जीवन यापन गर्ने साधुसन्त पनि यसबाट लाभान्वित हुनेछन् ।

लकडाउनका कारण खाना गुमाए विपन्न बालबालिकाले

काठमाडौँ महानगरपालिका वडा नं. ८ जयबागेश्वरीस्थित बाल सारथी नामक संस्थामा बिहानको खाना र दिउँसो खाजा खाने विपन्न बालबालिका लकडाउनका कारण प्रभावित भएको छ । संस्थामा विपन्न वर्गका १०० बालबालिकाले दैनिक बिहानको खाना र दिउँसोको खाजा खाने गरेका अध्यक्ष माला खरेलले राससलाई जानकारी दिए ।

गत मङ्गलबारदेखि लकडाउन शुरु भएपछि संस्थाले खाना र खाजाको सेवा उपलब्ध गराउन सकेकोे छैन । खाना नपाएपछि बालबालिका प्रहरीको आँखा छल्दै खान दिनुप¥यो भन्दै घर घरमै हिँड्न थालेका उनले बताए । बिहानको खाना र खाजा खाएर संस्थाले नै सञ्चालन गरेको बाल सारथी एकेडेमीमा अध्ययन गर्ने ती बालबालिका पशुपति क्षेत्रका पाटी, सत्तल र सुकुम्बासी बस्तीमा समेत आश्रय लिने गरेकाले समस्यामा परेका छन् ।

अधिकांश बालबालिकाका आमा, बाबु पशुपति क्षेत्रमा मागेर जीवन निर्बाह गर्थे । कोषले माग्न निषेध गरेपछि केही भने घरायसी काममा लागेका थिए । संस्थासँग चामललगायत खाद्यान्न सामग्री भए पनि विभिन्न स्थानमा बस्ने बालबालिका लकडाउनका कारण खान आउन नसक्ने भएकाले उनीहरुको जीवन रक्षा गर्न वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायत सरोकार भएका निकायमा अनुरोध गरिएको अध्यक्ष खरेलले बताए ।

“धेरै बालबालिकाको जीवन संस्थामा बिहानको खाना र दिउँसोको खाजा खाएरै धानिने गरेको थियो, कसैका बाबु र कसैका आमा मात्र छन्, कोही हजुरबा, हजुरआमासँग बस्ने बालबालिका छन्, बिहान बेलुका हातमुख जोर्न नपाएकै कारण यस्ता बालबालिकाको जीवन धरापमा पर्नुहुन्न”, उनले भने ।

यस्ता बालबालिकालाई मानव सेवा आश्रमलगायत संस्थाले सहयोग गरेर खाने व्यवस्था गरिदिन सके पनि समस्या समाधान हुने स्थानीय शिव घिमिरेले बताए। पशुपति क्षेत्रका सडक, पाटी पौवा, सत्तलमा मागी हिँड्ने बालबालिकालाई संस्थाले विद्यालयमा पढ्ने शर्तमा बिहानको खाना र खाजा खुवाउने गरेको थियो ।

खानाको शर्तमा बालबालिकाले अध्ययन गर्न थालेका थिए । जसका कारण उनीहरुको जीवनस्तर पनि सुध्रँदै थियो । लकडाउन हुनुअघि यस वर्षको अन्तिम परीक्षामा पनि ती बालबालिका सहभागी भएका थिए । महानगरपालिका ८ नं. वडा अध्यक्ष दिनेशकुमार डङ्गोल सोमबारदेखि दाताको सहयोगमा विपन्न वर्गका नागरिकलाई दाल, चामल बाँड्न लागिएको बताउँछन्। बाल सारथी संस्थामा आबद्ध बालबालिकाको समस्या वडा कार्यालयमा आइसकेकाले त्यो समाधानका लागि पनि पहल गरिने उनले प्रतिबद्धता जनाएका छन् । रासस