भद्रपुर –  लकडाउन’ भएको ११ दिनपछि शनिबार झापाको चिया बगान आंशिकरुपमा खुलेका छन् । नेपाल चिया उत्पादक सङ्घले व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्न सरकारले नै अनुमति दिएको जनाएको छ । झापामा ३० वटा चिया फ्याक्ट्री र सानाठूला गरी ३०० भन्दा बढी चिया बगान रहेका छन् ।


ADVERTISEMENT


कोडिभ–१९ सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनसँगै बन्द गरिएका बगानहरु व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरेर मजदूरले काम गर्ने गरी आंशिकरुपमा खोलिएको हो । नेपाल चिया उत्पादक सङ्घका उपाध्यक्ष आदित्य पराजुलीले चियाको पहिलो मुना बगानमै हुर्किएर काम नलाग्ने भएपछि त्यसलाई काट्ने, स्प्रे गर्ने र पानी पटाउनेलगायतका काम सुरु गरिएको बताए ।


ADVERTISEMENT

# # #


“फ्याक्ट्री चलाउँदा सरकारले कायम गरेको सामाजिक दूरीमा बसेर काम गर्न अप्ठ्यारो हुन्छ”, उनले भने, “चिया बगानको काम मास्क, ग्लोब लगाएर गर्न सकिन्छ । त्यही भएर बगान नबिग्रियोस् भनेर अहिले आंशिकरुपमा काम सुरु गरेका छौँ ।”

आगामी दिनको अवस्था हेरेर सुरक्षित तवरले मजदुरलाई काम लगाउने सकिने वातावरण भए पूर्णरुपमा चिया बगान र कारखाना खोलिने उनले बताए । नेपाल चिया विकास निगम भाडामा सञ्चालन गरिरहेको साङ्घाई ग्रुपले कन्याम, टोकला, बर्नेलगायतका इलाम र झापामा रहेका बगान र फ्याक्ट्री पूर्णरुपमा खोलिएको जनाएको छ ।

साङ्घाइ ग्रुपका सञ्चालक सुवास साङ्घाइले चिया बगानमा मजदुरलाई हात धुने साबुन पानी, मास्कलगायतका व्यक्तिगत सुरक्षाका सामग्रीको व्यवस्था गरेर काममा लगाइएको बताए । उनले कोभिड १९ का कारण चिया बगानमा ठूलो क्षति भएको बताउँदै भने, “पत्ती टिप्ने बेलामा भएको थियो, त्यही बेला कोभिडको सङ्क्रमणका कारण सरकारले लकडाउनको घोषणा गर्‍यो । मजदुरलाई काममा लगाएर पत्ती टिप्ने अवस्था रहेन, सबै छिप्पिएर जाँदा ठूलो क्षति भयो ।” रासस