चितवन– अविरल बर्षा पछिको बाढीले बगाएर भारतीय क्षेत्रमा पुर्याएका तीन पोथी र एउटा भाले गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छोडिएको छ । थप एक गैँडा भेटिएपछि ल्याउने प्रयास शुरु भएको छ ।


ADVERTISEMENT


चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार वाल्मीकि नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा पुगेको एउटा र वाल्मीकि टाइगर रिजर्भमा पुगेका तीन गैँडा उद्धार गरी निकुञ्जमा ल्याइएको हो । रिजर्भमा नै थप एउटा गैँडा भेटिएपछि बुधवार ल्याउने प्रयास गरिएको भए पनि असफल भएको अर्यालले बताए ।


ADVERTISEMENT

# # #


आज बिहानैबाट गैँडा नियन्त्रणको प्रयास शुरु गरिएको उनले बताए । भारतीय अधिकारीहरु सँगको समन्वयमा डार्ट (बन्दुकबाट लठ्याउने सुई लगाएर) गैँडा नेपाल ल्याइन्छ । जसका लागि प्राविधिकसहित नेपाली ४० र वाल्मीकि टाइगर रिजर्भका २०० जना कर्मचारी परिचालन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको नवलपरासीस्थित दिव्यपुरी र लामिचौरबाट तीनवटा हात्ती र गैँडालाई नियन्त्रणमा लिन रिजर्भमा लगिएको छ । हात्तीले घेरा हालेर गैँडालाई डार्ट गर्ने गरिन्छ । अहिले नियन्त्रण गर्न लागिएको गैँडा वयस्क रहेको छ । लिङ्ग यकिन भइनसकेको भए पनि पोथी भएको अनुमान गरिएको अर्यालले बताए ।

बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैँडा पुर्याएको छ । नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र वाल्मीकि आश्रममा एउटा गैँडा भेटिएका छन् । यी गैँडाहरु जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याइने उनले बताए ।

हालसम्म पहिचान भएकामध्ये एउटा गैँडा मृत भेटिएको थियो । रासस