काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन तथा सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आआफ्नो घरमै बस्न सम्पूर्ण नागरिकसँग हार्दिक अपिल गरेको छ ।


ADVERTISEMENT


राजपाका अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै कोभिड भाइरसको महामारी दिनानुदिन झन बढ्दै गइरहेको अवस्थामा सरकार अझ गम्भीर र जिम्मेवार बन्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । अहिलेको विपद्को अवस्थामा सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन राजपाले आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


राजपाले महामारीको अवस्थामा अत्यावश्यक स्वास्थ्य सामग्री नपुगेको गुनासो बढेको र औषधि खरिद प्रक्रियामा अनियमितताको खबरले जनतामा नकारात्मक सन्देश गएको भन्दै तत्काल सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

नेपाल र भारतको सिमानाकामा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकोले तत्काल उनीहरुलाई स्वदेश ल्याउन वाताबरण बनाउने र स्वास्थ्य जाँच गरी शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा समेत राख्न आग्रह गरिएको छ ।

साथै राजपाले अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्री वडा तहबाटै आम नागरिकसम्म पुर्याउने सरकारी निर्णय प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय, प्रदेश र स्थानीय तहालाई जिम्मेवार भई तत्परता देखाउन ध्यानाकर्षणसमेत गराएको छ ।