काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियाली र न्यूजील्याण्डका पर्यटकलाई लिएर  आज साँझ नेपाल वायुसेवा निगमको वाइडबडी विमान दिउँसो मलेसिया हुँदै अष्ट्रेलियाको ब्रिसबेन जाने भएको छ ।


ADVERTISEMENT


निगमको अपरेसन विभागका निर्देशक दिपुराज ज्वारचनका अनुसार, यसअघि सिड्‌नी जाने भनिएको वाइडबडी अष्ट्रेलियन दुतावासको योजना अनुसार क्वीन्सल्याण्डको राजधानी ब्रिसबेन जान लागेको हो। दुतावासका अनुसार, सिड्नी विमानस्थलको क्वारेन्टाइनमा थप यात्रु राख्ने स्थान अभाव भएको कारण देखाउँदै दुतावासले निगमको चार्टर विमानलाई क्वीन्सल्याण्डतर्फ मोड्ने निर्णय लिएको हो।


ADVERTISEMENT

# # #


नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा रहेको अष्ट्रेलियन दुताबासले आफ्ना नागरिकका लागि गर्न लागेको उद्धार उडानलाई सोमबार अनुमति दिएको निर्देशक ज्वारचनले कान्तिपुरलाई बताए।

काठमाडौंबाट १० घन्टा भन्दा लामो हवाई रुट भएकाले निगमले यो चार्टर विमान मलेसियाको राजधानी क्वालालमपुर टचडाउन गरेर उड्ने छ।निगमको चार्टर उडान बुधबार साँझ साढे ५ बजे काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उड्ने छ। त्यहाँ इन्धन भरेर स्थानीय समयअनुसार राति साढे १ बजे ब्रिसबेनतर्फ उड्ने छ। ब्रिसबेनमा दिउँसो ११ बजे पुग्ने छ। त्यहाँबाट १ बजे नेपालका लागि रित्तै फर्किने वाइडबडी मलेसियाको क्लालम्पुर हुँदै काठमाडौं बिहीबार राति ११ बजे आइपुग्ने छ।

निगमका अनुसार, यो उडानको भाडा प्रति घन्टा १८ हजार १ सय अमेरिकी डलर दुतावासले निगमलाई दिने छ। दुतावाससँग निगमले ब्लक–आवरका आधारमा भुक्तानी लिने छ। ब्लक–आवर भनेको जहाजको इन्जिन स्टार्ट भएदेखि बन्द हुँदासम्मको रकम हो। यो विधि–अनुसार, पार्किङमा रहँदा वा खाली उडेको समयको रकम अतिरिक्त लाग्दैन। यी सबैको लेखाजोखा ब्लक–आवरमै गाभिएको हुन्छ। यो चार्टर उडानको काठमाडौंदेखि काठमाडौं फर्किदासम्मको ब्लकआवर साढे २६ घन्टा हाराहारी हुने छ।

यस हिसाबले निगमले कम्तीमा ५ करोड ४० लाख हाराहारी आर्जन गर्ने छ। तर, इन्धन, हवाइ रुटमा पर्ने मुलुकहरुमाथि उड्दा लाग्ने ओभरफ्लाइङ शुल्क, ग्राउन्ड ह्याण्डलिङलगायतका अन्य शीर्षकमा यसले आम्दानीको कम्तिमा ६० प्रतिशत खर्च ब्याहोर्नु पर्ने छ। ‘यो उडानमा सबै खर्च कटाउँदा कम्तीमा १ करोड हाराहारी निगमलाई नाफा होला,’ निगमका एक अधिकारीले भने।

यो चार्टर उडानको नेतृत्व निगममा रहेका अष्ट्रेलियाली क्याप्टेन जेम्स किपले गर्दै छन्। उनीसहित ३ जना नेपाली गरेर ६ जना पाइलट यो उडानमा हुने छन्। निगमले यो उडानमा इन्जिनियर, डिस्प्याचर, टेक्निसीयन र क्याबिन क्रू सहित १४ जनाको टिम पठाउँदै छ। यो उडानमा अष्ट्रेलियाली नागरिक कति हुनेछन् भन्ने खुलाइएको छैन। यसमा ३५ हाराहारी न्यूजिल्याण्डका नागरिक पनि जाँदै छन्।

निगम एयरबसको वाइडबडीबाट अष्ट्रेलिया जान लागेको पहिलोपटक हो। नेपालले ५ महिनाअघि मात्रै अष्ट्रेलियासँग हवाई सम्झौता गरेको थियो।