विराटनगर — सोलुखुम्बुको थुलुङ दूधकोसी गाँपालिकाले कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिन विदेशबाट फर्केर आएकाहरुको निगरानी गर्ने नयाँ जुक्ति निकालेको छ । उक्त गाउँपालिकाले प्रहरी, प्रशासनसहितको संयन्त्रमार्फत विदेशबाट फर्केकाको विवरण संकलन भइरहे पनि थप कोही भए नभएको पत्ता लगाउने उपाय अपनाएको हो ।


ADVERTISEMENT


गाउँपालिकाले विदेशबाट आएर घरैमा बसिरहेका कोही भए जानकारी दिन आग्रह गर्दै त्यस्तो जानकारी दिनेलाई ५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। संक्रमणको सम्भावित जोखिम हुन नदिन माइकिङ र अरु माध्यमबाट सन्देश प्रवाह गर्ने काम समेत गाउँपालिकाले गरिरहेको छ।


ADVERTISEMENT

# # #


गाउँपालिका अध्यक्ष असिम राईका अनुसार विदेशबाट आएर घरै बसिरहेका सबैबारे जानकारी नहुन सक्ने भएकाले गाउँले, छरछिमेकले जानकारी दिन सकुन् भनेर पुरस्कारको घोषणा गरिएको हो। उक्त गाउँपालिकामा हालसम्म रोजगारीका लागि विदेशमा भएका तर हालै फर्किएकाको संख्या ५ रहेको पाइएको छ। उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ।

सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूका अनुसार जिल्लाभर विदेशबाट फर्केकाहरुको खोजी गर्ने काम भइरहेको छ। चैत सुरु भएयता हालसम्म विदेशबाट १८ जना आएको विवरण प्राप्त भएको उनले बताए।

‘सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ,’ लिम्बूले फोनमा भने, ‘उनीहरुको सम्पर्क नम्बर राखिएको छ र चिकित्सकहरुले बेला बेलामा स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम भइरहेको छ।’ जिल्ला भित्रिएका १८ जनाबाहेक केही विदेशबाट फर्केका सोलुखुम्बुबासी काठमाडौंमा रहेको जानकारी पाएको लिम्बुले बताए।

उनका अनुसार शंकास्पद दुईजनाको स्वाव परीक्षण गरिसकिएको छ। कतारबाट फर्केका दुवैजनामा कोरोना संक्रमण नभएको रिपोर्ट आएको लिम्बूले बताए। पर्यटकीय क्षेत्र खुम्बु र आसपासबाट हालसम्म ३ सयजना पर्यटकको उद्धार गरी काठमाडौं पठाइएको डिएसपी लिम्बूले बताए।

सोलुखुम्बुका करिब साढे ३ सय शय्याको क्वारेन्टाइन बनाइएको जिल्ला प्रशासनले जनाएको छ। ४८ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ। जिल्लाका एक नगर र ७ गाउँपालिकामा पनि क्वारेन्टाइन बनाइएको छ।

मोरङमा पनि विदेशबाट फर्कनेहरुको खोजी तीव्र पारिएको छ। रोजगारीका लागि विदेशमा रहेका ८ सयभन्दा बढी चैतमा घर फर्केको पाइएको छ। उनीहरुमध्ये ८५ जनालाई सम्बन्धित स्थानीय निकायले टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइन र केहीलाई आफैले स्थापना गरेको क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छन्।

विराटनगर महानगरपालिकामा २ सय ८० र अर्को सीमावर्ती रतुवामाई नगरपालिकामा १ सय २१ जना छन्। तीमध्ये ५१ जनालाई सेनाको टाँडीस्थित क्वारेन्टाइनमा र चारजनालाई महानगरपालिकाको बैजनाथपुर क्वारेन्टाइनमा राखिएको महानगर प्रमुख भीम पराजुलीले बताए।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताका अनुसार प्रदेशमा हालसम्ममा ५१ वटा अस्पतालमा २ सय ९७ शय्याभन्दा बढीको आइसोलेसन वार्ड स्थापना गरिएको छ।

इकान्तिपुरबाट साभार