काठमाडौं — दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष सामाजिक सञ्जाल टिकटकमार्फत कारबाहीको माग गरेकी थिइन्। सो भिडियोका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले कन्सल्टेन्सी सञ्चालक गणेश पाण्डेलाई पक्राउ गरेको हो।
पाण्डेलाई बुधबार काठमाडौं महानगरपालिका–२६ स्थित रानीबारी चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्दै आएका २८ वर्षीय पाण्डेमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई असोज २० गते पक्राउ गरिएको हो।
















