काठमाडौँ — सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT


यस्तै बैठकले एक प्रदेशबाट अर्को प्रदेशको आवागमन र जिल्ला- जिल्ला आवागमनमा नियन्त्रण गर्ने निर्णय पनि गरेको छ । यसका लागि प्रदेश र स्थानीय तहका सरकारले प्रभावकारी काम गर्न निर्देशन दिइएको छ । मन्त्री खतिवडाका अनुसार बैठकमा लकडाउन बढाउने विषयमा निर्णय नभएको भन्दै छिट्टै मन्त्रिपरिषद् बैठक बसेर यसबारेमा निर्णय लिने बताए ।


ADVERTISEMENT

# # #


कोरोना भाइरसको जोखिमबाट बचाउन भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ । संक्रमित संख्या बढ्दै गएमा लकडाउन बढाउने तयारीमा सरकारको तयारी छ । शनिबारसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् ।

यस्तै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने र पूर्णरुपले सुरक्षित बनाएर उपचारमा लगाउने निर्णय बैठकले गरेको छ । स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्‍याउने कुनै पनि व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय पनि भएको मन्त्री खतिवडाले जानकारी दिए । स्वास्थ्यकर्मीको सुरक्षामा स्थानीय प्रशासनदेखि तीनै तहका सरकारले व्यवस्था मिलाउने भएको छ ।