काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन)का कारण बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा स्थगित गरिएपछि आज क्षमापूजा भएको छ ।


ADVERTISEMENT


राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरु भई प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा निरन्तरता दिने गरिएको बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा उपत्यकाका पुराना जात्रामध्येमा पर्छ ।


ADVERTISEMENT

# # #


ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्रा चलाउँदा भीडभाड भई कोरोनाको सङ्क्रमण फैलन सक्ने भएकाले नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले स्थगित गर्ने निर्णय गरेको थियो । प्रत्येक वर्ष हुने जात्रा गर्न नसकेपछि आज क्षमापूजा गरिएको जात्रा व्यवस्थापन समितिका संयोजक मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

बज्रयोगिनी उग्रतारा, चैत्यभराद (बुद्धमूर्ति), सिंहीनी र व्याघ्रिनीको चार मूर्ति खटमा राखेर साँखु क्षेत्रमा जात्रा गर्ने परम्परा छ । तीन हजार ३०० वर्षभन्दा लामो इतिहास भएको जात्रा यसपटकसमेत तीनपटक रोकिएको व्यवस्थापन समितिले जनाएको छ । कलिगत संवत् १८१८ देखि शुरु भएको जात्रा कलिगत संवत् पाँच हजार १२० सम्म निरन्तर रुपमा चल्दै आएको उनले बताए।

राजा रणबहादुर शाहको शासनकालमा बिफर रोगको महामारी र विसं १९७० मा बज्रयोगिनी मन्दिरमा आगलागी भएका कारण जात्रा रोकिएको थियो । यसपटक भने विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण रोकिएको हो । धेरै मानिस जम्मा भएर गरिने जात्रा रोकिए पनि मूल खट यात्राका दिन बज्रयोगिनी मन्दिरमै पूजा भने गरिने छ ।

मन्दिरका पुजारी खलकले घरघरमा बज्रयोगिनी उग्रताराको पूजा गर्न साँखुवासीलाई आह्वान गरेको समिति संयोजक श्रेष्ठले बताए । शङ्खरापुर नगरपालिका वडा नं ४, ७ र ८ को बीचमा रहेको बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ । खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ । यस वर्ष धुला टोलमा खट राखेपछि अर्को वर्ष चलाखु टोलमा राख्ने यहाँको परम्परा छ ।

्धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी राख्ने गरिएको साँखु क्षेत्रको ऐतहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक खोज अभियानमा लाग्नुभएका प्रकाशमान श्रेष्ठ ‘सक्व’ ले बताए ।

बज्रयोगिनीबाट खट ल्याएर टोलमा राखेको चौथो दिनमा नाथ सम्प्रदायका योगीले पूजा गरेपछि मूल जात्रा शुरु गरिन्छ । मूल जात्राका दिन खटलाई बोकेर साँखु क्षेत्र घुमाइन्छ । मूल जात्राअघिका चार दिन खट राख्न बनाइएको सत्तलभित्र र मूलजात्रा सकिएपछिका चार दिन सत्तल बाहिर राखी साँखुवासीले प्रत्येक दिन पूजा आराधना र दर्शन गर्ने चलन छ ।

जात्राका क्रममा नाथ सम्प्रदायका योगीले भात पकाएर भूत, पिशाचलगायत नकारात्मक तत्वलाई पन्छाउने विधिसमेत हुन्छ । नाथ सम्प्रदायका योगीले गर्ने पूजालगायत विधि पनि पूरा गरिने समितिले जनाएको छ । यस वर्ष भीडभाड नगर्ने उद्देश्यले खट जात्रा स्थगित गरिएको हो । रासस