सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले दैनिक ज्यालादारीमा काम गर्ने समुदायलाई बस्तीमा पुगेर राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।


ADVERTISEMENT


वीरेन्द्रनगरले १६ वटै वडामा पुगेर राहत वितरण शुरु गरेको हो । नगरपालिकाले करिब छ हजार घरधुरीलाई राहत वितरण गर्दैछ । सङ्घीय सरकारले लकडाउनका कारण दैनिक ज्याला मजदूरीमा निर्भर रहने समुदायको पहिचान गरी तत्काल राहत उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएको थियो । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा समेत देखापरेपछि सरकारले लकडाउन लागू गरेको थियो ।


ADVERTISEMENT

# # #


नगर उपप्रमुख मोहनमाया ढकालले लामो समय लकडाउन हुँदा दैनिक ज्यालादारीमा काम गर्ने परिवार समस्यामा परेपछि खाद्यान्न वितरण गर्न शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार टोल विकास संस्था, वडा कार्यालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा राहत उपलब्ध गराउन रु ८० लाख बजेट छुट्याइएको छ । खाद्यान्न वितरणको जिम्मा सम्बन्धित वडा कार्यालयलाई दिइएको छ ।

नगरपालिकाले बिहीबार वडा नं ५ र आज वडा नं ८ र १२ का अति विपन्न वर्गलाई खाद्यान्न वितरण गरिसकेको छ । चार जनाको परिवारलाई १५ केजी चामल, एक एक केजी दाल, नुन र एक पोका तेल तथा सो भन्दा बढी सदस्य सङ्ख्या भएका परिवारलाई ३० केजी चामल, दुई केजी दाल, एक केजी नुन र एक पोका तेल वितरण गर्ने मापदण्ड बनाएको छ ।

सोही मापदण्डअनुसार राहत वितरण गरिएको उपप्रमुख ढकालको भनाइ छ । वीरेन्द्रनगरमा विस्थापित, सुकुम्बासी र खोला किनारमा आश्रय लिएर दैनिक ज्यालादारी काम गर्ने घरधुरीको सङ्ख्या करिब सात हजार रहेको छ ।