– डा. रूद्रनाथ अधिकारी, पंडित ज्योतिषाचार्य


ADVERTISEMENT


प्रधानमन्त्रीज्यूको चैत्र २५ गतेको सम्बोधनले जनतालाई झन निराश र आक्रोशित बनायो । पीडा, कष्ट, त्रास र घृणाले ग्रसित नेपाली जनताले प्रधानमन्त्रीको सम्बोधनलाई व्यकुलताका साथ पर्खिरहेका थिए । सायद कुनै ठोस योजना र चित्तबुझ्दो अभिव्यक्ति आउला भनेर।


ADVERTISEMENT

# # #


नेपाली जनमानस यतिबेला जति कोरोना भय–त्रास र यसले सिर्जना गरेको असुविधाबाट बेहोर्नु परेको कष्टले पीडित थियो, त्यो भन्दा सय गुणा धेरै निराश र आक्रोश देशमा भैरहेको भ्रष्टाचारको नाङ्गो ताण्डवबाट थियो । त्रासपूर्ण अवस्थामा जनताको लागि खरिद गरिएको औषधि र उपकरणको खरिद प्रकरणमा भएको भ्रष्टाचारको विषयले सिङ्गो राष्ट्र र जनताको भावनामा ठूलो आघात पुर्‍याईरहेको थियो । घृणा र नैराश्यताले प्रतीक्षा र धैर्यताको बाँध टुटिसकेको थियो । तर राष्ट्रका कार्यकारीबाट हुन गइरहेको सम्बोधनले केहि त समेट्ला भन्ने झिनो आश सबैले लिएका थिए । तर, भयो पूर्ण विपरीत ।

दुई शब्द नै किन नहोस्, ‘हाम्रो यस विषयमा गम्भीर ध्यानाकर्षण भएको छ र यसको सम्बन्धित निकायले आवश्यक छानवीन गरी सत्यतथ्य जनतासामु राखिनेछ’सम्म भएपनि सुन्न चाहेका थिए देशवासीले । तर, आक्रोश र पूर्ण प्रतिशोधी भावले मेरो सरकार र मन्त्रीहरूविरुद्ध रचिएको षड्यन्त्र हो । मेरा मन्त्रीहरू त अति इमानदार र उच्चकोटीका नैतिक र चरित्रवान छन् भन्दै बचाउ गर्नु आफैंमा अति नै लज्जास्पद थियो । यस्तो अभिव्यक्तिले जनता निराश मात्रै गराएन आक्रोशको अग्नीमा घ्यू थप्ने काम पनि गर्‍यो ।

अन्य देशका सरकार र शासक सम्पूर्ण विषयलाई अलग राखेर सबै साधन र श्रोतको परिचालन देशवासीको ज्यानधनको सुरक्षामा लगाईरहेको बेला आफ्नो देशमा नेताहरु र सरकारका प्रमुख जिम्मेवार मन्त्रीहरू नै यस्तो विषम परिस्थितिमा पनि भ्रष्टाचारमा लिप्त भएको देख्दा जनतामा निराशा पैदा भयो । जनताको रगत–पसिनाबाट जम्मा गरिएको रकम जनताको उपचारको भान पारेर लूटतन्त्रमा लिप्त हुनु र प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले झनै पक्षपोषण गर्दै जनभावना विपरीत अभिव्यक्ति दिनु कहाँसम्म दुःखद होला ? यसले सरकार र सरकार सञ्चालन गरिरहेको राजनीतिक पार्टीप्रति हेर्ने दृष्टिकोणमा के कस्तो प्रभाव पारेको होला भन्ने विषय अति संवेदनशील हो। तर, यसको पूर्णरुपले बेवास्ता गरिनु झनै गम्भीर र डरलाग्दो राजनैतिक संकटको इशारा भन्ने बुझ्नुपर्छ ।

सत्यतथ्य के हो समयले किनारा लगाउनेछ र लगाउला भनौं । तर, सबैले आजको दिनमा स्पष्टसँग बुझेको र महसुस गरेको कुरा के छ भने यो देशमा जननिर्वाचित सरकार नै दादागिरीका साथ देश लुट्न प्रत्यक्ष संलग्न छ र उसको मातहतका निकायहरू जनताको लागि नभएर आफ्ना कार्यकर्ता र भारदारको पालन पोषणमा मात्र तल्लीन छन् । हाम्रो देशमा जुनसुकै तन्त्रको दुहाई दिएपपनि आज जनताको राज्य र वर्तमान राजनीति यसले स्थापित गरेका प्रणाली तथा शैलीले केवल नैराश्यता र वितृष्णा भन्दा केही दिन सकेको छैन। यो कुनै क्षेत्र विशेष मात्र हैन कि न्यायीक क्षेत्रदेखि जनताको स्वास्थसम्म, तल देखि माथिसम्म सर्वत्र सेटिङ्गमा संचालित व्याप्त भ्रष्टाचारले आजित महसुस गरेको छ।

नागरिकको न्यूनतम सेवा सुविधा र अधिकार समेत सहजसँग प्राप्त गर्न समेत पाएको छैन । प्रवृद्ध व्यक्तिहरुदेखि सामान्य नागरिकसम्ममा यसरी सरकार र राज्यप्रतिको घृणा, आक्रोश र वितृष्णा बढिरहँदासम्म त्यसतर्फ रतिभर ध्यान नदिनु बरु अझै घमण्ड र दम्भ देखाउनुलाई कथित परिवर्तन तथा प्राप्तिको चाडैं विसर्जन र समाप्तिको दह्रो संकेत मान्न सकिन्छ ।

आज नेपालीहरुले जतिसुकै जे जे भनेपपनि कानुनी राज्य र सुशासनको प्रत्याभूती पटक्कै गर्न सकेका छैनन् । बरु कथित परिवर्तनप्रति आज पश्चातापका साथ आत्मा आलोचना गरिरहेका छन् हामीले के गुमायौं र के पायौं भनेर । न त यो परिवर्तनले स्थापित ‘तन्त्र’को न परिवर्तनको औचित्य पुष्टि हुन सक्यो। दिनानु दिन देश अधोगतीतर्फ गतिशील भएको र उठन नसक्ने गरि थलापर्ने निश्चित प्राय बोध भइरहेको छ । जनताका जनजीविकासँग जोडिएका सबै सपना, सवाल, प्रश्नहरु अनुत्तरित छन् । आज राजनीतिक नेतृत्व जनताको मात्र नभएर विश्वसामु आफ्नो विश्वास गुमाएर ‘पूर्ण रुपले असफल नेतृत्व’को उपाधिको नजिक छ भनेर बुझ्दा फरक नपर्ला ।

एकपटक विश्वको इतिहासका पन्नाहरुलाई पुनरावलोकन गर्ने हो भने स्पष्ट छ कि जबजब शासन र सत्ता अविवेकी र घमण्डी बन्यो तबतब पतन र विनाश भयो । पतनका मूल कारण पनि शैली र आफ्नाहरु नै बनेका छन् । त्यसैले हाम्रो राजनीतिमा पनि आफ्नालाई ढाकछोप र बचाउको प्रवृत्तिले कतै पतनको बाटो सुनिश्चित गर्दै त छैन ? सोचनीय विषय बनेको छ ।